राम सुवेदी
खासगरी कम्युनिष्टहरुले बोल्ने गरेको भाषा, जनकम्युन, जनसत्ता र समाजवाद । जो जनतासँग प्रत्यक्ष जोडिएका तीन मर्म मानिन्छन् । जनताका आवश्यकतामा आधारभूत फेरबदल गर्न कम्युनिष्ट पार्टिका नेता, कार्यकर्ता र समर्थकहरुको सम्बन्धलाई श्रमसँग जोडेर ल्याउन खोजिएको परिवर्तनलाई जनकम्यून भनिएको हो । अर्थात जनताको प्रत्यक्ष सहभागीता रहेका,े श्रमजीवी वर्गको साइनो बलिएको भएको पार्टि कम्युनिष्ट अथवा सबै जनता र उनका छोराछोरी कम्यूनिष्ट, कम्युनिष्ट आदर्श, मूल्य मान्यता बोकेको माक्र्सवादी लेनिनवादी जनसंगठन र उनीहरुको भविश्य प्रतिको आदर्श समाजवादी व्यवस्था भन्ने हो ।
जहाँ जनता, नेता र व्यवस्थाका प्रतिनिधिहरु प्रत्यक्ष श्रम गरेका हुन्छन् । जनश्रमले विकास निर्माणदेखि सामुहिकतामा जोडदिंदै यसका नेता अर्थात क्याडरहरु जनताको प्रतिनिधित्व समेत श्रमबाट जन्मन्छन् र कर्म देश र जनताको सेवामा समर्पित गराउँछन् । यो शैद्धान्तिक मूल्य र मान्यता हो । जो सत्ताबागडोरमा हुन्छन् उनीहरुसमेत देश निर्माणका अगुवा हुनुपर्दछ । जस्का आचरण, व्यवहार र कर्मबाट समाजविकास हुनुपर्छ ।
यो शैद्धान्तिक कुरा हो । यथार्थमा अहिले देशमा नत जनवादी व्यवस्था मान्ने कम्यूनिष्ट छन्, नत समाजवाद उन्मूख भनेर त्यस अनुसारको कर्म गर्ने जनकम्यून सत्ता छ । कम्युनिष्ट पार्टिको मूल्य, मान्यता र शिद्धान्त अनुसारको व्यवहार भएका कम्यूनिष्ट पार्टिहरु आफ्नो आदर्श, विचार र कर्म छाडेको धेरै भयो तर अmभैपनि आफूलाई कम्युनिष्ट भनिरहेका छन् । उसका कार्यकर्ता यर्ही आचरण र कर्मलाई स्वीकार गर्दैछन् । कम्यून व्यवस्थाको शैद्धान्तिक वकालत गर्ने तर बुर्जुवा व्यवस्थाका राइटिष्टहरुको लोगो र झण्डा कम्यूनिष्टको छ । जनता भ्रममा राख्ने केहीथान नाराहरु कम्युनिष्टका छन् । जो सुकै आलोचनात्मक चेत भएको द्धन्द्धवादीले आफ्नो स्वतन्त्र ढंगले नेपालको कम्युनिष्ट आन्दोलन भनौं वा उनीहरुको वर्तमान वर्गिय चरित्रको स्वःअध्ययन गर्यौं भने यहाँभन्दा पर जान सकिंदैन । नेपालमा बाटो हराएका कम्युनिष्ट नामका पार्टि र नेताहरु छन् जस्लाई नाजायज कार्यकर्ताहरुको समर्थन छ ।
राज्य व्यवस्थाको बागडोरमा कहीँ न कहीँ यिनीहरुको कर्म नेपाली जनताले व्यहोरेका छन् । कम्युनिष्टहरुको कथनी र करणीमा ठोस फरकपन छैन । अनेकताका एकतासहितको सत्ता माजोहिलामा भने के कम्युनिष्ट के काँग्रेस एक रथका दुई पाङ्ग्रा हुन् । मिलेर एकै चिन्हमा चुनाव लड्छन् । जनतामा भ्रम पनि कति गज्ज्बको छ । नसुध्रिएका कम्युनिष्टहरु काँग्रेससित मिलेर चुनावमा आउँदा पनि त्यसका कार्यकर्ता उफ्रेर आफूलाई लेफ्टिष्ट र समाजवादी व्यवस्थाका अगुवा भनिदिनुपर्ने ? देश बनाउन माटो छुनु नपर्ने तर देश स्वीजरल्याण्ड हुन्छ भन्दा ताली ठोक्नुपर्ने ? त्यसको फलस्वरुप देशलाई ऋणमा थोपरे जनतालाई कम्पारो ठोक्ने बनाउने यिनै नेता र पार्टिहरु होईनन् ? यिनका समर्थकहरुको चेत कहिले खुल्ने ?
देश बनेन् भन्नेहरु, बनाउने कर्म आफू गर्दैनन् । कार्यक्रम पनि ल्याउँदैनन् । श्रमजीवीका नेता भन्छन् । त्यस्ता पनि छैनन् । दलाली र चाकरीका भरमा राज्यकोषमा हालीमुहाली गर्छन् । जनकम्युनहरु निम्नवर्गीय जनताको नेतृत्व र उसको नेतृत्वको सत्ताबाट आधारभूत समस्याको समाधानको उपज भनि दिन्छन् । तर राज्यकोषको बजेटमाथि तामझाम र मोजमस्तीमा डुबेकाहरुले जनतासँग देश बनाउने श्रमदान गरेका छैनन् । यत्तिकुरा नजान्ने र नबुज्ने गिदी किन चाहियो, मलखाद भन्दे हुन्न ?
जवसम्म जनताका प्रतिनिनिधिहरु जनतासँग जनश्रम गरेर देश निर्माणको बाटो अवलम्बन गर्दैनन् । तवसम्म राष्ट्र विकास हुँदैन । बर्ग उत्थान होइन, बर्ग समन्वय र बुर्जुवा शासकको अगुवाईबाट समाजवाद यो व्यवहारबाट कहिल्यै आउँदैन । कागज र भाषणमा जतिपनि बोल्नेहरुबाट अव कति भरोसा गर्ने ? देशमा अनेकन अवैध धन्दा गर्नेहरु नेता छन् । कानूनी छिद्रमा छिरेर होस् वा कानूननै मिचेर वा कानून संशोधन गरेर पनि देश लुट्ने पार्टिहरु छन् । एक्लै भएन, उनीहरु मिलेर पनि देशलाई खोक्रो बनाउन उद्धत छन् । देशप्रति कुनै योगदान छैन । न उनीहरुप्रति जनतामा आसा भरोसा नै छ । देश कंगाल बनाएको देख्दा देख्दै तालि पिट्ने गैह्र जिम्मेवार तिनका कार्यकर्ता र समर्थकहरु पनि यो देशका घाति हुन् । उनले समर्थन गरेका नेता हुन् वा पार्टि चुपचाप समर्थन गर्ने प्रवृत्तिले देश नबनेको हो । अव केही सचेतहरु पार्टिका नेता छाडेर स्वतन्त्र तिर लागेका देखिन्छन् । कारण अहिलेका दल र नेताले गरेका बद्नामी कर्मप्रति सचेतता अपनाइएको पनि हो ।
आफ्नो दर्शन, नीति र विचारमा श्रम र श्रमजीवी जनताको उत्थान, उत्पिडनको अन्त्य लेख्ने, बोल्ने दल र नेताहरुलाई धराने साङपाङले उनको कर्मबाट नैतिक संकट उत्पन्न गराइदिएका छन् । उनै जनप्रतिनिधि जो महानगरको मेयर जनतासँग प्रत्यक्ष श्रम गरिरहेका छन् । उनै जनप्रतिनिधिहरु जा् यो देशका ७५२ स्थानमा निर्वाचितहरु गाडि, कुर्सी र भत्ताको शयर गरिरहेका छन् । खोला किनारमा ढँुगा, बालुवा र गिट्टी उठाउनेले देश बनाउला कि कार्यकर्ता नेता र आफू पालिने दलाल मनोवृत्तिका वाँकी जनप्रतिनिधिहरुबाट देश बन्ला ? आम नागरिकमा उठिरहेको प्रश्न यही हो । देश बनाउने नभइ लुट्नेहरुलाई श्रृलंकाका जनताले खेदाए जसरी भोली यिनीहरु समेत सुरक्षित र सम्मानित देखिन्नन् । अर्कातिर देश बन्न नागरिक र भोटहाल्ने भोटरहरु नेता र पार्टिका पुच्छर वा दलाल होईनन्, स्वतन्त्र हुन सक्नुपर्दछ । जनवसम्म मतदाता स्वतन्त्र हुँदैनन् तवसम्म यहाँका पार्टि र तिनका नेताले देश बनाउने कर्म गर्दैनन् । मौकामा पैसाले चुनाव जित्ने, पैसामा मत बेचिने र देश खोक्रो हुँदासम्म पनि नागरिकहर मेरो पार्टि, मेरो नेता भनेर अन्धो समर्थक बन्दासम्म यो देशको कालोबादल हट्ने छैन ।
जनविरोधी जनकम्यूनहरुको गणतन्त्र वा राष्ट्र विरेधी प्रजातान्त्रिक व्यवस्था उन्नत भनिएला तर व्यवहारतः सार्थकता, नैतिकता र शैद्धान्तिक हिसावले समेत मरेको व्यवस्था बनाउन खोजिएको तन्त्र फेरेर देश बन्दैन । देशको शक्ति बेच्ने, राज्यकोष भागबण्डा गरेर घिच्ने र ऋणको भूमरीमाथिको गणतन्त्रात्मक व्यवस्था जनता उल्ल्लु बनाउन नेताले ल्याएको हो । स्वार्थी र निकम्मा दलाल कार्यकर्ताको रजाईमा हर्षबढाईं हुँदैमा जनताको जनजीवन फेरिने व्यवस्था यो होईन र हुँदैन । नभए श्रमजीवी जनताको नेता सत्ता स्वार्थको साझेदारीबाट जनप्रतिनिधि भएर जनताप्रति दलाली र गद्दारी किन गरिरहेको छ । ठाउँठाउँमा सोधौं ।