विकृतिको निशानामा संस्कृति

सम्पादकीय
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज सम्मुखमा छ । महिलाहरुमा तीजी पर्वको छुट्टै रौनक र उत्साह छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदना पोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सव हो तीज । उसो त तीजका अवसरमा एक महिना अगाडि देखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रमहरु देश, विदेशमा आयोजना गर्ने क्रम जारी छ । राष्ट्रिय स्तरका कलाकारहरु बोलाएर रंग रमाइलो गर्ने गराउने क्रम कोरोनाकाल पछि पुनः सुरु भएको छ । यस पर्वले महिलाहरुमा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ उर्जाको सञ्चार गराउने कार्य समेत गर्दछ ।

तीज पर्व हिन्दु संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि अहिले यसको दायरा केही फराकिलो बन्दै गएको छ । अन्य धर्म आत्मसाथ गर्नेहरु समेत तीजको रमाइलोमा मिसिएका छन् । आफ्ना पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर वत्र समेत बस्ने चलन छ । यसरी वत्र बसेमा मनोकांक्षा पुरा हुने विश्वास छ । यद्यपि, निराहर व्रत बस्नु स्वयंम् नारीको स्वास्थ्यका लागि राम्रो कुरा नभएको चिकित्सक बताउँछन् । तीज सांस्कृतिक रुपले जति महत्वपूर्ण पर्वको रुपमा स्थापित छ । पछिल्ला दिनमा देखिएका केही बिकृत सोच, पात्र र प्रवृत्तिहरुले तीज पर्व पनि बिकृत र बदनाम बन्न थालेको छ । अहिले दर खाने र खुवाउने नाममा दारु खाने र खर्चिला भड्किला गतिविधि गर्ने क्रम बढ्दो छ । कतिपय तीज गीत र अश्लिल रुपमा नाँचेका नाँचहरु यतिबेला टिकटक, फेसबुक, युट्युव लगायतमा भाइरल छ ।

संस्कृतिका नाममा हुने यी र यस्ता अवाञ्छित गतिविधिले चाडपर्वको महत्व माथि धावा बोल्छ । संस्कृतिलाई समय सापेक्ष संस्कृतिकै रुपमा मनाउनु पर्छ । तर, हामीकहाँ बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि मौलाउदै गएको छ । जसलाई जे मन लाग्यो, त्यही गर्ने या त्यसरी नै मनाउने हो भने त्यसले चाडपर्वको महत्व, मर्यादामा अवश्य हानी पुग्छ । दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गर्छ । चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्ति त जरुर निरुत्साहित गर्नुपर्छ । जीवन र समाजमा खुलेर बाँच्न नपाउँदा या नसक्दाका कारणबाट कैयन डरलाग्दा घटना भइरहेका छन् । तीज पर्वले महिलाहरुको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र होइन, वर्षभरको दुःख भुलेर नयाँ ढंगले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनु पर्छ । हाम्रा ऐतिहासिक महत्व बोकेका संस्कार संस्कृतिको भिन्न भिन्न महत्व छ । तर, यी र यस्ता पर्वहरु बिकृत प्रवृत्तिको निशानामा परिरहेका छन् । यसलाई हामी सबैको सचेत पहल र कदमबाट जोगाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *