‘एमालेका कमिटिहरु भद्दा भए, चुस्त बनाऔँ’

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका कमिटिहरु ठुला र भद्दा भएकोले व्यवस्थित हुन नसकेको भन्दै चुस्त कमिटि निर्माण गर्न गण्डकीका नेताहरुले सुझाव दिएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिले तनहुँको बन्दीपुरमा आयोजना गरेको २ दिने संगठनात्मक कार्यशालाका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यशालामा ११ वटा जिल्लाका ११ वटा र एउटा जनसंगठनको गरी १२ वटा समुहले छलफल गरी सुझाव पेश गरेका थिए । सुझाव पेश गर्ने अधिकांश समुहले पार्टीका कमिटिहरु ठुला र भद्दा भएको भन्दै चुस्त र व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका थिए ।

पार्टीको संगठनमा देखिएका समस्याको पहिचान र समाधानका उपाय खोज्न आयोजना गरिएको गोष्ठीमा सुझाव पेश गर्ने समुहहरुले कमिटि प्रणाली व्यवस्थित हुन नसकेका कारण पार्टीका गतिविधि जनताका बीचमा जान नसकेको निष्कर्ष सुनाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पछिको ३ वर्ष संगठनका कुनै पनि काम नभएको एमालेको निष्कर्ष छ ।

कमिटिका सदस्यहरु राजनीतिक, वैचारिक र संगठनात्मक रुपमा गुणस्तरीय नभएको, योग्यता, क्षमता भन्दा पनि नेताहरुको पछि लागेर माथिल्लो कमिटिका पद खोज्ने प्रवृति बढेको, परिभाषित जिम्मेवारी पुरा नगर्ने, गोपनियता कायम गर्न नसक्ने जस्ता समस्या देखिएको सुझाव आएको गोष्ठीकाएक सहभागीले बताए ।

पार्टीका नेताहरु आत्मकेन्द्रीत र प्रसंशामुखी भएको, टिकट वितरणलाई प्रभावकारी बनाउन नसकेको, जनताको बीचमा लोकप्रिय भन्दा पनि नेताको बीचमा लोकप्रियलाई च्याप्ने गरिएको भन्दै यस्ता विषयमा सुधार गर्नु पर्ने सहभागीहरुले सुझावमा उल्लेख गरेका उनले बताए ।

नेता कार्यकर्ताको जीवन शैली भद्दा र विलासी बन्दै गएको, वर्गीय पक्षधरता, अध्ययन र प्रशिक्षणको अभाव देखिएको, अवैध आर्जनमा आवद्ध हुने प्रवृति बढेको, अधिवेशनको समयमा मात्रै सदस्यता दिने र नविकरण हुने गरेको, नविकरणमा ठेकेदारी प्रणाली बढ्दै गएको जस्ता समस्या सहभागीहरुले देखाएका छन् ।

पार्टीका सम्पूर्ण कमिटिहरुलाई प्रभावकारी रुपमा परिचालनका लागि नियमित प्रशिक्षणको व्यवस्था गर्नु पर्ने, पार्टीका नेता कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल हेरेर धारणा बनाउने नभई पार्टीका आधिकारीक दस्तावेजहरुको अध्ययनमा लगाउनु पर्ने लगायतका सुधारका विषय गोष्ठीमा उठेका छन् ।

समस्याको पहिचानसंगै समाधानका उपायहरुको खोजी गरी संगठनलाई चुस्त, व्यवस्थित र प्रभावकारी रुपमा परिचालनका लागि एमाले केन्द्रीय संगठन विभागले ७ वटै प्रदेशमा सांगठनिक कार्यशालाको आयोजना गरेको छ ।

७ वटै प्रदेशबाट सुझाव संकलन गरेपछि संगठन विभागले संगठन परिचालन योजना बनाउने र आगामी प्रदेश र संघीय निर्वाचनलाई केन्द्रीत गरी पार्टीका सम्पूर्ण संगठनहरुलाई परिचालन गरिने एमालेले जनाएको छ । गण्डकी प्रदेश स्तरीय कार्यशालामा पार्टीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले गण्डकी प्रदेशको संगठनात्मक अवस्था, समस्या र समाधान तथा पार्टी स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दुवै कार्यपत्रमाथि १२ वटा समुहमा छलफल गरी समुहका तर्फबाट ११ वटा जिल्लाका अध्यक्षहरु र जनसंगठनका तर्फबाट अनेरास्ववियू गण्डकीका अध्यक्ष प्रकाश पौडेलले सुझाव प्रस्तुत गर्नु भएको थियो । समुहगत छलफलको निष्कर्षसंगै पार्टीका नेताहरुले समस्याको समाधानका उपाय सहित आगामी निर्वाचन केन्द्रीत अभियान सञ्चालन लगायतका विषयमा धारणा राख्नु भएको थियो ।

पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्याथी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी कमिटि सदस्य किरण गुरुङ, स्थायी कमिटि सदस्य तथा संगठन विभागका सदस्यहरु कर्ण बहादुर थापा र भानुभक्त ढकाल लगायतले समुह छलफलका निष्कर्षहरुमाथि थप सुझाव दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *