बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जना नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङ
बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बाबा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिबालाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए । स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए । दुबै जना मदिराले लठ्एिका थिए । उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए ।

अपहरण आरोपमा प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए । बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् । उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन् । स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन् ।

प्रहरीले ति दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयहरुको ठूलो संख्या त्यहाँ उपस्थित भएका थिए । उनीहरुले दुबै जनालाई कडा कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा पुगेकी एक महिलालाई त्यहाँका अर्का एक मदिरा सेवन गरेका जवानले अभद्र व्यवहार गरेका थिए । उनले महिलालाई अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एक छिन् तनाब सिर्जना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *