सुन्दर कार्यक्रम, खराब कार्यशैली


सम्पादकीय/ नेपालमा केही छैन या केही भएको छैन भने जस्तो गरी बेला बेला चर्चा, परिचर्चा, गुनासा र आक्रोशहरु व्यक्त हुन्छ । यस्तो कदापि होइन, देशमा केही न केही त सकारात्मक उपलब्धि, परिवर्तन र सुधारहरु त भएकै छ । अझ पुरानो व्यवस्था बदलिएर नयाँ संविधान, त्यस अनुसारको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पछि त तल्लो तह सम्म सरकारको अनुभूति भएको छ । विकास र परिवर्तनको एक किसिमको उभार आएको छ । साना साना समस्या, माग लिएर सिंहदरबार या सदरमुकामको प्रशासनिक केन्द्र धाउनुपर्ने बाध्यताहरु हटेको छ । नयाँ व्यवस्था पश्चात गठित तीन तहका सरकारहरुले राम्रै योजना, कार्यक्रमहरु ल्याइरहेका छन्् । बरु यो भन्न र स्वीकार गर्न सकिन्छ कि आम नागरिकले व्यवस्था बदलिए सँगै गरेका भारी आशा, आंकाक्षाहरु पुरा भएका छैनन् । चाहे त्यो पात्रगत रुपमा परिवर्तन होस् या प्रवृत्तिगत रुपमा देशमा सुधार होस् । उही परम्परागत खराब पात्र र प्रवृत्तिहरुकै बोलवाला देखिएको छ । जुन आजको दिन र व्यवस्थामा पनि गलत हो ।

देशमा तीन तहको सरकार बने पछि स्थानीय तहले जनताका स्थानीय स्तरका समस्या सम्बोधन गर्छ । स्थानीय तहले सम्बोधन, समाधान गर्न नसक्ने माग, आवश्यकताका योजना प्रदेश सरकारले सम्बोधन गर्छ । प्रदेश सरकारको बजेटले पनि सम्बोधन गर्न नसक्ने माग, योजना संघीय सरकारले गर्छ । यस मुताबिक जे जस्ता योजना, कार्यक्रमहरु सरकारले ल्याएको छ । यो सरसर्ती हेर्दा तीनै तहका सरकारका केही कार्यक्रमहरु असाध्यै अपरिहार्य, जनमुखी योजना छन् । जुन नेपाली समाजमा जरुरी थियो र छ । यसै मुताबिकको योजना ल्याएको थियो मधेश प्रदेश सरकारले बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रम । मधेश प्रदेश सरकारले छोरी पढाउन अभिप्रेरित गर्ने गरी घोषणा गरेको कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अघि बढाएको थियो । यो कार्यक्रम अन्तर्गत विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्ने गरिएको थियो । र यो कार्यक्रम ल्याएको मधेश प्रदेश सरकार देशभरबाट धन्यवादको पात्र बनेको थियो । दुर्भाग्य भन्नुपर्छ, त्यही बेटी पढाऔं, बेटी बचाऔं लोकप्रिय कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । जस अनुसार अब विशेष अदालतमा प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।

सरकारले कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनमा देखिने खराब कार्यशैलीले कार्यक्रम त प्रभावित बन्यो नै, यसबाट लाभान्वित हुँदै गरेको समुदायमा चरम अभाव र विभेद खेपिरहेका छोरीहरु बञ्चित भएका छन् । अब कतिपयले कार्यशैलीमा देखिएको खराबीलाई लिएर कार्यक्रम नै गलत थियो भन्ने ढंगले व्याख्या गर्छन् । हिजो संघीय व्यवस्थामा भएको पहिलो निर्वाचन मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारा पनि अपरिहार्य र सुन्दर कार्यक्रम थियो । तर, कार्यान्वयनमा समस्या देखियो । जसले नेताहरु बोल्छन्, भाषण गर्छन्, का म गर्दैनन् भन्ने पर्न थालेको छ । त्यसैले सत्ताको बागडोर सम्हाल्ने सबैले होइन, अधिक नेता र जनप्रतिनिधिले दीर्घकालीन सोच र परिवर्तनको हुटहुटी सहित असल नियतले सुन्दर कार्यक्रम ल्याएका छन् । यसको कार्यान्वयनमा अहिले देखिएको भ्रष्टाचार, अनियमितताको बेथिति, खराब कार्यशैलीमा तत्काल सुुधार गर्न जरुरी छ । अन्यथा, स्वयंम् व्यक्ति, व्यवस्था र प्रणाली बदनाम हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *