पर्यटनले फेरिएको बागलुङको भकुण्डे गाउँ


खेमराज गौतम, बागलुङ

विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याक दुई पटक सम्म विदेशी पहुँना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकहरुलाई भकुण्डे ल्याउने संस्थागत सुनिश्चितता गरिसक्नुभएको छ । उहाँले पर्यटकहरुलाई भकुण्डे मात्र नभएर भकुण्डे हुँदै बौडैचार देखि बौर सम्मको तीन दिन पैदल यात्राका लागि समेत अध्ययन भइसकेको बताउनुभयो ।

“भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, भ्यूटावर, आतिथ्यता र अर्गानिक खानाका कारण विदेशी पर्यटकहरु यहाँ आउन रुचाएपछि मैले दोस्रो चरण सम्म पर्यटकहरु ल्याए, कोरोना पछि केही पर्यटकहरु आउन ठिक्क परेपनि ल्याउन सकिएन” ज्याकले भन्नुभयो “अब भकुण्डेमात्रै नभएर भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौर सम्म पैदल मार्गको पहिचान भइसकेको छ, अब त्यी रुटमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।” अहिले उक्त रुटको अध्ययन सकिएको ज्याकको भनाई छ ।

यसो त बागलुङ बजारमा घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकहरुको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दुरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ ? बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने पश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे ।

१० वर्ष अघि सम्म गुमनाम रहेको भकुण्डे गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकहरुले गुल्जार बनेको छ । सदरमुकामबाट नजिक मात्रै नभएर प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाई बन्दै आएको छ भकुण्डे गाउँ ।

बागलुङ बजारमा आएका स्वदेशी तथा विदेशी पाहुँनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले अधिकांश पर्यटकको रोजाईमा पर्न सफल भएको छ । घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँ निरन्तरको अथक प्रचार प्रसार तथा प्रर्बद्धनपछि यस्तो अवस्थामा आइपुगेको हो । जिल्लाकै पहिलो घरबास सञ्चालन थालिएको भकुण्डे गाउँ प्रकृतिको बरदानको रुपमै रहेको र पछिल्लो समय बनेको पर्यटकीय पूर्वाधार तथा सुविधा सम्पन्न घरबासका कारण फेरिएको छ ।

भकुण्डे गाउँ फेर्ने मुख्य आधार पर्यटन भएको स्थानीय खिम बहादुर थापाको भनाई छ । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाले भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, संग्रहालय, ताल संरक्षण र उद्यान निर्माण लगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ ।

किन लोभिन्छन् भकुण्डेमा पर्यटक

एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन । यस्तै भकुण्डेमा ताल देखि भ्यूटावर सम्म र संग्रहालय देखि उद्यान सम्म छ । भकुण्डेको कला संस्कृति संगै अर्गानिक खानाका परिकार र आथित्यताका कारण यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् ।

भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गा समेत शयर गर्न सकिन्छ । बराह तालमको बीचमा रहेका आर्कषक रुखका कारण ताल निकै मनमोहक समेत देखिने गरेको छ ।

तालको छेउबाटै बागलुङ बजारको दृश्य समेत अवलोन गर्न सकिन्छ । भकुण्डे स्थित मुलावारीमा हिराताल समेत छ । तर हिरा ताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको भ्यूटावर छ । भ्यू वाटरबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे सहित एक दर्जन हिमऋङ्खला देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटिर उचाईमा रहेको भ्यू टावराबाट देखिने सूर्योदयका कारण समेत पर्यटकहरु आकर्षित हुँने गरेका छन् ।

यस्तै घरबासमा आएका पहुँनाको स्वागत र बिदाई गर्ने संस्कार मगर संग्रहालयका कारण घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । भकुण्डेबाट केही बेरको पदयात्रामै बागलुङको वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियान्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिद सहितको उद्यान समेत निर्माण भइरहेको छ । जस्ले नेपालको पहिलो घरबास स्याङजाको शिरुबारी घरबास सञ्चालन गर्नुभएको थियो ।

विदेशी पर्यटकको रोजाई

घरबास भन्दासाथ आन्तरिक पर्यटकहरुको आकर्षण केन्द्रका रुपमा लिएपनि यहाँको घरबास गाउँमा विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेको छन् । भकुण्डेमा चिनियाँ, कोरियन र जापानीज, अमेरिकन लगायतका देशहरुबाट पर्यटकहरु समेत आउने गरेका छन् ।

घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा मार्फत यहाँ आउन थालेका छन् । यस्तै बागलुङ, पर्वत र पोखरा लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकहरु समेत आउने गरेका छन् । शाहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही मात्र भएपनि पर्यटकहरु बागलुङ कालिका दर्शन पछि भकुण्डे पुग्ने गरेका छन् ।

खानेपानी र सडक सुधारको आवश्यक

घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भएपनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडा अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो । “यहाँका महिलाहरु चुला चौकामा मात्रै सिमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाहरुले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ” थापाले भन्नुभयो “अहिले मुख्य समस्या भनेको पानी र सडको सुधार हो, यहाँ आउने पर्यटकहरुलाई सडक मार्गको स्तरोन्नती नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्ग मार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पुग्न आवश्यक छ ।” थापाका अनुसार खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।

भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी

बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताउनुभयो । यहाँले विशेष क्षेत्र घोषणपछि पर्यटकीय पूर्वाधारले गति लिने र पर्यटकहरुमा समेत वृद्धि हुँने अपेक्षा व्यक्त गर्नुभयो ।

“गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसंग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडी बढ्नेछ” उपप्रमुख खड्काले भन्नुभयो “भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसकेपनि पर्यटकीय पूर्वाधारको अभाव भएका कारण विशेष क्षेत्र घोषण गरेर वर्षेनी बजेट बढाउन लागिएको हो ।”

भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाईडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाईडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाईडिकङको सफल परिक्षण समेत भइसकेको छ ।

पर्यटकको आकर्षण अर्गानिक परिकार

बागलुङ बजार देखि तीन घण्टाको पैदल र डेढ घण्टाको यातयातको साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबास संगै पर्यटकीय ताल, दृश्यावअलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षक गर्ने गरेको मात्रै नभएर यहाँको गाउँमा उत्पादन भएका अर्गानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गर्ने गरेको छ ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि घरबासको परिकारले सहयोग पु¥याएको घरबासका सञ्चालनक इन्द्र कुमारी थापाले बताउनुभयो ।

घरबासमा एकै रात ५० जना भन्दा बढी पहुँना राख्न सििकने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताउनुभयो । सामुदायिक घरबासमा पछिल्लो पटक पहुँनाको रोजाई अनुसारको सेवा सुविधा दिइदै आएको छ । सामुदायिक घरबास बाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् ।

शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् । घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्याअवलोकन तथा तालहरुले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकहरुले बताएका छन् । भकुण्डेको शिरमा हिरा ताल र तल बराहताल समेत रहेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापन सहितको शौचालय र स्नानघरको समेत सुविधा थप गरिएको छ ।

स्थानीय उत्पादनहरुको स्वादको मजा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्राकृति संग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो ।

वि.सं २०७३ सालमा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारीक रुपमा संचालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्ट) पर्यटकको लागि गन्तव्य बनिरहेको छ । भकुण्डे भ्यू टावरबाट मात्रै नेपालमा ८ हजार भन्दा माथीका ६ वटा हिमालहरु देख्न सकिने छ । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुन फष्टाउन थालेको छ । वर्खाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको सन्दर्भमा यहाँको घरबासमा भने पर्यटकहरुको चहल पहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताउनुभयो ।

चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुँने गरेको छ । घरबासमा आउने पर्यटकहरुलाई घुमाउनका लागि क्याप्टेन रुद्रमान पार्कको अवधारणा समेत ल्याइएको थियो ।

घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुँनाको रोजाई अनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठा र बेडको सुविधा दिइएको छ । भकुण्डे गाउँमा आउने पर्यटकको कारण गाउँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामिण पर्यटनको अवधारणा ल्याउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *