‘टुरिष्ट उम्मेदवार’को राग र दासी मनोवृत्ति

सम्पादकीय
देश फेरि एकपटक निर्वाचनमय बन्न थालेको छ । गत वैशाखमा स्थानीय तह निर्वाचन सकिए यता केन्द्र र प्रदेश सभाको निर्वाचन घोषणा भएकाले राजनीतिक दल र अरु आंकाक्षीहरु चुनावी चटारोमा छन् । तत्कालीन दुई तिहाईको अभिमत प्राप्त केपी ओली नेतृत्वको सरकार अपदस्त गरेदेखिको सत्तारुढ गठबन्धन होस् या विपक्षी दल वा स्वतन्त्र । सबैमा निर्वाचनको हुटहुटी छ । अब पहिलो कुरा त पार्टी जितका लागि चुनावी गठबन्धन गर्नेमा दलहरु केन्द्रित छन्, दोस्रो कुरा पार्टी भित्र आफ्नो टिकट सुरक्षित कसरी गर्ने ध्याउन्नामा नेताहरु सक्रिय छन् । अहिलेदेखि नै अन्तर दलबिचको चुनावी प्रतिस्पर्धा भन्दा राजनीतिक दलहरु भित्रको आन्तरिक प्रतिस्पर्धामा अझ खतरानक परिदृश्य देखिन थालेका छन् । अर्को तर्फ प्रत्यक्ष परोक्ष असम्बन्धित केन्द्रीय नेताहरुको नाम उम्मेदवारको रुपमा सिफारिस गरेर नेतृत्वप्रतिको दासी मनोवृत्ति देखाउने लहड चलेको छ ।

यस्तो लहडमा बागलुङ जिल्ला पनि अछुतो रहेन । कास्कीबाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस नेता गगन थापाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेर पठाइयो । यही सिको गर्दै बागलुङ क्षेत्र नम्बर २ बाट कांग्रेस क्षत्रीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी नेतृ आरजु राणा देउवाको नाम उम्मेदवारको रुपमा सिफारिस ग¥यो । पार्टीका केन्द्रीय नेतृ भएकाले यसो गर्नु नै हुँदैन, हमेशा गलत भयो भन्न खोजेको कदापि होइन । यद्यपि, यसरी उम्मेदवार सिफारिस गर्दा गृह जिल्ला, निर्वाचन क्षेत्र, कर्मक्षेत्र या कुनै न कुनै सम्बन्ध या आवश्यकता जरुरी छ । यसमा अरु गहन तर्क भन्दा पनि केही सीमित जिल्ला नेताको नेतृत्व रिझाउने दाउ निहित देखिन्छ । अहिले अतिथि उम्मेदवारको रुपमा आरजुलाई सिफारिस गर्ने नेपाली कांग्रेस पार्टी र नेता कार्यकर्ता तीनै हुन्, जसले २०७४ सालको निर्वाचनमा बामगठबन्धनबाट माओवादी केन्द्रीय नेता देवेन्द्र पौडेल (हालका शिक्षा मन्त्री) उठ्दै गर्दा पर्यटक (टुरिष्ट) उम्मेदवार भनेर चर्को आलोचना गरेको थियो । जबकि उनको गृह जिल्ला बागलुङ नै हो । अहिले त पार्टी बाहेक जिल्लाको दुःख सुख, विकास, परिवर्तन, अभियानमा कुनै तात्विक साइनो सम्बन्ध नभएका आरजुलाई उम्मेदवार सिफारिस गरेर विगतको आफ्नो आरोप र आलोचना त केबल कुण्ठाको अभिव्यक्ति रहेछ भन्ने पुष्टि गरेको छ ।

यसरी उम्मेदवार सिफारिस गर्दाको आफ्ना तर्कहरु त कांग्रेसका तर्फबाट आउलान् । तर, गहन रुपमा बुझ्नुपर्ने जरुरी कुरा के छ भने यसले जिल्लामा वर्षौदेखि जनताको दुःख सुखमा साथ दिएर, आफ्नो व्यक्तिगत जीवन, भविष्य समाजसेवाकै खातिर समर्पित गरेका दर्जनौ जिल्ला नेता माथि न्याय होला त ? संघीय अभ्यासका बेला स्थानीयको भावना प्रतिनिधित्व भएन, जिल्ला सदरमुकाम र आसपासका बासिन्दाले समेत पश्चिम क्षेत्रका नागरिकको भावना र आवश्यकता नबुझेको दाबी सहित अखण्ड अभियान चलाउने नेताहरु एकाएक केन्द्रीय आगन्तुक नेतालाई उम्मेदवारका लागि हारगुहार गर्नुपर्ने किन ? अहिले अतिथि नेताको उम्मेदवारिका लागि सिफारिस गरिएको मात्र न हो, यो होला नहोला । तर, कांग्रेसको जिल्ला र क्षत्रीय नेतृत्वले निश्चित रुपमा जनता र आफ्ना कार्यकर्तालाई यसको चित्त बुझ्दो जवाफ दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *