पर्वत र म्याग्दीका सहकारीकर्मीहरुको माग : ‘सहकारी बैंकको शाखा चाहियो’

आदर्श अनलाइन, बागलुङ
पर्वत र म्याग्दीका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको शाखा कुश्मा र बेनीमा सञ्चालन गर्न माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आइतवार कुश्मा र बेनीमा आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रमका सहभागीहरुले सहकारीहरुको रकम सहकारी बैंकमा परिचालन गरी सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि सहकारी बैंकको शाखा सञ्चालन गर्न आवश्यक रहेको बताएका हुन् ।

म्याग्दी र पर्वत गठन भएका सहकारी म्यानेजर्स क्लवका तर्फबाट बैकलाई ध्यानाकर्षण पत्र बुझाउदै बैंकको शाखा सञ्चालनका लागि अनुरोध गरेका थिए । सिएमसी पर्वतका अध्यक्ष सुनिता पौडेल र सिएमसी म्याग्दीका अध्यक्ष प्रेमलाल कंडेल (सदन) ले सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।

पर्वतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सहकारीहरुलाई संस्थागत रुपमा सक्षम बनाउन र वित्तीय रुपमा सुशासनयुक्त बनाउन सहकारी बैंक र नगरपालिकाबीच समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा उहाँले सहकारी बैंकको शाखा कुश्मामा सञ्चालनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै शाखा सञ्चालनका लागि आग्रह गर्नु भएको थियो । पर्वतको कुश्मामा सहकारी बैंकको शाखा सञ्चालन गर्नका लागि जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेषराज रेग्मीको संयोजकत्वमा बैंक स्थापनाका लागि जिल्ला स्तरीय समन्वय उपसमिति गठन गरिएको छ ।

पर्वतमा आयोजित कार्यक्रम बैंकका अध्यक्ष केवी उप्रेतीको अध्यक्षता, शाखा प्रमुख युवराज त्रिपाठीको स्वागत र सिएमसी पर्वतका अध्यक्ष सुनिता पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै म्याग्दीमा सहकारी बैंकको शाखा सञ्चालनका लागि आवश्यक संयोजनका लागि बेनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ९ सदस्यीय शाखा सञ्चालनका लागि समन्वय उपसमिति गठन गरिएको छ ।

बेनीमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, कोषाध्यक्ष सुरेन्द्र शमा, संघका पूर्व सञ्चालक अमृतदेवी बानिया, मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाल बहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिएमसी म्याग्दीका अध्यक्ष प्रेमलाल कंडेल (सदन) स्वागत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *