देश, बढ्दो बेथिति र परदेश पलायन

सम्पादकीय
पछिल्लो साता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक सार्वजनिक समारोहमा गरेको भाषण यतिबेला भाइरल छ । उखान, टुक्का मिलाएर यथार्थपरक, मौलिक शब्दमा बोल्ने उनको भाषण धेरैले रुचाउछन् । उनले आफ्नो भाषणमा नेपालमा दलहरुको अर्कमण्यताका कारण बेथिति र अस्थिरता सिर्जना हुँदा युवाहरुको विदेश पलायन डरलाग्दो अवस्थामा पुगेको उल्लेख गरेका थिए । यही दुरावस्था कायम रहे हरेक घर गाउँ र शहर बृद्धाश्रम बन्ने खतरा छ । उनले आफ्नो समेत उदाहरण दिँदै आफ्ना सबै सन्तान विदेशमा भएको र बुढेसकालमा घरमा आफूहरु मात्रै भएको बताए । यो भाषण अहिले सामाजिक सञ्जाल युट्युव, ट्वीटर, फेसबुक, टिकटक लगायतमा भाइरल छ । सत्तारुढ दलका शीर्षस्थ नेताहरु प्रचण्ड, झलनाथ खनाल लगायत भएकै कार्यक्रममा उनीहरुलाई लक्षित गर्दै गरेको छोटो भाषणले देशको पछिल्लो अवस्थालाई प्रष्ट पार्दछ ।

दुई वर्ष लामो समय कोरोनाले आक्रान्त बनेको नेपाल र नेपाली नागरिक लय उन्मुख हुने कोसिसमा थिए । त्यही अनुक्रममा संघात्मक व्यवस्था पश्चात राजनीतिक स्थिरता कायम भएको विश्वास र भरोसा राखिएको नेपाली समाजमा पुनः राजनीतिक अस्थिरताकै खेल सुरु भयो । सत्ता जोगाउने र गिराउने खेलले आम नागरिकमा राजनीति र परिवर्तित व्यवस्थ प्रति पुनः आक्रोश, घृणा र बितृष्णा पैदा ग¥यो । त्यस पश्चात रुस युक्रेन युद्धको असर भन्दै आर्थिक संकट सुरु भयो । चलायमान हुँदै गरेको अर्थतन्त्रमा ब्रेक लाग्यो । महंगी चरम रुपमा बढ्दै आयो, आम्दानीका स्रोत, बाटा र विकल्पहरु भने खुम्चिदै गयो । र धेरैले यीनै बदलाव र बाध्यताहरुका बिच परदेशलाई आफ्नो विकल्प र गन्तव्य बनाए । पछिल्लो तथ्यांकले यही कुरा बोल्छ । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या वैशाख भन्दा १७ हजार बढी रहेका छन् । दैनिक औसत २ हजार नेपाली रोजगारीका लागि विदेश उडिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ । वैशाख महिनामा विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

विदेश जाने युवाहरुको एयरपोर्टमा दैनिक ताती छ । चित्रबहादुर केसीले भने जस्तो गाउँ घरहरु युवाहरुको विदेश पलायनले बृद्धाश्रम जस्ता बनिरहेका छन् । देशमा राजनीतिमा देखिएको फोहोरी खेल, अस्थिरता, बेथितिले अवाक भएका युवाहरु यतिबेला विदेश नै उपर्युक्त विकल्प र गन्तव्य भएको निश्कर्षका साथ आफ्नो योग्यता र हैसियत अनुसारको देशमा जाने होडबाजीमा छन् । तर, यो देशका राज्य सञ्चालक राजनीतिक दल, तीनका नेता, कर्मचारीतन्त्र भने यति गम्भीर र संवेदनशील विषयमा मुकदर्शक जस्ता देखिन्छन् । बढ्दो बेथिति, अस्थिरता, युवाहरुको विदेश पलायन रोक्ने तीन तहकै सरकारसँग प्रष्ट र ठोस योजना, कार्यक्रम केही देखिदैन । चुनावका बेला व्यक्त गरेका अनेक आश्वासन, प्रतिवद्धताहरु सत्ताको कूर्चिमा पुगे पछि बिर्सिसकेका छन् । यो अहिलेका शासकले मात्र होइन, यसअघि आलोपालो शासन गरिरहेका सबैजसो दल यी र यस्तै प्रवृत्तिबाट ग्रसित भए पछि देशमै स्वरोजगार र समृद्ध बन्ने सपना दुर हुँदै गएको छ । अतः अब पनि सरकारले यस विषयमा नसोच्ने हो भने भोलिका दिनमा जटिलता भोग्नुपर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *