मध्यपहाडी, बागलुङ र दुर्दशा

मध्यपहाडी लोकमार्ग जो जसले परिकल्पना गरे । ती निश्चय पनि नेपालको समृद्धिको आधारकर्ता अर्थात अविस्मरणीय पात्र हुन् । कारण, मध्यपहाडी लोकमार्गले दुर्गम जिल्ला र गाउँहरुलाई पनि सुगम बनाइदियो । सुगम मात्र बनाइ दिएन, अवसर र सम्भावनाको गाउँ शहरको रुपमा स्थापित गरिदिएको छ । यसर्थमा मध्यपहाडी लोकमार्ग नेपालको विकास र समृद्धिका लागि एउटा कोशेढुंगा बन्ने निश्चित छ । तर, बिभिन्न खण्डमा यसको काममा बेवास्ता, ढिलाई, अवरोध र लापरवाही देखिएको छ । त्यसले नागरिकमा निराशा मात्र होइन, आक्रोश पनि बढाएको छ । यसको उदाहरणको रुपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ(घोडाबाँधे खण्डलाई लिन सकिन्छ । जो अबको केही दिनमा सम्पन्न हुनुपर्ने थियो । तर निर्धारित मिति भन्दा पर पनि हुन्छ की हुँदैन भन्ने संशय सर्वत्र छ ।

मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना मध्येको एक हो । र पनि यसको चौतर्फी पहल र दबाब हुँदा पनि प्रगति सन्तोषजनक छैन । करिब तीन महिना ठप्प भएको लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधेको दुबै खण्डमा पुनः काम शुरु भएको छ । सदरमुकामको सम्मुखमा सबैको नजर, दैनिक हजारौं यात्रु यात्रा गर्ने लोकमार्गको दुर्दशा त यस्तो छ भने अलि कम दृष्टि, सामुहिक चासो नहुने योजना आयोजनाको हालत कति उदेक लाग्दो होला ? हामी सहजै अनुमान गर्न सक्छौ । जे होस् दशैं, छठ लगायतका चाडपर्व पछि गुमनाम जस्तो भएको ठेकेदार कम्पनी अहिले सम्पर्कमा छ । लोकमार्ग छेउका नालीहरुको काममा केही गति देखिन थालेको छ । बागलुङ बजार(अक्षेते खण्ड र अक्षेते–घोडाबाँधे सडक खण्डमा कामदार खटिएको देखिएका छन् । क्रसरका सामग्रीहरु देखिदा अब त लोकमार्गले गति लिन्छ की भन्ने आशा पलाएको छ । यद्यपी, अझै पनि बिश्वस्त हुने आधार तयार भइसकेको छैन । जिल्लाबासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको बिशेष पहल पछि लोकमार्गको कामले गति लिएको छ । यो सकरात्मक कुरा हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ बजारको उपल्लाचौरदेखि बिहुँको घोडाबाधे सम्मको २५ किलोमिटर सडकको काम अघि बढ्नुमा अहिलेको निर्माण सम्बन्धि नयाँ ऐन, नियमले पनि भुमिका खेलेका छन् । कालो सूचीको बिषयले ठेकेदार पनि केही तरंगित अवश्य भएका छन् । यद्यपी, यस बिषयमा शुरुमा कडाइका साथ देखिएको सरकार फेरी क्रमशः लचिलो बन्दै गएको आभाष छ । जसले अनेक पहल, दबाब र बाध्यताका बीच कार्यक्षेत्रमा आएका ठेकेदारहरु फेरी बिभिन्न बाहना बनाएर आयोजना अलपत्र पारेर गुमनाम हुने खतरा बढेको छ । अहिले काम जे भइरहेको छ, त्यसलाई नजिकबाट नियालौ । कामको निरन्तरता र गुणस्तरियतामा ख्याल गरौं, गर्न लगाऔं । यस क्रममा स्थानीय स्तरमा कुनै बाधा, अवरोधहरु प्रत्यक्ष परोक्ष छन् भने त्यसको समाधान सहित लोकमार्ग निर्माणमैत्री बातावरण तयार गरौं । अबको आर्थिक बर्षको अन्त्य भन्दा पर लोकमार्ग आयोजनाको यस खण्डको कामलाई पछि कदापी लैजान नदिऔं । यसका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाऔं । झकझकाऔ, खबरदारी गरौं । यो तपाई हामी सबैको चासो, चिन्ता, सरोकारको बिषय मात्र होइन, जिम्मेवारी र दायित्व पनि हो ।
-जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *