शुभेक्षा पन्त
सम्बन्ध मानव जीवनको महत्वपूर्ण आधार हो । एउटा भेग विषय पनि हो । मान्छेका पारिवारिक, सामाजिक, राष्ट्रिय लगायतका अनेकौं सम्बन्ध हुन्छन् । सम्बन्धको विस्तार मान्छेको चाहना र रुचि अनुसार हुने गर्दछ । त्यहीँ सम्बन्धको विस्तारको क्रममा विवाह हुने गर्छ ।
विवाह धार्मिक, सामाजिक प्रथा, संस्कृतिको अभिन्न प्रक्रिया हो । जसले कानूनी मान्यता पाएको छ । विवाह जीवनको एक महत्वपूर्ण पाटो हो । हर सुख दुःखमा साथ दिने र सहयोग गर्ने मान्छे भेटियोस् भनेर विवाह गरिन्छ । विवाहले मान्छेको जीवनलाई पूर्ण रुपमा परिवर्तन गर्ने गर्दछ । विवाह करार गर्न योग्यता प्राप्त कुनै पनि नारी वा पुरुषले एक अर्काको साथ सदैव दिने भनि गरिएको करार नै विवाह हो । विभिन्न धार्मिक संस्कृति भएका व्यक्तिले विविध विधि अपनाएर विवाह गर्ने गर्दछन् । विवाह पुरुष र महिला बिचको दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतिमा हो । तर विवाह गर्ने भन्दैमा कम उमेरमा विवाह गरेर धेरै समस्या भित्रिएका छन ।
बाल विवाहका कारण हाम्रो समाजमा धेरै किसिमको समस्या तथा विकृति पैदा भएको छ । बाल विवाहबाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित हुन्छन । बालविवाहले निरन्तरता पाइरहनुका कारणहरूमा उमेर नपुग्दै हुने विवाहबाट हुनसक्ने हानी र थप समस्याको बारेमा जानकारीको नहुनु, छोरीलाई दायित्व र भारको रूपमा लिने पितृसत्तात्मक सोच, किशोर किशोरीमा अपरिपक्वता र विद्यालय शिक्षामा निरन्तरताको कमी आदि हुन ।
विवाह गर्दा महिला, पुरुष दुवैको सहमति, मन्जुरी हुनु पर्दछ । विभिन्न जात, भाषा, धर्म अवलम्बन गर्ने व्यक्तिले विवाह गर्दा धार्मिक, सामाजिक तथा कानूनी मान्यता अनुरुप नै गर्नु पर्दछ । कानूनले मान्यता दिएको बाहेक अन्य अवस्थामा कुनै विवाह भएमा वा गराएमा त्यस्तो विवाह कानूनको विपरीत गरिएको मानिन्छ । कानूनको विपरीत हुने विवाहलाई स्वतः बदर गर्न सकिन्छ । बदर हुने विवाहलाई स्वतः बदर विवाह भनिन्छ । बदरयोग्य विवाह भनेको कानूनले तोके बमोजिम बाहेक भएमा बदर गर्न सकिने विवाह हो । यसरी कुनै महिला र पुरुष बीच भएको विवाहलाई बदर गराउन पनि सकिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता छ । विवाह जुनसुकै किसिमबाट भएको भए पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ ।
विवाह गर्दा पुरुष र महिलाबीच के–कस्तो अवस्था छ ? त्यसबारे एक पक्षले अर्को पक्षलाई जानकारी दिएर मात्र विवाह गर्नुपर्छ र सबै कुरा थाहा भएपछि सहमति भई मञ्जुरीले विवाह गर्नुपर्छ । यदि जानकारी नै नदिई विवाह भएमा हुने विवाहलाई झुक्याई गरिने विवाह भनिन्छ । झुक्याई विवाह गरेको कारणबाट व्यक्तिलाई असर परेमा त्यस्तो विवाह बदर गराउनका लागि कानूनमा ३ महिनासम्मको समय हुन्छ । विवाह गर्ने व्यक्तिहरूको मञ्जुरी विना कसैले कसैको विवाह गर्न–गराउन हुँदैन । विवाहको क्रममा पनि दाइजो जस्तो सामाजिक कुरुतिलाई आत्मसाथ गर्नु हुदैन ।
विवाहको समयमा बेहुलीका बाबुआमा अथवा उनका आफन्तले बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । हाम्रो समाजमा दाइजोलाई दहेज तथा तिलक पनि भन्ने गरिन्छ । आजको एक्काइसौँ शताब्दीमा पनि दाइजो, बोक्सी, छाउपडी, झुमा, देउकी, बहुपत्नी लगायतका कुप्रथा तथा अन्धविश्वासीबाट घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै शारीरिक तथा मानसिक हिंसाको सिकार बढिरहेको छ । जसले गर्दा नेपाली नारीहरुलाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ ।
संविधान र विभिन्न कानूनले दाइजोे विषयलाई समेटे पनि कार्यान्वयन पक्ष फितलो र समाजको रीतिथिति यस्तै छ भनेर साथ दिँदा समस्या दिन प्रतिदिन बिकराल बनिरहेको छ । दाइजोे समाधानका लागि सबै भन्दा कडा कानुन बनाएर त्यसको पूर्ण कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्छ । छोरीलाई दाइजो होइन, शिक्षा दिऊँ भनेर सबैतिर थप चेतना फैलाउन जरुरी छ । दाइजो प्रथा विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सोच, सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद मुख्य कारकहरु रहेकाले यसको अन्त्यका लागि सबै सरोकारवाला निकाय सजग र संम्बेदनशील बन्न ढिला भइसकेको छ । विवाहजस्तो पवित्र बन्धनलाई दाइजोको विकृतिबाट समाजलाई बचाउन सकिएमा मात्र अब दाईजोको नाममा चेलीहरु जिउदै जलाउन, शारीरिक, मानसिक तनावबाट मुतm भई दाम्पत्य जीवन दिगो तथा सफल बन्नेछ र विवाह पछाडि पनि घरपरिवारले यातना दिने जस्ता समस्या बढिरहेको छ ।
कुनै पनि फौजदारी कानून सम्बन्धित मुद्धामा अनुसन्धान, तहकिकात वा पुर्पक्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको व्यक्तिलाई अथवा घर परिवारमा कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई वा माथिल्लो तहमा रहेको व्यक्तिले तल्लो तहमा रहेको व्यक्तिलाई दिएको शारीरिक वा मानसिक तनाब नै यातना हो । अहिले नेपालमा घरपरिवारले दिने यातना बढेको छ, जसले गर्दा आत्महत्या जस्ता घटना पनि बढेका छन । कुनैपनि व्यक्तिलाई विभिन्न किसिमले शारीरिक तथा मानसिक यातना दिएमा सजाय हुने व्यवस्थाका साथ बनेका विभिन्न ऐन, क्षतिपूर्ति ऐन, महासन्धिको कार्यान्वयन पनि हुन जरुरी छ । मानवीय स्वतन्त्रता, शान्ति, सुरक्षा, न्याय र आफ्नो गरिमा, अधिकारलाई बचाई राख्न र राज्यलाई स्वेच्छाचारी हुन नदिनका लागि संवैधानिक प्रत्याभूति आवश्यक हुन्छ । यातना पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था गरी यातना विरुद्धको हक सुनिश्चित गरिएको हो । यस्ता यातनाहरु अथवा अन्य कारणले जोडिएको सम्बन्धलाई फेरि छुटाउने पनि गरिन्छ । जसलाई सम्बन्ध विच्छेद भन्ने गरिन्छ ।
सम्बन्ध विच्छेद भनेको श्रीमान श्रीमती बीचको बैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानुनी आधार हो । पति र पत्नीबीचको आपसी सम्बन्धमा कायम भएको वैवाहिक सम्बन्धको अन्त्य हुनु भनेको नै सम्बन्ध विच्छेद हो । देवानी कानुन अन्तर्गत पर्ने पारिवारिक कानुनको एउटा प्रमुख विषयमा सम्बन्ध विच्छेद पर्दछ । पत्नी वा पतिले एक अर्काको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नी वा पतिले अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम गरेमा, दुई जना मध्ये कसैले पनि खान लगाउन नदिई घरबाट निकाला गरिदिएमा, अर्को विवाह गरेमा, पति वा पत्नी कसैले अन्य व्यक्तिसँग सम्बन्ध राखेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गर्ने जस्ता कार्य भएमा सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ । सम्बन्ध बिच्छेद मुद्दामा गर्ने हकदैया पति वा पत्नीलाई मात्र हुन्छ ।
हामो समाजमा सम्बन्धको विस्तार हुन्छ र विस्तारसँगै विभिन्न समस्याहरु झेल्नु परेको छ । पहिला विवाह हुन्छ, त्यहीँ समयमा बाल विवाह जस्तो समस्या देखा पर्नसक्छ । सो पछि विवाहको क्रममा दाइजो, विवाहपछि घरपरिवारको यातना अनि गाँसिएको सम्बन्ध, यस क्रममा सम्बन्ध विच्छेद हुन सक्ने स्थिति आउन सक्ने हँुदा परिवार र सम्बन्धलाई टिकाइ राख्ने विषयमा विशेष ध्यान दिन आवश्यक छ ।