सिपमुलक तालिमले बनायो आत्मनिर्भर


खेमराज गौतम, बागलुङ

बागलुङ बजारको रामरेखा निवासी चित्र कुमारी रोकाले छ महिना देखि बागलुङ बजारको रामरेखामा ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याउनुभएको छ ।

उहाँले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोच समेत बनाउनुभएको थिएन । तर बागलुङमा रहेको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रले प्रदान गरेको चार महिने सिप मुलक तालिम पछि उहाँले आफ्नै खुट्टामा उभिन सफल हुनुभयो । रोका मात्रै हैन बागलुङ नगरपालिका–८ सिगाना निवासी पुजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाई कटाई पसलको स्थापना गर्नुभएको छ ।

रोका र पुजा त एक उदारणीय पात्र मात्रै हो धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रले दिएको सिप मुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेका छन् ।

“फूर्सदको समय सदुपयोग गरौ भनेर तालिमका लागि धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रमा पुगे, चार महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाई तालिम पछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु” तालिम पछि आफ्नै व्यवसाय सञ्चालन गर्नुभएकी रोकाले भन्नुभयो “सिलाई कटाईको पहिलो चरणको सिप मुलक तालिम समेत उत्तिर्ण गरी प्रमाणपत्र समेत पाउदा खुसी लागेको छ ।”

टेलरिङ तालिमबाट विशेष गरी एकल महिला तथा दलित र जनजाती महिलाहरु बढी लाभान्वित भएका छन् । सिलाई कटाई तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाहरुले समेत अहिले राम्रो पाइरहेका छन् । तालिम पछि वैदेशकि रोजगारीका लागि समेत सहज हुँने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्ला स्थित पाङका सुजन नेपालीले बताउनुभयो ।

धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रले ४२५ जनालाई चार प्रकारका सिप मुलक तालिम दिएर युवा युवतीहरुलाई आत्मनिर्भरको बाटोमा हिडाएको छ ।

केन्द्रले निःशुल्क रुपमा बिद्युत जडान, पलम्बीङ, सिलाई कटाई र ग्रिल उद्योगको तालिम दिदै आएको छ । एकल महिला, दलित, पिछाडिएको बर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सिप मुलक तालिम दिइरहेको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

“हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केही ले त आफ्नै व्यवसाय शुरु गरेको पाइएको छ” मगरले भन्नुभयो “हामीले धेरै भन्न सकिदैन तालिम दिएका प्रशिक्षार्थीहरुले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनिहरुले गरेको कामबाट पुष्टी भइसकेको छ ।”

केन्द्रले हाल सम्म ४२५ जनालाई सिपमुलक तालिम दिइसकेको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार १२२ जनाले पलम्बर, ४५ जनाले विद्युतीय जडान सम्बन्धी, १९५ जनाले सिलाई कटाई र ६३ जनाले ग्रिल उद्योग सम्बन्धी तालिम प्राप्त गरेको बताउनुभयो । तालिम प्राप्त गर्ने मध्ये २८७ जाले रोजगारी पाएको र ५७ जनाले आफ्नै व्यवसाय सञ्चालन गरेको र सात जना वैदेशिक रोजगारीका लागि गएको शर्माले जानकारी दिनुभयो ।

केन्द्रको रेकर्ड अनुसार तालिम प्राप्त गरिसकेपछि औषतमा विद्युतको काम गर्नेले रु. १९ हजार, टेलरिङको काम गर्नेले १३ हजार, ग्रिलको काम गर्नेले १८ हजार र पलम्बरको काम गर्नेले १५ हजार सम्म आम्दानी गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *