विश्वको लामो पुलले बढायो बागलुङमा पर्यटक

डम्मर बुढा मगर, बागलुङ
दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या त्यत्ति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । तर अहिले बजारमा समेत आन्तरिक पर्यटकको भिड हुने गरेको छ ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरीका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भिड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या निकै बाक्लो देखिन्छ ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङ पर्यटक बढेको बताउनुभयो । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटकहरु बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएको बताउनुहुन्छ ।

“लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटकहरु बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसायहरु पनि फस्टाउँदै गएका छन्, नयाँ–नयाँ होटलहरु पनि थपिएका छन्,” अध्यक्ष चोखालले भन्नुभयो “दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायीहरु पनि उत्साहित बन्दै गएका छन् ।”

हरेक वर्ष करिब ढेड लाख पर्यटक आउने गरेकोमा यस वर्ष दुई लाख बढि पर्यटक बागलुङमा आएको उहाँको भनाई छ । अध्यक्ष चोखालले पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकोमा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउनुहुन्छ ।

“पहिले बागलुङ कालिका आउने पर्यटक मन्दिर दर्शन गरेर फर्किने गर्थे, मन्दिरमा डेढ लाख पर्यटक आए पनि बागलुङ बजारमा २५ प्रतिशत मात्रै जाने गर्थे, अहिले बागलुङमा वार्षिक दुई लाख बढी पर्यटक आएको पाएका छौँ, त्यस मध्ये ४५ प्रतिशत बजारमा आउँछन्,” चोखालले भन्नुभयो “अब फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गरेका छन्, अर्को वर्षदेखि थप बढ्दै जाने हाम्रो अनुमान छ, प्रचारप्रचार बढी भयो भने हामीले धेरै पर्यटक बागलुङमा भित्राउन सक्छौँ ।”

बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङ भित्र रहेको सालिग्राम संग्रहालय हेर्न जाने पर्यटक संख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायीहरु उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।

अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको संख्या ह्वात्तै बढेको बताउनुभयो । सामाजिक संजालमा व्यापाक रुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उहाँ भनाई छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राह संग्राहलय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताउनुहुन्छ ।

“विश्वको लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको संख्यामा मान्छेहरु आउँछन्, अझ बिदाको दिन निकै ठूलो भिड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्,” अध्यक्ष खड्काले भन्नुभयो “पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम संग्राहलय र पञ्चकोटमा पनि पर्यटकहरुको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीहरुलाई पनि उत्साहित बनाएको छ ।”

खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो । पुल वरपरका गन्तव्य बाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

“अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापक रुपमा पर्यटक भित्राउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्,” उहाँले भन्नुभयो “पर्यटकलाई थप आकर्षण गर्न प्रचारप्रसारलाई तीव्र पार्ने र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिनु पर्ने छ ।”

उहाँले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै लाइट जडान गर्ने बताउनुभयो । अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ लाइट जडान गर्न थालेको खड्काले बताउनुभयो । नयाँ लाइट जडान गर्न १२ लाख रुपैयाँ लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उहाँको भनाई छ ।

“यसभन्दा अगाडि जडान भएको लाइट सबैले काम गरेन, त्यसले पुलमा हिड्नेहरुलाई करेन्ट लाग्ने जोखिम बढायो, त्यसलाई हटाए नयाँ लाइट जडान गर्ने काम सुरु भएको छ, यसका लागि १२ लाख लाग्ने अनुमान गरिएको छ, यसलाई बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाले सहकार्य गरेर निर्माण गर्न थालेको छ,” उहाँले भन्नुभयो “बत्ति जडानपछि रातमा पनि पुल वारपार गर्न सहज हुने छ ।”

‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ  । वि.सं २०७७ सालदेखि संचालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *