करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

आदर्श अनलाइन, मुस्ताङ
मौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ दिनपछि जहाज अवतरण गरेको छ।

विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार गत असार सात गते अन्तिमपटक जहाजको उडान भएको विमानस्थलमा सोमबार १७ जना यात्रु बोकेको समिट एयरको जहाज अवतरण गरेको छ।

मौसममा सुधार आएसँगै सोमबार बिहान सवा नौ बजे समिट एयरको जहाजमार्फत ११ जना विदेशी र ६ जना नेपाली जोमसोम विमानस्थलमा अवतरण गरेका हुन्।

अहिलेसम्मको अवस्थामा मौसममा राम्रो सुधार आएको र अब मुस्ताङ घुम्ने सिजन पनि सुरु भएका कारण दैनिक उडानको सङ्ख्याहरू बढ्न सक्ने शर्मा बताउँछन्।

‘विगतमा एक दिनमा सबैभन्दा बढी १७ ओटासम्म उडानहरु भरिएको थियो। अब पर्यटकहरूका लागि मुस्ताङमा सिजन सुरु भएको छ। मौसममा समस्या नआए उडान सङ्ख्या बढ्दै जान सक्छ,’ शर्माले भने, ‘आजको मौसम अनुकूल रहेका कारण बिहान जहाज आउन सक्यो। तर, मौसममा थोरै पनि समस्या आयो भने उडानहरू रोकिन्छन्।’

गत जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको फेद सानसुरे भीरमा तारा एयरको ९ एन एईटी जहाज दुर्घटनामा परेको थियो। चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको दुर्घटनाले देशलाई नै शोकमा डुबायो।

सोही दुर्घटनाका कारण मौसम सफा भएको बेलामा पनि पर्यटकहरु जहाजमार्फत जान खासै तम्सिएका थिएनन्। दुर्घटनाको घाउ आलो रहेको बेलामा हरेक दिन जसो मौसममा पनि खराबी रहेपछि ५४ दिनसम्म विमानस्थलमा जहाज अवतरण गरेका थिएनन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *