स्वतन्त्र जनप्रतिनिधि माथि दलिय घेराबन्दी

सम्पादकीय
स्थानीय तह निर्वाचनमा दुई स्वतन्त्र उम्मेदवारीको जितले पुरै देश तरंगित भयो । धेरैले सोच्दै नसोचेको अनपेक्षित जित हासिल गरे काठमाडौं महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङले । अरु कैयन स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन्, तर उनीहरु कि त टिकट नपाएर असन्तुष्टि पोख्दै बागी उम्मेदवारी दिएका स्वतन्त्र छन् कि त राजनीतिक दलहरुको प्रत्यक्ष अप्रत्यक्ष समर्थनमा जित हासिल गरेका छन् । कति स्वतन्त्र उम्मेदवारीबाट जितेकाहरु त राजनीतिक दलमा समाहित भइसकेका छन् । चुनावको घोषणा भए यतादेखि हाल सम्म पनि असली स्वतन्त्र जनप्रतिनिधिको रुपमा उनै शाह र साम्पाङ देखिएका छन् । जो तत्कालीन समयको जितले मात्र होइन, अहिले गर्न खोजिरहेको कर्मले समेत चौतर्फी चर्चामा छन् ।

बालेनले देशकै राजधानी रहेको काठमाडौंमा जित्नु एक अभूतपूर्व किर्तिमानी इतिहास हो । यद्यपि, यो इतिहासको क्रमभंगमा कैयन चूनौती पनि सँगै लिएर आएका छन् । दलिय व्यवस्थामा एक स्वतन्त्र उम्मेदवारले जित्नु र त्यसपछिको भूमिका के कस्तो होला र हुनेछ भन्नेमा आम चासो छ । काठमाडौंमा बालेनलाई अहिले फोहोर व्यवस्थापनको सबै भन्दा ठूलो चूनौती खडा छ । तत्कालीन र दीर्घकालीन व्यवस्थापनको पहल र प्रयास त अनवरत जारी राखेका छन् नै । तर, राजनीतिक दल, तीनका नेता, कार्यकर्ताहरुको दोहोरो भूमिकाका कारण फोहोर भित्रको राजनीति पनि छताछुल्ल भइसकेको छ । फोहोर व्यवस्थापनमा गएको गाडीमा कहिले आगजनी, कहिले बाख्रा मरेर सडक अवरोध, कहिले अघोषित कारण गुलेली प्रहार त भइरहेको थियो नै, यसमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको स्थानीय कमिटीका प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्ती नै आयो । जसले फोहोर भित्रको राजनीति कुन स्तर सम्म छ भन्ने प्रष्ट भयो । जसबारे मेयर बालेन शाहले सत्तारुढ र प्रतिपक्षी दलहरूकै स्थानीय नेताहरूका कारण फोहोर व्यवस्थापन असहज देखिएको बताइरहेका छन् । यसका पछाडिको कारण के हो ? राज्यले पाँच अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ? काठमाडौं मात्र होइन, धरानमा स्वतन्त्र रुपमा मेयर बनेका हर्कराज प्रति पनि दलहरु उस्तै असहिष्णु बनिरहेका छन् । यस उपमहानगरमा कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेले सामान्य विषयमा समेत विवाद र उल्झन खडा गर्ने कोशिस गरिरहेको छ ।

अहिले स्वतन्त्र रुपमा चुनावी मैदानबाट ऐतिहासिक अभिमत प्राप्त गरेर मेयर बनेका बालेन र हर्कराज प्रति राजनीतिक दलहरु जे जति फोहोरी खेल खेल्छन्, असहिष्णु बन्छन्, हारलाई पाँच वर्ष सम्म सहज र स्वभाविक रुपमा लिँदैनन्, तब सम्म उनीहरुले गर्ने सकिर्ण फोहोरी राजनीतिक गतिविधि स्वयंम्का लागि आत्मघाती बन्न सक्छ । स्वतन्त्रबाट मेयर जितेकाहरु असल नियत बोकेर जनताको सेवामा आएका छन्, उनीहरुलाई जनताले अभूतपूर्व अभिमत दिएका छन् । र अहिले प्रारम्भिक संकेत हेर्दा सकारात्मक कोशिसमा उनीहरु छन् । जे गरिरहेका छन्, त्यो आम जनताको अपेक्षालाई सम्बोधन गर्ने तर्फ इमान्दार प्रयास सहित केन्द्रित छ । उनीहरुले गरेको सकारात्मक प्रयासमा दलहरुले साथ समर्थन दिएर देशको विकास र समृद्धिलाई गति दिनु अपरिहार्य छ । न कि बिरोधका लागि बिरोध गरेर अवरोध सिर्जना गर्ने बेथितिले ग्रस्त राजनीतिबारे जनता अब सचेत भइसकेका छन् । जसको हिसाब किताब यथोचित समयमा जनताले निश्चित गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *