जिल्ला सहकारी संघ म्याग्दीको १२ औं साधारणसभा सम्पन्न

सहकारीको साख बढाउन संघहरुको सक्रियता बढाऔ : जि.सी.

आदर्श अनलाइन, म्याग्दी

समाज रुपान्तरणका लागि महत्वपूर्ण माध्यमका रुपमा स्थापित सहकारी क्षेत्रको साख बढाउनका लागि जिल्लामा गठन भएका सहकारी संघहरुको सक्रियता बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको १२ औं वार्षिक साधारणसभाका सहभागीहरुले सहकारीहरुलाई निती, विधि र प्रविधि अनुसार अगाडि बढाउनका लागि संघहरुको सक्रियता आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुलाई प्रभावकारी सञ्चालन गर्न सघाउने तथा आवश्यक पर्दा बहस पैरवीका काम जिल्ला स्तरीय संघहरुले गर्नु पर्नेमा जोड दिनुभयो । संघहरुको भूमिकालाई जति प्रभावकारी बनायो त्यति नै सहकारीप्रतिको आकर्षण बढ्ने, सहकारीहरुका उत्पादनले बजार पाउने तथा सहकारीहरुबीच समन्वय भई थप आयआर्जनका काम गर्न सकिने जिसीको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका पूर्व अध्यक्षहरु देउप्रसाद छन्त्याल र सुदर्शनकुमार श्रेष्ठ, बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर बाँनिया, धौलागिरि गाउँपालिका वडा नं. १ का अध्यक्ष झकबहादुर छन्त्याल, संघका संस्थापक कोषाध्यक्ष अमृतदेवी बाँनिया, बेनी नगरपालिका सहकारी शाखाका प्रमुख कुमार रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभाले राष्ट्रिय सहकारी बैंकको शाखा बेनी बजारमा ल्याउनका लागि आवश्यक प्रक्रिया छिटो भन्दा छिटो पुरा गर्ने तथा म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहहरुमा सहकारी ऐन तथा नियमावली निर्माणमा सहजीकरण, सहकारी सम्बन्धी गोष्ठी तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका निर्णय गरेको संघका सचिव ज्योती लामिछानेले जानकारी दिनुभयो । साधारणसभाले सचिव लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्रराज शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *