‘फेक डकुमेन्ट’ बुझाउने कर्मचारीमा छनोट

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) को लागि ‘फेक डकुमेन्ट’ बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रुपमा छनोटमा गरेको छ । चालु आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाले स्वामित्व लिएको सामी परियोजनाको लागि कर्मचारी छनोट गर्ने क्रममा पालिकाले फेक डकुमेन्ट बनाएको आरोप लागेकी बागलुङकी निर्मला कुमारी शर्मा गौतमलाई छनोट गरेको छ ।

कर्मचारी छनोट गर्ने क्रममा फेक डकुमेन्ट बनाएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसको कुनै फैसला पनि नभएको व्यक्तिलाई छनोट गरिएको रहस्य खुलेको छ । आप्रवासी श्रोतकेन्द्र परामर्शकर्तामा छनोट भएकी व्यापारी निर्मला कुमारी शर्मा गौतमले सिवाईसीमा काम नगरे पनि नक्कली कागज बनाई काम गरेको अनुभव पेश गरेको पाइएको छ ।

कर्मचारी छनोटको नतिजा गत भदौ ९ गते सार्वजनिक गरिएको थियो । उनको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरामा ‘बागलुङ एनजिओ सिवाईसीले निर्मला गौतम भन्ने फेन्सी व्यापारिलाई सामाजिक परिचालनको अनुभव प्रमाणित गरि नक्कली सामाजिक परिचालनको काम बारम्बार गर्ने गरेको, त्यही अनुभवलाई बिवाईसीले गुरु मानेर योग्य मानिस फालेर सामी प्रोजेक्टमा जागिरमा छनोट गरिएको’ भन्दै उजुरी परेको थियो ।

उजुरीमा जिल्ला प्रशासन कार्यालय, बागलुङमा अधिकृत तहमा कार्यरत उनका श्रीमान तेजप्रसाद गौतमले उनको उमेर घटाएर नागरिकता निकालिदिएको समेत उल्लेख गरिएको छ । तेजप्रसाद गौतमकै फोर्समा उनी छनोट भएको बुझिएको छ । गौतम पहिलो पटक छनोट भएको एक महिनामानै बागलुङ नगरपालिकाले परियोजनाको अपनत्व ल्याउँदा कर्मचारीको अपनत्व भने अस्वीकार गरि पुनःविज्ञापन खुलाईएको थियो ।

बागलुङ नगरपालिकाले अपनत्व लिएपछि कार्यक्रम सांयोजक १, सामाजिक परिचालन अधिकृत १, आप्रवासी श्रोत केन्द्र परामर्श कर्ता २, मनो सामाजिक परामर्शकर्ता १, बित्तीय साक्षरता कर्ता १, रिटनिस स्वयमसेवक ३ जना कर्मचारी छनोट गरेको छ । त्यहि क्रममा गौतम दोस्रो पटक छनोट भएकी थिईन् ।

कर्मचारी छनोटमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल विज्ञका रुपमा सहभागि भएका थिए । उनले अख्तियारमा उजुरी परेको भए पनि दोषि प्रमाणित नहुँदासम्म योग्य भए जागिर खान सक्ने बताए । उनले यस विषयमा छानबिन गर्नु पर्ने र दोषि प्रमाणि भए कार्वाही हुनु पर्ने बताए । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले फेक डकुमेन्ट बनाएको भन्ने कुरा आफुलाई थाहा नभएको बताए । उनले त्यसबारे हल्ला सुनेपनि आफुकहाँ उजुरी नपरेकाले ठ्याक्क थाहा नभएको बताए ।

नगरपालिकाले स्वामित्व ल्याउनु अघि (२०७५–२०७९असार मसान्तसम्म) बिवाईसी मार्फत परियोजना सञ्चालित थियो । परियोजनाको स्वामित्व ल्याउँदा जैमिनी नगरपालिका र गलकोट नगरपालिकाले पूरानै कर्मचारीलाई निरन्तरता दिएका थिए तर काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाले नयाँ कर्मचारी भर्ना गरेका छन् ।

बागलुङ नगरपालिकामा सामी परियोजनाको कर्मचारी छनोटमा ढिलाई हुँदा साउन १ गतेदेखि कार्यालय समेत बन्द भएको छ । कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी छनोटका क्रममा लिखित परीक्षामा ४०, अन्तरवार्ता, शैक्षिक योग्यता, अनुभव, भूगोल गरि ६० अङ्कभार राखिएको थियो । दुई वर्षदेखि काम गर्दै आएका कर्मचारी भने अहिले छनोट हुन सकेनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *