सम्पादकीय/
एउटा खबरले अनलाइन र सामाजिक सञ्जाल बुधवार दिनभरजसो रंगियो । उसो त खबर आफैमा झट्ट सुन्दा नौलो र पृथक थिएन । एक सन्तानले आफ्नै बुबालाई अंग दान गरेको कुरा स्वभाविक र सामान्य जस्तै लाग्न सक्छ । तर, कति सामान्य र साधारण लागेका कुरा मानवीयता, संवेदनशीलता र समयका कारण त्यो असाधारण हुन्छ । बागलुङ नगरपालिका–२ का युवा व्यवसायी निलेश राजभण्डारीले आफ्ना बुबा अशोकगोविन्द राजभण्डारीलाई कलेजो दान गरेर जीवनरक्षा गरे । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरियो । प्रत्यारोपण पश्चात अहिले पनि निलेशका बुबा भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् । छोरा निलेश भने सामान्य अवस्थामा फर्किसकेका छन् ।
यो एक छोराले आफ्नो बुबालाई गर्ने माया, सम्बन्ध र हार्दिकताको रुप हो । यस हिसाबले रगतको नाता भएको बाबु छोरा बिचमा कुनै अंग दान गर्ने विषय सामान्य र स्वभाविक नै हो । यसकारण यो पनि सामान्य कुरा नै हो । तर, के आजको नेपाली समाज आफ्ना हर बाबुआमा बिरामी पर्दा साथमा छन्, हुन्छन् ? उनीहरु कुनै अंगले काम गरे नगरेको बारे प्रत्यक्ष साथसाथ रहेर चासो राख्छन् ? उपर्युक्त अस्पताल र चिकित्सकहरुको खोजीमा लाग्छन् ? अंग नै दान गर्ने अवस्था भए सहजतापूर्वक स्वयंम् अंग दान गर्न तयार हुन्छन् ? परिवार, श्रीमति, छोराछोरी के सोच्छन्, के भन्छन् ? छोराछोरी हुँदाहुँदै किन बुढेशकाल लागेका बाबुआमा बृद्धाआश्रम र बेवारिसे सडकहरुमा पुगिरहेका छन् ? गाउँ शहरका घरहरु किन सन्तानवीहिन –बुढ्यौली लागेकाहरु)मा मात्रै देखिन्छन् ? आजको समय र समाजमा यी र यस्ता गम्भीर प्रश्न र सवालहरु छन् । जसले एक छोराले आफ्नै पितालाई स्वास्थ्यको जटिल अवस्थामा कुनै अंग दान गर्नुलाई पनि ठुलो समाचार र विषय बन्ने अवस्था सिर्जना भएको छ ।
यसकारण कुनै छोराले बाबुलाई संवेदनशील अंग दान गर्ने कुरा सामान्य रहेन, सामान्य होइन । अहिले निलेश राजभण्डारीले आफ्ना बुबालाई अंग दान गरेर उनको जीवन रक्षा मात्र गरेका छैनन् । आम युवाहरुलाई आफ्ना माता पिता अभिभावकहरु प्रति के कस्तो व्यवहार,रेखदेख, माया गरिरहेका छौ ? सोच्न बाध्य बनाएको छ । आमाको दुधको भारा छ, बाबुको सयौं सपना त्यागेर सन्तानको भविष्यका लागि गरेको कुर्वानी छ । त्यो अहिले केबल पैसा कमाउनु र दिनुमा मात्रै सीमित हुन थालेको छ । यसर्थ, सम्बन्ध भनेको त अप्ठ्यारोमा सँगै साथै रहेर दृढतापूर्वक सारथी बनेर उभिनु हो निलेश राजभण्डारी जस्तै । अरु सम्बन्ध र नाताहरु त समय, क्षण, परिस्थिति अनुसार बदलिन्छन्, बदलिन सक्छन्, तर आमाबाबु र सन्तान बिचको सम्बन्ध कसिलो हुनुपर्छ । पूँजीवादी दुनियाँले सम्बन्धहरुलाई सतही बनाइदिएको छ । हर छोराछोरी परिवारको सपना, जीविका जोहोका लागि जहाँ जहाँ जाउन्, जे गरुन्, आमा बाबु अभिभावक अप्ठ्यारो अवस्थामा भएका बेला निलेश जस्तै गरेर उभिउन् । जुन असली सन्तानको कर्तव्य हो ।