वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण संकलन

खेमराज गौतम, बागलुङ

बागलुङका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न थालिएको छ ।

बागलुङ केही महिना भित्रै जिल्लाका सबै वडामा पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिसक्ने लक्ष्यका साथ साउन १६ गतेदेखि बागलुङ नगरपालिकाका १४ वटै वडामा विवरण संकलनको कार्य शुरु भएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामा दुई÷दुई जनाकोदरले २८ जना कर्मचारी विवरण संकलकका लागि उपकरण सहित खटाइएको छ ।

उनिहरुले एक वडामा सात देखि १५ दिन सम्म विवरण संकलन गर्नेछन् । बागलुङ नगरपालिकाको सम्पूर्ण नागरिकहरुको विवरण संकलन पछि अन्य पालिकामा थाल्ने राष्ट्रिय परिचयपत्रको योजना रहेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गशेण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

“विवरण संकलनमा समस्या नहोस कोही नछुटुन् भन्ने अभिप्रायले वडा कार्यालयमै प्राविधिक टोली खटाइएको छ, एक दिनमा ८० जना भन्दा बढीको परिचयपत्रका लागि आवश्यक विवरण संकलन गरिन्छ” सहायक प्रजिअ पौडेलले भन्नुभयो “राष्ट्रिय परिचय पत्र निकै महत्वपूर्ण छ, यो प्रविधिमैत्री र विश्वसनीय समेत छ, त्यसैले कोही नछुटी आफ्नो वडामा पुगेर फोटो सहितको तथ्याङ्क संकलनमा सहभागी हुन हामीले अनुरोध गरेका छौ ।”

धेरै प्रकारका व्यक्तिगत विवरण तथा फोटो, १० औलाको चिन्ह र आखाको नानीको चिन्ह लगायतको विवरण दर्ता गर्नका लागि एक व्यक्तिको विवरण संकलन गर्नका लागि मात्रै ३० मिनेट समय लाग्ने गर्दछ ।

दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना संकलन गर्ने गरिन्छ ।

२०६७ सालको साउनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी काम सुरु गरिए पनि पूर्वाधार निर्माण लगायतमा भएका अवरोधका माझ अघिल्लो वर्षबाट परिचयपत्र बाँड्न थालिएको थियो ।

नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरि त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, बैंकिङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् ।

सुरक्षा चिप्स सहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिने बाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पु¥याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता सहित दर्ता गरिरहेको स्थानमा पुग्नु पर्नेे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिचयपत्र दर्ताका लागि वडा तहमा दुई÷दुई जना कर्मचारी छन् । राष्ट्रिय परिचय पत्रको बहुआयामिक काम हुनेछ । जिल्ला प्रशासन कार्यालयमा हालसम्म स्वइच्छुक रुपमा २३ हजार ५०० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको राष्ट्रिय परिचयपत्र दर्ताका लागि जिल्ला प्रशासनमा खटिनुभएको कपिल घर्तीमगरले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा २०७७ असारदेखि राष्ट्रिय परिचय पत्रको तथ्याङ्क दर्ता गर्न थालिएको थियो । वडामै पुगेर तथ्याङ्क संकलन गर्दा नागरिकलाई सहज हुँने भन्दै दर्ता शिविरमा सहभागीका लागि जिल्ला प्रशासनले सबै नागरिकलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *