बागलुङमा एक अर्ब २१ करोड राजश्व संकलन

आदर्श अनलाइन, बागलुङ

गत आर्थिक वर्षमा बागलुङमा एक अर्ब २१ करोड राजश्व संकलन भएको छ ।
जिल्लाका संघीय तथा प्रदेश कार्यालयहरुले गत आर्थिक वर्षमा उक्त राजश्व संकलन गरेका हुन् ।

बागलुङमा कर संकलनका लागि बसेको आन्तरिक राजस्व कार्यालय सहित जिल्लाका विभिन्न सरकारी कार्यालयमा संकलन गरिएको राजश्वका विभिन्न शिर्षकहरुमा रु. एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व संकलन गरेका छन् । असार मासन्तमा मात्रै यहाँका कार्यालयमा रु. २२ करोड ५७ लाख ८२ हजार ८४२ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय बागलुङका सूचना अधिकारी तथा कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले जिल्लामा असार महिनामा खर्चको दर मात्रै नबढेर राजश्वको दर समेत बढेको बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷७९ मा संघीय सरकार मातहतका ४२ कार्यालय तथा एकाइले रु. एक अर्ब चार करोड एक लाख २६ हजार ४७४ राजस्व संकलन गरेका हुन् । ती कार्यालयले असारमा मात्रै रु. २१ करोड २० लाख ७४ हजार ५९० राजस्व सङ्कलन गरेका थिए ।

प्रदेश सरकार माताहतका १७ कार्यालयले रु. १७ करोड चार लाख ९१ हजार ५०३ राजस्व सङ्कलन गरेका छन् । असारमा मात्रै ती कार्यालयले रु. एक करोड ३७ लाख आठ हजार २५२ राजस्व सङ्कलन गरेका हुन् । प्रदेश सरकार मातहतमध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालयले राजस्व सङ्कलन गरेको तथ्याङ्क कोष तथा लेखा नियन्त्रण कार्यालयसँग छ । यातायात व्यवस्था कार्यालयले रु. १४ करोड १६ लाख ६५ हजार ६६६ राजस्व सङ्कलन गरेको थियो ।

धौलागिरि आयुर्वेद औषधालय सबैभन्दा कम राजस्व उठाउने प्रदेश मातहतको कार्यालय बनेको छ । औषधालयले रु. ८०० मात्रै राजस्व सङ्कलन गरेको छ । सङ्घीय सरकार मातहत रहेको आन्तरिक राजस्व कार्यालयले सबैभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

रु. एक अर्ब चार करोड राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले रु. ८८ करोड सात लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आय कर मात्रै रु ४८ करोड ६१ लाख उठाएको छ । रु. ४५ करोड ४० लाख वार्षिक लक्ष्य रहेको आय कर शीर्षकमा लक्ष्यभन्दा रु. तीन करोड २१ लाख बढी राजस्व जम्मा भएको हो । सङ्घीय सरकारअन्तर्गत रहेको तत्कालीन अर्जुनबाण गणले सबैभन्दा कम रु. १५० मात्रै राजस्व सङ्कलन गरेको थियो । स्थानीय तहले विभिन्न शीर्षकमा लिने राजस्व भने यसमा समावेश छैन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *