जनता माध्यमिक विद्यालय धम्जाको ६४ औं वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
जनता माध्यमिक विद्यालय काठेखोला—३ धम्जाको ६४ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको बताएका छन् । ‘देशको लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि शिक्षा क्षेत्रले प्रगति गर्न जरुरी छ,’ उनले भने,‘त्यही कुरालाई मध्यनजर गरेर हामीले शिक्षा क्षेत्रमा बजेट र लगानी बढाएका छौं ।’

उनले शिक्षा क्षेत्रको विकासले पालिका समृद्ध हुन्छ भन्नेमा आफुहरु विश्वस्त रहेको बताए । ‘शिक्षाको लगानी आजको भोली प्रतिफल दिने विषय होईन भन्ने पनि हामलाई थाहा छ,’ अध्यक्ष थापाले भने,‘हामीलाई अर्को कुरा पनि के थाहा छ भने शिक्षाले प्रगति नगरी आर्थिक समृद्धि र विकासको अपेक्षा गर्न सकिन्न । सबै काम गर्नका लागि शिक्षाको जरुरी छ । ज्ञान हुनु आवश्यक छ ।’ अध्यक्ष थापाले विद्यालयका लागि आवश्यक विज्ञान प्रयोगशालाको समस्या समाधानका लागि गाउँपालिकाको तर्फबाट प्रतिवद्धता समेत जनाए । थापाले राज्यले लगानी गरे अनुसार सामुदायिक विद्यालयहरुको नतिजा आउन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

‘निजी र संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी निकै धेरै छ,’ उनले भने,‘तथापी अझै पनि नजिता निजी विद्यालयको राम्रो भनेर बालबालिका त्यता लैजाने चलन छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक विद्यार्थी सबैले साझा प्रयास गर्नुपर्छ ।’ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले शिक्षामा गरेको लगानीले प्रतिफल दिन समय लागे पनि सबै जिम्मेदवार ढंगले लाग्ने हो भने राम्रो नतिजा आउने बताए ।

कार्यक्रममा काठेखोला गाउँपालिका—३ का वडाध्यक्ष कुलबहादुर विक, काठेखोला गाउँपालिका कार्यपालिका सदस्य सुन्तली विक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार नगेन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रिमबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवगस्थापन समितिका अध्यक्ष सूर्यबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय प्रधानाध्यापक कुलबहादुर थापाले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शिक्षक रामकुमार भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय शिव चालिसे र दिल परियारले गरेका थिए । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता जनता माविका सन्देश विकको समुह प्रथम, जनता माविकै दुर्गा परियारको समुह द्वितीय र युनिक आधारभूत विद्यालय धम्जा तृतीय भएका छन् ।

निमावि तहको हाजिरी जवाफ प्रतियोगितामा जनता मावि धम्जाको श्रीकृष्ण हमालको समुह प्रथम, जनता माविकै रक्षक भण्डारीको समुह द्वितीय र युनिक आधारभूत विद्यालय तृतीय भएका छन् । हाजिरी जवाफ प्रतियोगिताका लागि प्रश्न निर्माण तथा सञ्चालन जनप्रेम मावि भुस्कातले गरेको थियो । माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा जनता मावि धम्जाकी प्रतिभा थापा प्रथम, जनता माविकै अनुशा विक द्वितीय र धारा मावि तंग्रामका प्रभा विक तृतीय भएका छन् ।

विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय भिमापोखरा प्रथम, लक्ष्मी मावि धम्जा द्वितीय र जनता मावि धम्जा तृतीय भएका थिए । अभिभावकबीचको रस्साकस्सी प्रतियोगितामा चित्र जिसीको समुह प्रथम र राजेश भण्डारीको समुह द्वितीय भए । माध्यमिक तहको भलिबल प्रतियोगितामा लक्ष्मी मावि प्रथम र जनता मावि द्वितीय भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *