एक आदर्श र निष्ठा अस्ताएको दिन

सम्पादकीय
नेपाली राजनीति प्रदुषित छ । राजनीतिभन्दा साथ आजको समय र व्यवस्थामा पनि नाक खुम्च्याउनेहरु प्रशस्त छन् । अझ युवा पुस्ता त राजनीतिलाई घृणित खेल ठान्छन् र यसबाट टाढै रहने या बेवास्ता गर्छन् । तर, बिकृत राजनीति भित्र पनि केही यस्ता पात्र थिए र छन्, जसको यथोचित पहिचान, सम्मान हुन सकिरहेको छैन । यद्यपि, उनीहरु कठिन र जटिल परिस्थितिमा पनि आफ्नो सुन्दर आदर्श, इमान र निष्ठाको राजनीतिबाट कत्ति पनि बिचलित भएका छैनन् । यसकै एक उदाहरणीय पात्र थिए प्रदिप गिरी । नेपाली कांग्रेसका पाका पुराना, बौद्धिक नेताको छवि बनाएका उनको इतर पार्टीमा पनि उत्तिकै शुभेच्छुक र प्रशंसक थिए । उनी जीवनको अनेक उतार चढाव बेहोर्दै राजनीति मार्फत देश र जनताको पक्षमा लाग्दा लाग्दै शनिवार राति सदाका लागि अस्ताएका छन् ।

गिरी तीनै पात्र हुन्, जसले पार्टी भित्रको लोकतन्त्रका लागि आवाज बुलन्दित मात्र होइन, पार्टी इतरको कम्युनिष्टहरुलाई समेत प्रशिक्षित गर्ने, राष्ट्र र राष्ट्रियताका लागि इमान्दार आवाज उठाए । र त निष्ठा, इमान्दारिता,सरलता, नेपाली राजनीतिका वैचारिक एवम् सैद्धान्तिक खम्बा, समाजवादी चिन्तकका रुपमा सम्मान गर्ने जमात ठुलो छ । र पछि सम्म पनि बौद्धिक, विद्रोही र सिर्जनशील नेताका रुपमा उनलाई ‘मिस’ गरिरहनेछ । नेपाली राजनीति प्रदुषित बन्दा बन्दै पनि यसलाई कञ्चन बनाउन निरन्तर प्रयासरत रहेका गिरीलाई देश चिन्तन र विमर्शको नेपाली समाजले सम्झना गरिरहनेछ । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेर बौद्धिक नेताको छवि बनाएका उनलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान र श्रद्धा व्यक्त गर्नुले उनको उचाई र गरिमा झल्काउँछ । नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुन् । नेपाली समाज पछाडि पर्नुको कारण मात्र होइन, नेपाली समाजमै समाधान खोज्ने एक असल चिन्तकको रुपमा उनले जे जे पहल प्रयत्न गरेका छन्, बौद्धिक बिमर्शहरु मार्फत आम रुपमा बताएका छन्, त्यो नेपाल र नेपालीका लागि एक मार्गदर्शक, सन्दर्भ सामग्रीको रुपमा रहिरहनेछ ।

हुन त नेपाली समाजमा जीवनभर आलोचना र मृत्यु पछिको प्रंशसा गर्ने आशक्ति बढी देखिन्छ । अहिले पनि गिरीको निधन भए पछि भावनात्मक रुपमा कतिपय कुरा आइरहेका होलान् । तर, नेपाल र नेपालीका लागि गिरीले जे जस्तो आदर्श र निष्ठाका साथ बाँच्ने र देश बनाउन भूमिका खेले । त्यो हाम्रा औसत नेताहरु भन्दा कति हो कति सम्मान र श्रद्धाका साथ माथि राखिरहेका नेता गिरी हुन् । उनले संसदमा अन्तिम पटक दिएको भाषणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै जनताले जिन्दावाद भन्ने गरी काम गर्न आग्रह गरेका थिए । चाहे संसदमा होस् या अन्य फोरममा । उनले राखेका विषयहरु पठनीय, ग्रहणीय, संग्रहणीय थियो र छ । अहिले उनको निधनबाट सिंगो देश स्तब्ध छ । यस दुखद घडिमा श्रद्धाञ्जली दिनेको होड छ । उनी प्रति सच्चा श्रद्धाञ्जली त्यही हुनेछ कि उनले अपनाएको आदर्श, निष्ठा, इमान र बौद्धिकताको बाटोमा हिँड्न पैताला नधर्मराओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *