शिवशरण ज्ञवाली
असरल्ल फिजिएका किताब, अनेक कुरा खेलिरहेको दिमाग, कामको चाँपचाँप, अनिद्राले बिझाएका आँखाहरु सबैलाई एकछिन एक कुनामा थन्काएर म धरानतिर लागें । आज विद्यार्थीलाई कक्षामा सोधेको थिएँ : ‘आजको नेपाल कस्तो छ ?’ विद्यार्थीहरुले जवाफ दिए, ‘सुन्दर छ ।’ लगत्तै अर्को प्रश्न तेस्र्याउँछु, ‘कुरुप के छ ?’ ‘राजनीति र अर्थतन्त्र’ ।
विद्यार्थीहरुले राजनीति कुरुपताको सानो उदाहरण दिए । बजारबाट गाउँतिर एकाध मोटरहरु जान्छन् । ती मोटरहरु यात्रुहरुले सधैं भरिभराउ हुन्छन् । तर ती मोटरहरुमा साहुले आफ्ना पार्टीका मान्छेहरु मात्रै लैजान्छन् । अर्को पार्टीका मानिसहरुलाई गाडीमा चढाउँदैनन् । हिड्नु पर्छ । राजनीतिको यो भन्दा कुरुप तस्वीर अर्को के होला ? मैले मेसिनमा मकै पिस्न पनि पार्टी चल्छ कि क्या हो भनेर सोधें । खै त्यसमा पनि हुँदो हो भन्ने जवाफ विद्यार्थीले दिए । आफ्नो पार्टीको छ भने राम्रासँग पिसिदिने अर्काको पार्टीको छ भने अलिअलि पिसिदिने भन्दा मेरा विद्यार्थीहरु गलल्ल हाँसे । पालोमा पनि मिचिदो हो भन्ने सवाल उनीहरुले उठाए । गाउँमा बस्ने एकदम तल्ला तहमा त यो अवस्था छ भने हामीले एक्काइसौँ शताब्दीको संसारको के कल्पना गर्ने ? शताब्दी बदलौँ ।
आफ्नो कुरा नगरौँ । यो अलि जोखिमपूर्ण हुन्छ । बोले लेखेकै आधारमा भोलि आफूले गाली खानु पर्छ । आफूले काम गर्ने संस्थाका बारेमा सबैभन्दा बढी बोलेका लेखेका प्राध्यापक डाक्टर दयानन्द ब्रजाचार्य नै होलान् कि ? विषयमा जस्तै उनको काम गर्ने शैलीमा पनि दक्षता भएकै कारणले गर्दा उनी बोलेका होलान् । एकताक त्रिविमा प्राध्यापक गोविन्द केसीको नाम लिदा त्यहाँका पदाधिकारी रोटेंले टोकेजस्तै गरी उफ्रन्थे । ‘गोविन्द केसीका कुरा नगर्नुस् नगर्नुस् भन्थे ।’ दलका झुण्डझुण्ड संगठन बनाउने हामीहरुको विवेक बन्द नहुने कुरै भएन । प्राध्यापक केसी समग्र टियुका बारेमा त्यति ज्यादा बोलेनन्, केवल चिकित्सा शिक्षा र शिक्षण अस्पतालकै बारेमा धेरै बोले लडे । उनको लडाईंमा मलाई कुनै शंका छैन । समग्र चिकित्सा शिक्षाको हितका लागि, आम नेपालीको हितका लागि, शिक्षण अस्पताल सुधारका लागि, जनताको स्वास्थ्यका लागि नै उनी पटकपटक लडें । पटकपटक ज्यानको बाजी लगाए । आज पनि उनीप्रतिको मेरो विश्वास डगमगाएको छैन । हजार जिभ्रा भएका शेषनाग आए पनि म कन्भिन्स हुनेवाला छैन । तर आज मेरो टियु बन्द भइसकेको महिनौं भइसक्यो । कोही प्राध्यापक बोल्दैन । कोही कर्मचारी बोल्दैन । कोही विद्यार्थी बोल्दैन । प्रतिपक्षीले संसदमा धर्म मात्रै निर्वाह गर्दा खुलेको विश्वविद्यालय फेरि बन्द भइसक्यो । बन्द हुँदा झन् जाति पो भा छ कि क्या हो ? जिम्मेवारी लिएकाहरुलाई त अवश्य गज्जब भए होला । दुखमा परेका पीर मर्काका परेमा, अप्ठ्यारोमा परेकाहरुलाई बन्द छ भनिदिए हुने भएको छ । झारा टार्न पाइएको छ । भर्खर भर्खर स्नातक पढ्दै गरेका मेरा विद्यार्थीलाई के थाहा ? टियुको कुरुप राजनीति गाडीको सिन्डिकेट राजनीति जस्तै हो भन्ने कुरा । म कतिबेला त्यो सिन्डिकेटवाला बनेको छु कतिबेला सिन्डिकेटबाट आउट भएको छु । तर मेरो मान्यता छ अमेरिकनले पनि पढ्ने, क्यानेडियनले पनि, जापनीजले पनि पढ्ने, संसारभरकैले पढ्ने मेरो विश्वविद्यालय बन्द गर्न पाइदैन । यसमा बन्द गर्ने वातावरण बनाउने पनि उत्तिकै जिम्मेवार छन्, जति यो बन्द गर्ने छन् । म एकथरीलाई मात्रै दोष दिने पक्षमा छैन । सरकार देश चलाउँदैन राजनीति चलाउँछ ।
अचानक मनमा कुरा खेल्छन् । यी कसरी गाडी चढ्छन् ? नेताका काठमाडौँमा घर कसरी हुन्छन् ? म त छक्क पर्छु । ए बी सि डि जुनसुकै पार्टीका नेताको पनि काठमाडौँमा घर कसरी बन्छ ? यसको जवाफ दिने तागत नेतासँग छ ? एकताक हाम्रो परिवारका पाँच जना सदस्यहरु सबैको खरिदारदेखि उपसचिवसम्मको तलब खाने जागिर थियो । अझै पनि चारजना छौँ । दाइ भाउजू विदेशमा । हामी बाउ छोरा नेपालमै । पैसाको डालो एउटै थियो र छ । तैपनि घर बनेन । हामी काठमाडौँमा बसेर भुक्तभोगी थियौँ । डेरा सरिरहन्थ्यौँ । खै कता कुनामा हो दाइले चार आना जग्गा किन्नु भएको रहेछ । लुभु लामाटारतिर । त्यो लुभु लामाटारमा पनि घर बनाउन सकिएन । राजकुलो परेर अझ त्यही घडेरी पनि काटिदियो । उनी बिरामी भएका बेला दाईले बासँग पैसा पुगेन भने त्यो घडेरी बेच्छु भन्नुहुन्थ्यो रे ! दैव लाग्दा बडो मुस्किलले सबै जुटेर उनको उपचार ग¥यौँ । नसकिने हो कि भन्ने त्राहीत्राहीले मैले सिंहदरबारमा हारगुहार पनि गरे । जनतालाई के सुन्थे त्यहाँका सिंहहरु ? जे जस्तो भए पनि दैवले आफ्नो बाटो लियो । हामीले तत्काल पर्दै गएको पैसाको संकटबाट मुक्ति पायौँ । तर नेताले सजिलै घर जोड्छन् । नेता जस्तै हामी पनि उपचारका लागि दिल्ली गयौँ । तर हामीलाई सोध्ने कोही थिएन । यिनलाई त राजदुतावास हुँदोरहेछ । त्यो दुतावास पनि कस्तो भने कुनै नेपाली दिल्लीका सडकमा लकडाउनमा अलपत्र पर्दा समेत हारगुहार नगरिकन उद्धार नगरिदिने । नेता भने दिल्ली दूताबासमा बसेर उपचार गर्ने ? त्यहीबाट उपचारको ट्वीट गर्ने ? दिल्लीको हरियालीको ट्वीट गर्ने तर फोहरको नगर्ने ? उनीहरुको खातिरदारी देख्दा म छक्क पर्थे । यहाँ झगडा गरे पनि जुनसुकै नेताका लागि पनि पैसाको थैलो छुट्टयाइहाल्ने । कति गज्जब ? झलनाथ नै त्यसका उदाहरण छन् ।
नेता आउँछन् । ती मन्चमै गएर बस्नुपर्ने । माला खादा लगाउनै पर्ने । ति अरुभन्दा फरक हुनैपर्ने । गाडी चढ्नै पर्ने । फिरिका गाडी । देश विदेश सयर गर्नैपर्ने । दिनदिनै दारी खौरनै पर्ने । कोट लगाउनै पर्ने । दिनदिनै कपडा फेर्नैपर्ने । खै ? विदेशतिर साइकलमा हिडेका देखिन्छन् । सामान्य अस्पतालमा उपचार गराएको देखिन्छ । सामान्य होटलमा खाना खाएको देखिन्छ । त्यही दिल्लीमा केजरीवालले एउटा हाफ सर्टमा गर्मी बिताएको र एउटा स्वीटर अनि मफलरमा जाडो बिताएको मैले दिल्ली बस्दा देखें । हर्क र बालेनले भने सामान्य पोशाक नै लगाएका छन् आजसम्म । मातेनन् भने यिनलाई शंकाको सुविधा छ मेरो । हाम्रोमा जनता र नेताको यो दुरी भ्रष्टाचारको नमूना हो । यो प्रजातन्त्र हुँदै होइन । सामन्तवाद नै हो । नेताको अनुहारमा चप्पल लगाएर पढाउन जाने म भेटिन्न । डे«स लगाएर पढ्न आउने मेरा विद्यार्थी भेटिन्नन् । दिनभरी मेलापात गरेर तिनलाई पढ्न पठाउने अभिभावक भेटिन्नन् । युवा भेटिन्न । कोही पनि भेटिन्न । यिनीहरुले गाली गरेका ती भूतपूर्व राजाहरु समेत भेटिदैनन् ।
तर स्वतन्त्रबाट आएका ती धराने गज्जब लाग्छन् मलाई । सुरुसुरुमा बालेन पनि गज्जब लाग्थे । तर बालेन बिस्तारै हराउँदैछन् । तर ती धराने विवादमा आए्का पनि छन् । उनी आमजनता जस्तै छन् । सन्कन पनि बेर लाउँदैन । मलाई सन्काहा मनपर्छ । सामान्य मोटरसाइकल चढ्छन् रे । आम जनतासँग भेटिन्छन् रे । खाँदा र माला लगाउँदैनन् रे । भोजभत्तेरमा नबोलाएकै जाति भन्छन् रे । कुटोकोदालो लिएर पानीका मुहान, धारा, पाइप जडान गर्न हिड्छन् रे । आफै पसिना बगाउँछन् रे । आम जनतालाई श्रमदानका लागि आह्वान गर्छन् रे । सामान्य सर्ट पाइन्टमा भेटिन्छन् । कहिले टोपी लगाउँछन् रे कहिले नलगाइकन हिडेका हुन्छन् रे ।
धरानेले गरेको नयाँ त होइन नि ! हामी परनिर्भर र आशे बन्न थालेको धेरै भएको छैन । हामी त श्रमदान गर्ने पुर्खाका सन्तति हौँ । बाटो, पुल, पुलेसा, मन्दिर, शिक्षालय श्रमदानबाटै बनाएका हौँ । भैलौ खेलेर बनाएका हौँ । हाम्रो गाउँमा दशैंको घटस्थापनाको भोलिपल्ट बाटो खन्ने वार्षिक नियम थियो । कसैले भन्नुपर्दैनथ्यो । तर आजकाल त्यो हरायो । अरुले देला र बाटो खनौंला भन्ने हाम्रो चरित्र थिएन । आजकाल त्यही भयो । धरानेले परम्परालाई पुर्नजीवित गरिरहेका छन् । अरुको सहयोग चाहिदैन भनेको होइन । जनतालाई आफूले सक्ने पनि नगर्ने अल्छी गराएकोमा दुखेसो हो, नेताप्रति । धरानेको मूल्याङ्कन गर्ने बेला भएको छैन । तर यी खाली खुट्टा आज जसरी पानीको मुहानमा टेकेका छन्, भीरमा पाइप तानेका छन्, त्यसैगरी देशभरिका स्थानीय निकायका नेतागणहरुले माटोमा टेकुन् त के हुँदो रहेछ ? गरेजस्तो देखाए भोट त पाइएला तर सन्तुष्टि पाइने छैन । ती धरानेले परनिर्भर संस्कृतिबाट आत्मनिर्भर बनाउन पो खोजेका हुन् कि ! उनले जस्तै गर्ने हो भने कुरुप राजनीति र अर्थनीति दुवैको उद्धार पो हुने थियो कि । जय नेपाल !