मकै उत्पादन घटेपछि सम्मर गाउँ कृषक चिन्तित

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर १ सम्मर गाउँका कृषक यस वर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बिउ अध्ययन बिनै वितरण गदा राम्रो उत्पादन नभएपछि मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो ।

गणेश जातको मकैको बिउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनु पर्ने हो तर सम्मर गाउँ १६ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाईभन्दा होँचो क्षेत्रमा बिउ लगाउँदा मकै ढल्ने, राम्रो घोँगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गर्थे भने उत्पादन पनि राम्रो गर्दै आएका थिए ।

“यस वर्ष मकैको बिउलेनै ठग्यो, कृषि ज्ञान केन्द्रले गणेश जातको मकैको बिउ दियो, यो बिउ १७ सयभन्दा माथिको उचाइमा लगाउनु पर्दो रैछ, यहाँ जम्मा १६ सयको हाराहारी छ, त्यसले गर्दा मकैको बोट फल दिने बेला सबै ढल्यो, बाँकी रहेकोले पनि राम्रो घोँगा हालेन,” स्थानीय कृषक प्रेम बहादुर पुनले भन्नुभयो “यसपाली कमै उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बिउ लगाउनै नहुने भो ।”

मकै ब्लगका अध्यक्ष समेत रहनु भएका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बिउ लगाएपछि धेरै उत्पादन गर्न सकिने अपेक्षा गरे पनि उत्पादन निकै कम भएपछि निराश हुनु परेको बताउनुभयो । ज्ञान केन्द्रका प्राबिधिकहरुले अर्को वर्षदेखि यो बिउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उहाँको भनाई छ ।

“मकैको उत्पादन निकै कम भएपछि कृषि ज्ञान केन्द्र बागलुङदेखि सरहरु आउनु भएको थियो, हामीले उहाँहरु समक्ष समस्या सुनाएयौँ, उहाँहरुले अब योभन्दा माथिको बारीहरुमा गणेश र यहाँ मनकामना जातकै मकै लगाउन सुझव दिनु भएको छ,” पुनले भन्नुभयो “यस वर्ष धेरै उत्पादन हुन्छ भनेर किसानहरु खुसी थिए, तर अन्तिममा उत्पादनमा निकै कमी आएपछि निराश भएका छन् ।”
स्थानीय कृषक छमप्रकाश पुनले भएभरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राबिधिक रुपमा माटो जाँच गरेर बिउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्न नपर्ने बताउनुभयो ।

“बिउ वितरण गर्ने बेलामा प्राबिधिकहरु आएर यहाँको वस्तु स्थिती, माटो र हावापानी परीक्षण गरेको भए हामीहरुले यति धेरै नोक्सानी भोग्नु पर्ने थिएन, अघिल्लो वर्षहरुमा मनकामना मकै लगाउँथ्यौँ, राम्रो उत्पादन भएको थियो,” उहाँले भन्नुभयो “अब अर्को वर्षदेखि त यो बिउ लगाउँदै नलगाउने, पहिलेको बिउले राम्रो उत्पादन दिएको थियो, त्यसैलाई निरन्तर गर्नु पर्छ ।”

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ १६ सयभन्दा माथिको उचाईमा रहेको भन्दै बिउको माग गरेको र सोही अनुसार केन्द्रले बिउ उपलब्ध गराएको बताउनुभयो । उहाँले उत्पादनमा केही कमी आए पनि नयाँ बिउ भएको हुँदा प्राबिधिक रुपमा उत्पादनमा खास्सै कमी नआएका बताउनुहुन्छ । उहाँले यसका लागि धेरै मेहनत गर्नु पर्ने भए पनि कृषकले कम श्रम गर्दा पनि उत्पादनमा कमी आएको बताउनुभयो ।

“नयाँ बिउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो १७ सय मिटरभन्दा माथिको ‘हाइट’मा राम्रो उत्पादन हुने हो, कृषकहरुले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गर्नु भयो, हामीले पनि सोही अनुसार उहाँहरुलाई मकैको बिउ उपलब्ध गरायौँ,” प्रमुख भट्टराईले भन्नुभयो “यसका लागि कृषकले बढी मेहनत गर्नुपर्छ, उहाँहरुले कम मेहनत गर्नुभयो, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।”

भट्टराईले ज्ञान केन्द्रले तालिम दिए अनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताउनुभयो । उहाँले अर्को वर्षदेखि मकामना–३ नै दिने योजना बनाएको बताउनुभयो । त्यो ठाउँमा आगामी वर्षका लागि मनकामना जातकै बिउ प्रास्ताव गरि केन्द्रमा सिफारिस गरेको जानकारी गराउनुभयो ।

“कृषकहरुलाई हामीले तालिम पनि दिएका थियो, हामीले दिएको तालिम अनुसार पनि गर्नु भएनछ, अबको वर्षका लागि त्यस गाउँलाई मनकामना–३ दिने योजना बनाएका छौँ, जस्ताका लागि प्रस्ताव गरि केन्द्रमा सिफारिस भएको छ, उहाँहरुका लागि पहिलेकै बिउ आउँछ, कृषकहरुले पनि कलिकति ध्यान दिनुपर्छ, उहाँहरुको गुनासो आएपछि हाम्रो टोली पनि त्यहाँ पुगेको थियो” भट्टराईले भन्नुभयो “फल हेरौँ, निकै पोटिलो छ, अब अहिले लगाएको बिउ उच्च क्षेत्रमा पठाउँछौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *