नौमती बाजा संरक्षणमा गलकोटको मल्म


आदर्श अनलाइन, बागलुङ

बागलुङको पहिचानको रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुँनथालेपछि यहाँका स्थानीय सरकारहरु नौमती बाजा संरक्षणमा जुटेका छन् ।

पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाहरुले चासो नदिदा र युवाहरु विदशे पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुँने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् । उनिहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयहरुलाई प्रोत्साहन स्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले तीन वर्ष अघिनै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो ।

त्यस लगत्तै काठेखोला गाउँपालिकाले दुई वर्ष अघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रमनै बनायो । नौमती बाजा समूह विहे, वत्रवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । काठेखोला गाउँपालिकाले आठ वटै वडामा एक/एक नौमती बाजा समूहलाई नौमती बाजाहरु उपलव्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजाहरु वितरण गरिसकेको छ ।

काठेखोला गाउँपालिकाका ८ वटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख बजेट बिनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउदै आएका दलित समुदायका कलाकारहरुलाई हौषला मिलेको थियो । काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाहरुले समेत गर्न थालेका छन् ।

जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेहरुलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवाहरलाई समेत राहत पुगेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलव्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ । मल्म वडा कार्यालयको रु. दुई लाख र स्थानीय बाजा समूहको ४५ हजार साझेदारीमा बाजा समूहलाई एक÷एक थान नयाँ नौमती बाजा उपलव्ध गराइएको वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।

“नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ तर उहाँहरुलाई नजिकको सरकारले हौषला दिनु पर्दछ, पुस्ता हस्तान्तरण अभावमा लोप हुँन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजाहरु खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौं” थापाले भन्नुभयो “यस अघि जिल्लाका अन्य पालिकाका वडाहरुले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुसरण गरेका हौं, थोरै बजेटमा धेरै सकरात्मक काम समेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ ।”

निर्वतमान वडा अध्यक्ष टिका बहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । बाजा निर्माणको चाजो पाँजो भने चर्चित संगितकार आशिष अबिरलले गर्नुभएको थियो । गलकोट लोक सस्कृतिको थलो बन्दै गइरहेको सन्र्दभमा आगमी दिनमा नौमती बाजा तालिम केन्द्र समेत स्थापना गर्ने उदेश्य अनुरुप अहिले नौमती बाजा बितरण गरिएको निर्वतमान वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिनुभयो । गलकोट नगरपालिका–७ मल्मको सिरवारे नमूना टोलविकास संस्था अन्र्तगत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामाग्री सहयोग गरिएको हो ।

परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानका रुपमा स्थापित छ । पछिल्लो समय स्थानीयहरुमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका बाध्यबाधक तथा कलाकारहरु नयाँ बाजा सामाग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितका कलाकार राज कुमार दर्जीले बताउनुभयो ।

नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलिमै काठमाण्डौमा तयार गरिएको थियो । नौमती बाजा बजाएरै यहाँका दलित कलाकारहरुले आफ्नो गुजारा समेत चलाउदै आएका छन् । गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजना समेत अघि सारेको वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।

विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बागलुङमा बढी मात्रमा प्रचलित छ । बागलुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ । गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखोरा सम्म माग हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *