आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबि निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकारी मार्फत सामाजिक र आर्थिक रुपानतरणको आवश्यकता रहेको बताउनुभएको छ ।
लखन बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको पन्धौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री बुढाले सहकारीले उदेश्य अनुरुप काम गर्ने र ऋण र बचत मात्रै नभएर उत्पादन मुखी भएर काम गर्न सकेमा मात्रै सामाजिक र आर्थि समृद्धि सम्भव भएको बताउनुभएको छ । उहाँले राज्यले चाहेको समृद्धिको यात्रामा सहकारीले हातेमालो गर्न आवशयक रहेको बताउदै ठूला सहकारीले ठूला आयोजनामा लगानी गर्न सकेमा छिटो प्रतिफल प्राप्त गर्न सकिने र देश विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“सहकारी आर्थिक विकासको मेरुदण्ड भइसक्यो, ठूला सहकारीले मेघा प्रोजेक्टमा लगानी गर्ने, साना सहकारीले सामाजिक उत्रदायितवका साथ सामाजिक तथा आर्थिक विकासमा जोड दिन आवश्यक छ” मन्त्री बुढा मगरले भन्नुभयो “पूजी परिचालनमा सहकारीको ध्यान जान आवश्यक छ, अब ऋण र बचतमा मात्रै सहकारी सिमित हुनुहुँदैन, सदस्यको सेवा सहितको व्यवसायीकरण गर्न सके बास्तवमै आर्थिक विकासमा सरकारलाई ठूलो सहयोग पुग्छ ।”
मन्त्री बुढा मगरले एक दुई सहकारीको बदमासीका कारण सबै सहकारी आलोचित हुने अवस्थाको अन्त्य गर्दै जनताको मन जित्न सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । २०६६ सालमा स्थापना भएको सहकारीमा हाल ८३७ शेयर सदस्य छन् भने सहकारीले बचत तथा ऋण संगै लखन मार्ट समेत सञ्चालनमा ल्याएको छ । रु. १२ लाख ६६ हजार २१६ बाट शुरु भएको सहकारीमा हाल संस्थाको कुल पूँजी रु. २१ करोड ९० लाख १ हजार ४८१ रहेको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा शेरपूजी चार करोड ५० लाख ७४ हजार रहेको छ । संस्थाले यस आर्थिक वर्षमा रु. २ अर्ब ३ करोड ५५ लाख ७२ हजार ९०९ कारोबार रहेको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्क थापा र पूर्व सञ्चालक मिन बहादुर श्रीसले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रम संस्थाका अध्यक्ष खड्क बहादुर पुनको अध्यक्षता उपाध्यक्ष कुशुम बुढामगरको स्वागत तथा सह–सचिव रेशम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।