सम्पादकीय
राजनीतिक बेथिति, अस्थिरता र भिन्न भिन्न किसिमका आतकंबाट विश्वका कुनै पनि मुलुक अछुतो छैन । अनेकन अप्ठ्यारा, जटिलता भोग्दै कति देशहरु ीवकसित अवस्थामा पुगिसकेका छन् भने कति देशहरु क्रमशः कमजोर र अविकसितको दिशा तर्फ उन्मुख भइरहेका छन् । यसले नागरिकमा चरम भोकमरी र निराशा मात्र होइन, चर्को आक्रोश र आवेग पनि जन्माइरहेको छ । जसका कारण राजनीतिक दलहरुको विकल्प सोच्ने र खोज्ने मात्र होइन, आक्रोशित मुद्रामा रहेका नागरिकले नेताहरुलाई आक्रमण, कुटपिट र दुव्र्यवहार मात्र होइन, गोली समेत प्रहार गरिरहेका छन् । जापानका पूर्व प्रधानमन्त्री लोकप्रिय नेता आबेको गोली हानी हत्या गरिएको ताजा उदाहरण एक हो । नेतृत्व सही नहुँदा र सक्षम, दुरदर्शी नहुँदा सिंगो देश नै असफल प्रायः भइसकेको श्रीलंका अर्को उदाहरण हो ।
श्रीलंका अहिले कठिन संकटबाट गुज्रिरहेको छ । ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको छ । श्रीलंकामा दैनिक प्रदर्शन जारी छ । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति भवन समेत कब्जामा लिएका छन् । कब्जा लगत्तै राष्ट्रपति गोटाबाया राजापाक्षेले शनिवार सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग राष्ट्रपति भवनभित्र प्रवेश गरे पश्चात श्रीलंका प्रहरीले कर्फ्यु घोषणा गरेको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् ।
नेपालमा पनि बढ्दो बेथिति र अस्थिरताका कारण श्रीलंका बन्ने चिन्ता र बहस बेला बेलामा हुने गरेको छ । यस्तो बहस सडकदेखि सदन सम्म भइरहेको छ । श्रीलंका रुस युक्रेन युद्धका कारण सिर्जित पेट्रोलियम पदार्थको चरम अभाव, मूल्यवृद्धि लगायतले नागरिक जीवन मरणको दोसाधमा छन् । जसले गर कि मरको अवस्थामा पुगे पछि स्थानीय नागरिक आक्रोशित छन् । उनीहरुले आन्दोलन र प्रदर्शनका क्रममा उच्च सुरक्षा व्यवस्था गरिएको राष्ट्रपति भवन समेत कब्जामा लिनु सामान्य विषय होइन । यसबाट नेपालका राजनीतिक दलहरुले गहिरो पाठ सिक्लान्, नसिक्लान् । तर, एउटा सत्य कुरा के हो भने नेपालका राजनीतिक दल र तिनका नेताहरुले अहिलेकै अवस्था, नियति र प्रवृत्ति दोहोरिने गतिविधि र कार्यशैलीलाई निरन्तरता दिइरहे मुलुक श्रीलकांकै नियतिमा पुग्नेछ । यहाँका नेताहरुलाई जनताले घेराबन्दी गर्नेछन्, सडक, चोकमै आक्रोश व्यक्त गर्ने र सिधा कारबाहीको निसाना बनाउनेछन् । अतः जनताको भावना र अपेक्षामा सरकार, नेताहरुले कदापि खेलाची नगरुन् । विगतबाट पाठ सिकुन् र अबका दिनमा जनता र देशलाई केन्द्रमा राखेर सुधार र विकासका लागि इमान्दार प्रयास गरुन् ।