बागलुङमा ट्राफिक व्यवस्थापनमा सरकारी कार्यालयहरुको अटेरी

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजार स्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ । पार्कीङको सुविधा प्रर्याप्त भएपनि कार्यालय समयमा पार्कीङ ढोका खुल्दैन । कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीहरुलाई मात्रै पार्कीङ सेवा दिदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्कीङ सुविधा दिदैन ।

नेपाल टेलिकममा गएका सेवाग्राहीहरुले बाहिर सडकमै मोटरसाईकल तथा कारहरु पार्कीङ गरेर सेवा लिदा ट्राफिक व्यवस्थापनमा भने समस्या हुँने गरेको छ । नेपाल टेलिकम मात्रै हैन जिल्ला प्रशासन कार्यालयले समेत सेवाग्राहीलाई पार्कीङ सुविधा दिदैन । जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्कीङका लागि भएपनि सुरक्षा निकाय देखि भिआइपी सवारीहरुका लागि मात्रै पार्कीङ उपलव्ध हुन्छ । प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधानहरु सडकमै हुँने गरेका छन् ।

यी दुई सरकारी कार्यालय त उदारणमात्रै हुन् । प्रयाप्त जग्गा भएर समेत सेवाग्राहीलाई पार्कीङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको पार्कीङ ढोका समयमै खुल्दैनन् । विद्युत कार्यालयको भित्र पार्कीङ स्थलमा त झनै व्याटमिन्टल खेलका लागि प्रयोग हुदै आएको छ ।

सेवाग्राहीलाई पार्कीङका लागि स्वास्थ्य कार्यालय बागलुङ र आन्तरिक राजश्व कार्यालय बागलुङ लगायतका केही थोरै कार्यालयले मात्रै पार्कीङ सुविधा दिदै आएका छन् । साँघुरो बागलुङ बजारमा पार्कीङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले पार्कीङ सुविधा भएका कार्यालयहरुलाई पार्कीङ सेवा दिन आग्रह गरेको भएपनि सरकारी कार्यालयले अटेरी गरिरहेका छन् । बागलुङ नगरपालिकाले शुरुवाती चरणमा भएका सरकारी कार्यालयले पार्कीङ सुविधा दिने र अन्य बैंक तथा सिनेमाहरुहरुले समेत विस्तारै पार्कीङको व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले दुई महिना अघि अनुरोध गरेको बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन् । “पार्कीङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ, जसमध्ये सरकारी कार्यालयले भएको जग्गामा पार्कीङ सुविधा दिन आग्रह गर्ने, पार्कीङ स्थलको खोजी गर्ने तथा नीजि क्षेत्रसंग सहकार्य गरेर भएपनि पार्कीङ सेवा दिने भन्ने हो” उपप्रमुख खड्काले भन्नुभयो “हामी अहिले अध्ययनमै छौ, तर सरकारी कार्यालयका सेवाग्राहीलाई पार्कीङ सेवा नदिदा सडकमै सवारी पार्कीङ गर्दा समस्या आएको गुनासो छ ।”

भएको जग्गामा पार्कीङ सुविधा नदिएको विषयमा विद्युत कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्ले कार्यालयमा जग्गा अभाव भएको बताउनुभयो । उहाँले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउदै विद्युत कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्कीङ सेवा नदिएको बताउनुभयो । तर कार्यालयमा व्याटमिन्टल कोट समेत बनाइएको छ ।

बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगहरुले सकेसम्म पार्कीङ सेवा दिनेगरी नीति बनाउन थालेको छ । खासगरी सेवाग्राहीको भीडभाड हुँने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयहरुले भएको पार्कीङ सुविधा समेत सेवाग्राहीलाई नदिदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

अहिले एकतर्फी पार्कीङले बागलुङ बजारको ट्राफिक जाम केही हद सम्म नियन्त्रणमा आएपनि दीर्घकालिन व्यवस्थापन भने हुँन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्कीङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुलाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । केसीले सबैको समन्वयमा मात्रै सकज ट्राफिक व्यवस्थापन हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *