बरेङमा विद्यार्थी बेहोस हुन थालेपछि, विद्यालय बन्द

आदर्श अनलाइन, बागलुङ
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर स्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार ५ जना र शुक्रबार २ जना छात्राहरु एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो ।

टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारीने र बेहोस हुने गरेको पौडेलको भनाई छ । बेहोस हुनेहरुमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्राहरु रहेको पौडेलले बताउनुभयो ।

गत जेठ महिनामा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यस यता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । “गत जेठ महिनामा पनि विद्यालयमा दुई जना विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन” प्रअ पौडेलले भन्नुभयो “अहिले फेरि समस्या देखियो ।”

सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थीहरु त्रसित बनेका छन् । धेरै विद्यार्थीहरुमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नु पर्ने स्थानीयको भनाई छ । उनीहरुले बिहीबारनै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् ।

बिहिबार एकै दिन ५ जना छात्राहरु बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउनुहुन्छ । “हिँजो पढाउँदै गर्दै पाँच जना विद्यार्थी बेहोस भए, आज पनि दुई जना विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई जना शिक्षिकासहित उनीहरु स्वास्थ्यचौकी पठाका छौँ,” उहाँले भन्नुभयो “यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।”

बिहिबार बिरामी परेका छात्राहरुको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताउनुभयो । अध्ययन गर्न विद्यालय गएका बालिकाहरु एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ ।

विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि संचालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीहरुमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउनुहुन्छ ।

“दिनदिनै विद्यार्थीहरु बिरामी पर्ने थाले, तिज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकलले निर्णय गरेको छ,” उहाँले भन्नुभयो “१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग पराशर्म लिएर थप निर्णय गर्ने छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *