‘स्वतन्त्र क्रेज’ मा दल खोल्ने लहड

सम्पादकीय
अघिल्ला निर्वाचनहरुमा पनि स्वतन्त्र उम्मेदवारी दिने संख्या ठुलै हुन्थ्यो । त्यसमध्ये केहीले बिभिन्न स्थानमा चामत्कारिक रुपमा संघर्षपूर्ण जित दर्ता गर्थे पनि । तर, यसपटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले देशको सिंगो राजनीति नै तरंगित बनाए । मुख्य राजनीतिक दलहरुले गम्भीर धक्का बेहोरे । यसका पछाडि केही कारणहरु छन् । पहिलो त राजनीतिक दलहरुले समाज र देश बनाउने बाचा र उद्घोष त जनताको बिचमा पटक पटक गरे । त्यस अनुरुपको व्यवहारमा नागरिकले अनुभूति नै गर्न पाएनन् । देशमा सिंगो परम्परागत व्यवस्था बदलेर नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि दलहरु अस्वस्थ प्रतिस्पर्धा, एक अर्काको खुट्टा तानातान, प्रतिशोधले सत्ता जोगाउने र गिराउने खेल जारी रह्यो । यसले दलहरुको विकल्प सोच्न र खोज्न नागरिकलाई बाध्य बनायो । जसको फलस्वरुप मुलुकको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले नितान्त स्वतन्त्र उम्मेदवारी दिएर ऐतिहासिक जित निकाले ।

यस इतर अरु स्वतन्त्र उम्मेदवारी दिएका केहीले पनि चुनाव त जिते । यद्यपि, उनीहरु खास स्वतन्त्र थिएनन् । राजनीतिक दलहरुमै आवद्ध भएर चुनावमा टिकट नपाए पछिका विद्रोही बागी उम्मेदवार थिए । जसलाई पार्टी भित्रैको ठुलो समूहको साथ, सहयोग र समर्थन थियो । यसमा बालेन र हर्क पृथक पात्र देखिए । उनीहरु कुनै दल या तीनका समूहको समर्थनमा नभई राजनीतिक दलहरुको अतिवाद, बेथितिका बिरुद्धमा खरो रुपमा मैदान उत्रिए । यो विषयलाई गहन रुपमै जनतालाई बुझाउन सके र दलको सिण्डिकेट तोडे । त्यस पश्चात अब हुने भनिएको प्रदेश र संघीय सांसदको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहड मात्रै चलेको छैन, पूर्व सञ्चारकर्मी रवि लामिछानेले त आफ्नो नेतृत्वमा निर्वाचनमा आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता समेत गरिसकेका छन् । अर्को तर्फ स्वतन्त्र उम्मेदवारी अभियानमा रहेकाहरु छुट्टै राष्ट्रिय भेलाको आयोजना गरेर एक भएर जाने र छुट्टै दल दर्ता सम्मको बहस चलाइरहेका छन् ।

स्वतन्त्र भन्न साथ न व्यक्ति स्वतन्त्र हुन्छ, कुनै दलमा हुँदैनन् । जब कुनै दल बन्छ, या दलमा हुन्छन्, उनीहरु स्वतन्त्र हुँदैनन्, हुन सक्दैनन् । किनकी जुन दिनदेखि दल बन्छ, त्यो दलको आफ्नै बिधि विधान, मूल्य मान्यता र सीमाहरु हुन्छन् । त्यसमा निहित रहेर मात्र काम गर्नुपर्ने हुन्छ । अहिले स्वतन्त्रको नाम या क्रेजमा जे जसरी दल दर्ता गर्ने लहड चल्न थालेको छ । यसले अब निकट समयमै हुने चुनावमा अहिलेको जस्तो स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण, विश्वास र भरोसामा आँच आउन सक्छ । एउटा कुरा सत्य के हो भने दलिय व्यवस्थामा एक दुई व्यक्तिले स्वतन्त्र रुपमा जित्दैमा परिवर्तन सम्भव हुँदैन । यसका लागि स्वतन्त्र पार्टी होइन, स्वतन्त्र जनमतको अपार माया र विश्वास पाउने पार्टी निर्माणको आवश्यकता हो । तसर्थ, कसैले पनि अहिलेको स्वतन्त्रको क्रेजलाई लिएर सिंगो व्यवस्था र जनताको भावनामा कदापि खेल्नु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *