स्वास्थ्य बीमाका कारण संकटमा बागलुङका नीजि तथा सहकारी अस्पताल

आदर्श अनलाइन, बागलुङ
कुनै दिन बागलुङको सरकारी अस्पताल धौलागिरी अस्पताल सुनसान हुँन्थ्यो । सरकारी अस्पताल एउटा रेफर सेन्टर भएपछि यहाँका स्थानीयहरुले रकम तिरेर पनि उपचार पाउन सकेका थिएनन् । यहाँका स्थानीयहरु उपचार अभावमा पोखरा तथा काठमाण्डौ पुग्न थालेपछि जिल्लामा नीजि क्षेत्रबाट अस्पतालहरु सञ्चालन आउन थाले ।

जिल्लाका सामान्य बिरामीहरु समेत ट्याक्सी चढेर पाेखरा तथा ठूला शहरमा धाउन थालेपछि बागलुङमा नीजि क्षेत्रबाट अस्पताल सञ्चालनमा ल्याउन थालिएको थियो । जिल्लामा अहिले नीजि तथा सहकारी अस्पताल गरी तीन वटा अस्पतालहरु सञ्चालनमा छन् । धौलागिरी अस्पतालको कमजोर अवस्था हुदा जिल्ला बाहिर जाने विरामीलाई राम्रो सेवा दिएका निजी तथा सहकारी अस्पतालहरु यतिबेला चल्ने कि नचल्ने दोधारमा छन् ।

सरकारले स्वास्थ्य बिमा सञ्चालन गरेपछि बागलुङलाई परिक्षणका रुपमा राख्यो, विस्तारै स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनसंगै कुनै दिन विरामीले भरिभराउ हुँने जिल्लाका नीजि अस्पतालहरु अहिले सुन्सान मात्रै हैन संकटपूर्ण अवस्थामा पुग्न थालेका छन् ।

जिल्लामा मुक्तिनाथ अस्पताल, निलगिरी सहकारी अस्पताल र सफल पोलिकिल्नक गरी तीन वटा अस्पताल छन् । तीनै अस्पताल पुन नयाँ व्यवस्थापन, सेवा सुविधा थपेर सञ्चालनमा ल्याउने अथवा बन्द गर्ने भन्ने दोधारमा रहेको अस्पतालका सञ्चालकहरुले बताएका छन् ।

चार÷पाँच वर्ष जनतालाई पोखरामा दिने स्वास्थ्य सेवा बागलुङबाटै दिएका नीजि अस्पतालले नागरिकको पोखरा तथा काठमाण्डौ पुग्न यातायात खर्च समेत जोगाईदिएका थिए । तर जिल्लाका तीन नीजि अस्पतालहरु अहिले भाडाको घरमा सञ्चालित छन् । भाडाको घरमा सञ्चालित निजी तथा सहकारी अस्पतालहरु पछिल्लो समय सामान्य सञ्चालन र भाडा तिर्न समेत कठिन हुदै गएको छ ।

जिल्लामा रहेको धौलागिरीकै ठूलो सरकारी अस्पताल क्रमश सुधार हुँदै जानु, विशेषज्ञ डाक्टर सरकारी अस्पतालमा नै पाउनु तथा स्वास्थ्य बीमाको प्रभावकारीताको कारण बागलुङ जिल्ला सदरमुकामका तीन नीजि तथा सहकारी अस्पतालहरु संकटमा पर्न थालेका हुन् ।

धौलागिरी अस्पताल गण्डकी प्रदेश सरकारको उप–प्रादेशिक अस्पतालको रुपमा विकास गरिरहेका कारण विरामीको चाप बढेको पाइएको छ । सरकारले स्वस्थ्य बीमा लागू गर्नु अघि सरकारी अस्पतालको सेवा गुणस्तर नभएपछि त्यसबेला नीजि अस्पतालको खाँचो भएपनि अहिले सरकारी अस्पतालले सेवा सुधारेपछि अस्पतालमा विरामीको चाप ह्वात्तै घटेको सहकारीमार्फत २०७१ सालदेखि सञ्चालित निलगिरी अस्पतालका अध्यक्ष डिल बहादुर कार्कीले बताउनुभयो ।

“धौलागिरी अस्पतालको सेवा प्रभावकारी थिएन, विरामीहरु दिनका दिन महंगो भाडा तिरेर पोखरा, काठमाडौं जाने अवस्था थियो, त्यतिबेला जिल्लामा नीजि अस्पतालको खाँचो थियो, सेवा ग्राहीको चाप समेत उस्तै थियो, नागरिकहरु स्वास्थ्य उपचारको नाममा बाहिरि जिल्ला गएका कारण हामीले सहकारी मार्फत अस्पताल सञ्चालन गरेका थियौं, विशेषज्ञ डाक्टरहरु नै शेयर सदस्य बनेर प्रभावकारी सेवा दिने उद्देश्यका साथ सहकारी मोडेलबाट अस्पताल सञ्चालन गरी प्रभावकारी सेवा दिएका पनि थियौ, अध्यक्ष कार्कीले भन्नुभयो–‘अहिले स्वास्थ्य बीमाको सफल कार्यान्वयन भएपछि सरकारी अस्पतालको सेवामा वृद्धि भएको छ, बीमा गरेको विरामीले अहिले सरकारी अस्पतालबाटै राम्रो सेवा पाएका छन्, अहिले सहकारी अस्पतालमा विरामीको चाप घटेको छ, कुनै बेला जिल्लामै पहिलो विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा रहेको निलगिरी अस्पताल बिमाका कारण अहिले त्यो अवस्थामा छैन ।’

निलगिरी अस्पतालमा आइसियु र सिटिस्क्यान जस्ता ठूला सेवा छैनन् अन्य सेवा धौलागिरी अस्पतालमै बीमाका कारण निःशुल्क पाइन थालेपछि नीजि अस्पतालको चाप घटेको उहाँको भनाई छ ।

जिल्लाको सबैभन्दा पुरानो नीजि अस्पतालको रुपमा रहेको मुक्तिनाथ अस्पताल पनि अहिले बन्द हुँने अवस्थामा पुगेको छ । अस्पतालका सञ्चालक सुशिल पन्तका अनुसार अहिले विरामी आउन छोडेपछि डाक्टर राख्नै नसकिएको र भाडा तिर्न समेत समस्या भएको छ ।

“ठूला उपकरण राखेर धौलागिरीमै फरक क्षमतामा अस्पताल चलाउन पाए हुन्थ्यो, अहिलेकै संरचनामा निजी अस्पताल चल्ने अवस्था छैन” पन्तले भन्नुभयो “हामीले सेवा त दिइराखेका छौं तर विरामीको चाप घट्दै गएपछि डाक्टर टिकाउन समस्या छ, यही अवस्थामा जिल्लाका कुनै पनि नीजि अस्पताल सञ्चालनमा आउन सक्ने अवस्था छैन ।” अस्पतालमा भन्दा औषधी पसलमा विरामीको चाप बढी भएको आफूले देखेको पन्तको भनाई छ ।

नयाँ सोच र नयाँ व्यवस्थापनका साथ अस्पताल चलाउन नसके यही अवस्थामा अस्पताल चल्न समस्या हुँने देखिएको सफल पोलिक्लिनिकका सञ्चालक दिपेन्द्र घिमिरेले बताउनुभयो । “विरामी नभएका हैनन् हाम्रो अस्पतालमा अझै विरामी आइरहेका छन्” घिमिरिेले भन्नुभयो–‘कोरोनापछि विरामीको संख्यामा कमी आएको छ, सरकारी अस्पताल धौलागिरी अस्पतालले सेवामा विस्तार तथा उपकरण थप गरेपछि नीजि अस्पताल बन्द हुँने अवस्थामा पुगेका छन् ।’ बिमाका कारण विरामीको चाप घटेको घिमिरेको भनाइ छ ।

जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ८० हजार स्वास्थ्य बीमामा आबद्द भएको स्वस्थ्य बीमा बोर्ड बागलुङ दर्ता अधिकारी नारायण शर्माले बताउनुभयो । उहाँका अनुसार स्वस्थ्य बीमा गर्ने नागरिकहरु दैनिक रुपमा वृद्धि भइरहेको र सरकारी अस्पतालले समेत सहज रुपमा सेवा दिइराखेको छ ।

बागलुङमा स्वास्थ्य बीमा प्रभावकारी रुपमा सञ्चालित छ । नागरिकले स्वास्थ्य बीमाका कारण निःशुल्क उपचार पाएपछि नीजि अस्पताल छोडेर सरकारी अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको हो । धौलागिरी अस्पतालमा अहिले दैनिक ३०० देखि ४०० विरामी स्वस्थ्यउपचारको लागि पुग्ने गरेका छन् ।

जिल्लामा सरकारी अस्पतालमानै आइसियु सेवा दिइराखेको छ भने गण्डकी प्रदेश सरकारले हालै मात्र सिटिस्क्यान खरिदका लागि रु. १० करोड बजेट विनियोजन गरेको छ । अब यहाँका नागरिकहरु सिटिस्क्यान गर्नका लागि समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुँने देखिएको छ ।

धौलागिरी अस्पतालले सेवा सुविधा विस्तार गर्दा पनि दैनिक सयौ विरामी अझै पनि पोखरा गइरहेका छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई एकीकृत गरी सेवा सुविधा थप गरेर पोखरामा हुने उपचार यही दिन सकेमा निजी अस्पतालहरुको संभावना अझै छ । मान्छेहरु अहिले पनि अस्पताल भन्दा मेडिकलमा जाने अवस्था विद्यमान छ, मेडिकलमा उपचार गराउने अवस्थाको अन्त्य र पोखरा जाने विरामीलाई जिल्लामै सेवा दिने गरी अस्पताल सञ्चालन गर्न सके बागलुङमा निजी अस्पतालको संभावना रहेको स्थानीय बताउछन् ।

स्वास्थ्य सेवासंगै स्वास्थ्य सचेतनाका कार्यक्रम समेत सञ्चालन गरेर अगाडि बढ्न सके मेडिकलमा उपचार गराउने र पोखरा गएपछि मात्रै उपचार पाइन्छ भन्ने सोचमा परिवर्तन ल्याउन सके स्वास्थ्य संस्थाको संभावना अझै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *