एमाले बागलुङले भदौ १८ र १९ गते उमेदवार सिफारिस गर्ने


आदर्श अनलानइन, बागलुङ

नेकपा एमाले बागलुङले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवार छनोट गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समन्वय कमिटि गठन गरेको छ ।

जिल्ला सचिवालयको बुधवार सम्पन्न वैठकले २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन समन्वय कमिटि गठन गरेको हो ।

बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको संयोजकमा जिल्ला उपसचिव गणेश थापा तथा क्षेत्र नं. १ (क) प्रदेशसभाका लागि कार्यालय सचिव अमर बहादुर थापा र क्षेत्र नं. १

(ख) प्रदेशसभाका लागि सचिवालय सदस्य खगेन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन समन्वय कमिटि गठन गरिएको छ ।

यस्तै क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको संयोजकमा उपसचिव डम्बर श्रीस तथा क्षेत्र नं. २ (क) प्रदेशसभाका लागि सचिवालय सदस्य बिना थापा र क्षेत्र नंं २ (ख) प्रदेशसभाका लागि सचिवालय सदस्य रुद्र पौडेलको संयोजकत्वमा निर्वाचन समन्वय कमिटि गठन गरिएको छ ।

निर्वाचन समन्वय कमिटिमा सम्बन्धित भुगोलमा रहेका जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका पदाधिकारीहरु, वडा कमिटिका अध्यक्षहरु सदस्य रहने व्यवस्था एमालेको विधानमा रहेको छ
सम्बन्धित क्षेत्र भित्रका निर्वाचित वडा अध्यक्षहरु र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरु स्थायी आमन्त्रितका रुपमा रहने व्यवस्था विधानले गरेको छ ।

एमालेले बागलुङका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उमेदवार सिफारिस गर्न भदौ १८ गते प्रदेशसभा निर्वाचन समन्वय कमिटिको वैठक आव्हान गरेको छ । यस्तै २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उमेदवार सिफारिस गर्न भदौ १९ गते प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको वैठक आव्हान गरिएको जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रदेश र संघीय निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना महिलासहित ३ जनालाई सिफारिस गर्ने निर्णय एमाले केन्द्रीय कमिटि वैठकले गरेको थियो । भदौ २२ गतेसम्म उमेदवार सिफारिस गर्न केन्द्रले गरेको निर्देशन पछि जिल्ला जिल्लामा उमेदवार छनोटका लागि निर्वाचन क्षेत्र स्तरीय निर्वाचन समन्वय कमिटि गठन गर्ने र सिफारिसका लागि वैठक बस्न थालिएको छ ।

गत स्थानीय निर्वाचनमा १० पालिका मध्ये एउटा पालिकाको प्रमुख मात्र जितेको एमालेलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्न निक्कै मेहनत गर्नु पर्ने अवस्था देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम तालमेलबाट प्रतिनिधिसभातर्फ बागलुङ क्षेत्र नं. १ र प्रदेशसभा अन्तरगत क्षेत्र नंं १ (क) मा विजयी भएको एमालेलाई विगतको विरासत थाम्ने चुनौती छ ।

गठबन्धनका कारण केही सकस अवस्य छ, तर गठबन्धन सरकारले राष्ट्रियता, जनजिवीका लगायतका क्षेत्रमा गरेका अलोकप्रिय र जनविरोधी कामका कारण जनताले एमालेलाई माया गर्ने एमाले नेताहरुको दावी छ । जनता एमालेको सरकार भैदियोस भन्ने पक्षमा छन्, त्यसैले आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत ह्वात्तै बढ्ने एमाले नेताहरुले अपेक्षा गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *