विद्रोहमा सफल भयौ, रुपान्तरणमा चुक्यौ : महासचिव पोखरेल

एमाले गण्डकीको एक महिने अभियान : पालिकास्तरसम्मै प्रशिक्षण

आदर्श अनलाइन, पोखरा
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले सांगठनिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रुपमा प्रशिक्षित गर्ने लक्ष्यका साथ एक महिने प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ ।

गण्डकी प्रदेश कमिटिको शनिवार पोखरामा सम्पन्न ११ औं पूर्ण वैठकले केन्द्रीय सर्कुलर अनुसार प्रदेश स्तरीय प्रशिक्षण, भेला तथा वैठक मार्फत संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटि वैठकले साउन ८ गते प्रदेश स्तरीय कार्यकर्ता भेला, साउन १७ गते जनवर्गीय संगठनको भेला र साउन २८ गते जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको एमाले प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

साउन १० गते गण्डकी प्रदेशका ११ वटै जिल्ला कमिटिको वैठक गर्न प्रदेश कमिटिले निर्देशन गरेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला स्तरीय प्रशिक्षण भेला गर्ने तयारी एमालेले गरेको छ । साउन १२ गते बागलुङ, म्याग्दी र मुस्ताङ, साउन १३ गते कास्की, पर्वत र तनहुँमा जिल्ला स्तरीय प्रशिक्षण भेला गरिने भएको छ । यस्तै साउन १४ गते स्याङ्जा, गोरखा र लमजुङ तथा साउन १५ गते नवलपुर र मनाङमा प्रशिक्षण दिइने एमाले प्रदेश कमिटि सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।

साउन १६ देखि २५ गतेभित्र पालिका स्तरीय प्रशिक्षण सम्पन्न गर्न वैठकले निर्देशन गरेको छ । वैठकमा स्थानीय तह निर्वाचनको समिक्षाका साथै आगामी निर्वाचन केन्द्रीत अभियानका बारेमा छलफल भएको थियो । पार्टीका जिल्ला अध्यक्षहरुले निर्वाचनमा भएका विषयहरुको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनमा भएका कमी कमजोरी सुधार गरेर आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी आम जनताका बीचमा अभियान सञ्चालन गर्न निर्देशन दिनु भएको थियो ।

पार्टी भित्र केही समस्या देखिएको छ, पार्टीका नेता कार्यकर्ताहरुको बोली व्यवहार, सम्बन्ध जस्ता कुराले निर्वाचनमा असर पारेको छ, कतिपय ठाउँमा पार्टीका उमेदवारका विरुद्धमा विभिन्न खाले गतिविधि भएका छन भन्दै महासचिव पोखरेलले कमरेडको भन्दा प्रतिद्वन्द्वीको जितमा रमाउने प्रवृति पनि देखिएको चर्चा गर्नु भयो । सामान्य असहयोग, निष्क्रियता हुने कुरामा छुट हुन सक्छ, कमरेडको भन्दा प्रतिद्वन्द्वीको जीतमा रमाउने कुरा चाही विचलन हो, यसलाई छुट दिन हुदैन ।

पार्टीले सञ्चालन गर्ने सबै अभियानहरु कार्यकर्ता, समर्थक, सुभेच्छुक लगायत आम जनताका समस्यासंग जोडिनु पर्छ, महासचिव पोखरेलले भन्नुभयो–जनताका बीचमा गरिने सम्वाद, छलफल र सहकार्यबाट मात्रै राजनीतिक दलको अभियानले सफलता पाउछ ।

व्यवस्था परिवर्तनमा अब्बल देखिएका हामीहरु अवस्था परिवर्तनमा सफल हुन सकेनौ, विद्रोहमा सफल भयौ, विद्रोहबाट हुन पर्ने आर्थिक र सामाजिक रुपान्तरणमा चुक्यौ, अबको सबै शक्ति आर्थिक विकास र सामाजिक रुपान्तरणमा लगाउन आवश्यक छ, यसो गरेमा मात्रै जनताले हामीलाई विश्वास गर्छन, पोखरेलको भनाइ छ ।

गठबन्धन सरकार देश विकास र रुपान्तरणका सबालमा पूर्णत असफल भएको चर्चा गर्दै उहाँले शोधानान्तर स्थिति, विदेशी मु्द्राको सञ्चिति, मूल्यवृद्धि लगायत आम देशवासीको हितमा हुने कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकार पूर्ण रुपमा असफल भएको छ, गठबन्धन केवल सत्ता स्वार्थका लागि थियो भन्ने प्रष्ट भएको उहाको भनाइ छ ।

गठबन्धन भयो, त्यसैले हार भयो भन्ने कुरा समस्याबाट उम्कने प्रयास भएको भन्दै उहाँले जनताका बीचमा गएर गठबन्धनले गरेका कामहरुको बारेमा प्रभावकारी सम्वाद गर्न सके मात्रै एमालेको जित सुनिश्चित हुन्छ भन्दै हारिन्छ, सकिदैन, कसैको साथ नभए कसरी जितिएला भन्ने कमजोर मनस्थिति त्यागेर जित संभव छ, हामी सक्छौ भन्ने मनोविज्ञानका साथ कार्यक्षेत्रमा खटिन महासचिव पोखरेलले नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *