आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम एवम् ग्यासको मूल्यमा भारी वृद्धि भएपछि शर्माले रु. चार हजार खर्चेर विद्युतिय चुलो खरिद गर्नुभएको थियो ।
खानापकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिको असरका कारण आमउपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालका हुन् । “ग्यासको मुल्य एक हजार ३०० थियो, विद्युतीय चुलोको विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मुल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्यास संगै विद्युतिय चुलो समेत प्रयोग गर्ने निधो गरे” उपभोक्ता शर्माले भन्नुभयो “पहिलो महिना त धेरै विद्युत महशुल उठ्छकी भन्ने चिन्ता थियो तर ग्यास भन्दा निकै सस्तो प¥यो, अहिले भात, दाल विद्युतिय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।”
उहाँले ग्यासको विकल्पमा विद्युतिय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिण्डर चार महिना वित्दा समेत नसकिएको बताउदै शुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुँने उहाँको भनाई छ । विद्युतमा पकाएको खाना नमिठो हुँने सुन्दै आउनुभएकी शर्माले राइसकुकुर भन्दा विद्युतीय चुलोमा प्रेसर कुकरको प्रयोग गर्दा ग्यासमानै पकाए जस्तै खाना पाक्ने उहाँको भनाई छ ।
बागलुङ बजारमा पछिल्लो समय विद्युतिय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण विक्रिकर्ताहरु बताउछन् । विद्युतीय चुलोको धेरै पहिलेदेखिनै विक्रिभएपनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वातै बढेको बागलुङ बजारको शंकर इलेक्ट्रिोनिक्सका सञ्चालक शंकर नकर्मीले बताउनुभयो ।
“पहिला विद्युतीय चुलो जुन सुकै भाडामा मिल्दैनथ्यो, भाडा छुट्टै खरिद गर्दा महङ्गो र झन्झट थियो, तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाडा प्रयोग गर्न मिल्छ” उहाँले भन्नुभयो “अहिले ग्यास चुलो भन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ताहरु दोब्बरले वृद्धि भएका छन्, अहिले बागलुङ बजारबासीका अधिकांश भान्सानमा विद्युतीय चुलो समेत प्रयोगमा आएको देखिन्छ ।” नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहत समेत मिलेको छ ।
विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ । बागलुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दा माथि क्षमताको विद्युत जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न प्रत्येक घरधुरीमा निशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ ।
२० वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलोरुपमा मानिएको विद्युत अहिले सबैभन्दा सस्तो भएको हो । बागलुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भएपनि विद्युतको नियमिति आपुर्तीमा समस्या हुँन सक्ने भन्दै बिकल्पमा भने ग्यास प्रयोग गरिरहेको पाइन्छ ।
ग्यास उपभोक्ताहरुले विस्तारै आफूहरुले भान्सामा विद्युतीय उपकरणको प्रयोगमा वृद्धि गर्दै लगेका छन् । भान्सामा विद्युतीय चुलो संगै मिक्चर, फ्रिज लगायतका उपकरणको समेत प्रयोगले विद्युतको खपत समेत वृद्धि भइरहेको छ ।
विद्युतियो चुलो ग्यासको प्रयोगमा किरब ४० प्रतिशत सस्तो हुँने गरेको छ । विद्युतीय चुलो विशेष गरी बागलुङ बजारका पक्की घरहरुमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । मरासिनीले क्रमश घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताहरुको संख्यामा वृद्धि भइरहेको बताउनुभयो । “विद्युतीय चुलकोको प्रयोग बढिरहेको छ तर पक्की घरमा यसको प्रयोग सहज भएपनि कमजोर विद्युतीकरण भएको घरमा समस्या हुन्छ, विस्तारै विद्युत ट्रान्सफरमरको समेत क्षमता बढाउन आवश्यक छ” मरासिनीले भन्नुभयो “घरमा विद्युत क्षमता थपेर विद्युतीय चुलो प्रयोग गर्दा जोखिम कम हुँने र फाइदा बढी हुँने गर्छ ।”
अहिले ग्यास प्रतिसिलिण्डर एक हजार ८०० पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युतबाट मासिक ७५० र ग्यासबाट एक हजार २०० बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुँने अध्ययनले देखाई सकेको छ ।