नेताको होइन, जनताको दैलोमा जाउँ

सम्पादकीय
मुलुकमा संघीय अभ्यास सुरु भए पश्चातको पाँच वर्षिय पहिलो कार्यकाल सकिन लागेको छ । स्थानीय तहको त पहिलो अवधि सकिएर पनि गत वैशाख ३१ म निर्वाचन सम्पन्न भइसकेको छ । जसबाट ७ सय ५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । अब आगामी मंसिर ४ मा प्रदेश र संघीय संसदको चुनाव तय भएको छ । सरकारले निर्वाचनको घोषणा गरे सँगै निर्वाचन आयोग चुनावको व्यापक तयारीमा छ । राजनीतिक दलहरु चुनावको मिति तयसँगै चुनावी गठजोडको रस्साकस्सीमा छन् । एकाथरि सत्ता गठबन्धनको कसरतमा छन् भने सत्ता इतरका नेकपा एमाले, राप्रपा लगायतका दल पनि चुनावी कार्यगत एकताको तयारीमा छन् । जे होस्, चुनावी माहोलले नेपाली समाज तातिसकेको छ ।

चुनावी चटारोसँगै राजनीतिका अनेक रुप देखिन थालेका छन् । निर्वाचन मिति घोषणा मात्र के भएको थियो ? त्यस लगत्तै राजनीतिमा अनेकन बिकृत परिदृश्य देखिन थालिसकेको छ । निर्वाचन आउन दुई महिना बाँकी छँदा शीर्ष नेताहरु चुनावी हिसाबको जोड घटाउ र गठबन्धन निर्माणमा सक्रिय छन् भने जिल्ला र प्रदेश स्तरका नेताहरु भने राजधानीमा जम्मा भएका छन् । अहिले नेताहरु शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी र नेताको घरदैलो चाहरेर भेटघाटमा व्यस्त छन् । नेताहरुसँग फोटो खिचाएर सामाजिक सञ्जालमा लाइक कमेन्टको आत्मरतिमा रमाउनेहरु उल्लेख्य देखिन्छन् । चुनावको टिकट पाउने त के कसो हो ? अहिले फोटो खिच्दा मात्रै पनि मख्ख देखिन्छन् । अझ उदेक लाग्दो विषय त चुनावमा उम्मेदवारको रुपमा यस्ता पात्रहरु आएका छन्, जसले जो पनि उम्मेदवार हुने मानक खडा गर्दैछ । यस्ता पात्रलाई जिल्ला र प्रदेश समितिले समेत छनोट नगरि सिधै केन्द्रमा सिफारिस पठाएर बधाई खाने खुवाउने आशक्ति तिब्र देखिन्छ ।

राजनीति मुलुकको सबै भन्दा उच्च स्तरको नीति हो । यस्तो नीति निर्माण र कार्यान्वयन गर्न योग्य, सक्षम नेताको अपरिहार्यता छ । हामीकहाँ जो पनि जे गरेर भए पनि नेता बन्ने होडले राजनीति प्रदुषित बनिरहेको छ । प्रदुषित राजनीतिक बेथितिमा ठेकेदार, दलाल, तस्करदेखि अनेकन कुरुप पात्रहरु सामेल छन् । चुनावमा टिकटको रस्साकस्सीमा यिनै र यस्तै पात्र अगाडि देखिन्छन् । अहिले जनताको बिचमा दुःख सुखमा सामेल भएर नागरिकको मन जितेर होइन, शीर्ष नेताको निगाह र आर्शिवादमा टिकट लिन प्रतिस्पर्धा छ । यसले फेरि पनि इमान्दार, योग्य, सक्षम र निष्ठावान नेता प्रदेश र संघीय संसदमा आउनलाई निषेध गर्छ । विकृत र बेथितिको राजनीतिलाई प्रश्रय दिनेछ । अतः शीर्ष नेताहरुले पनि संगठन निर्माण र जनताको काम गरेर मन जितेका दुःख सुखमा सँगै रहेका जिल्ला र प्रदेशका नेतालाई टिकट दिएर असल राजनीतिक संस्कार बसाउनु पर्छ । र जिल्ला, प्रदेशका नेताहरुले पनि शीर्ष नेतृत्वको दैलो चाहर्न छोडुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *