बीस दिनदेखि बेपत्ता दिलीपको अनुसन्धान प्रभावकारी नभएको भन्दै दलित संजालले बुझाइयो ज्ञापनपत्र

लोकेन्द्र निरासी, बुर्तिबाङ

२० दिनदेखि बेपत्ता निसीखोला गाउँपालिका वडा नं. १ का दिप टोमटा (दिलीप) को प्रहरी प्रशासनबाट प्रभावकारी रुपमा खोजतलास र अनुसन्धान हुन नसकेको भन्दै निसीखोला दलित सञ्जालले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ, ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र निसीखोला गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

निसीखोला गाउँपालिका वडा नं १ निवासी दिलीप टोमटा गत भाद्र १६ गते देखी बेपत्ता भएको तर १९÷२० दिन बितिसक्दा समेत फेला नपरेको कारण निसीखोला दलित सञ्जालको ध्यानाकषर्ण भएको भन्दै सोमबार ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो भने आज ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र निसीखोला गाउँपालिकाको कार्यालयमा समेत ज्ञापनपत्र बुझाइएको छ ।

टोमटा गत भाद्र १६ गते बेलुकी ८ बजेको समयमा घरबाट निस्केर छिमेकी साथीहरु जीवन बि.क र नारायण बि.क.को घरमा गएको र त्यहाँबाट निसीखोला गाउँपालिका १ की अर्काे गाउँकी प्रेमिकालाई भेट्न जान्छु भनेर साथीहरुबाट निस्किएको र त्यँही समयदेखि उनी बेपत्ता भएको बताइएको छ ।

यतिका दिनसम्म स्थानीय रुपमा परिवारजन र आफन्तहरुले खोज तलास गर्दा टोमटा फेला नपरे पछि प्रहरी प्रशासनमा खोजतलास गरी पाउँ भनी परिवारका सदस्यले तत्काल लिखित निवेदन दिएका थिए । टोमटा रातको समयमा साथीहरुबाट छुटिएर केटी साथीले बोलाएको छ भनी रातको ११ बजेको समयमा त्यहाँबाट गएको भन्ने जानकारी अनुसन्धानमा खुलेको र टोमटाको फेसबुक आइडीबाट परिवारजनले चेक गर्दा यूवतीले बोलाएको र भेट्न गएको फोन तथा म्यासेन्जरमा कुराकानि भएको प्रमाणबाट समेत खुलेको जनाइएको छ । साथै मोबाईल फोनको कल डिटेलबाट समेत सो कुरा पुष्टि हुन गएको बताइएको छ । निज टोमटासङ्गै विद्यालयमा अध्ययन गर्ने कुवँर थरकी ती युुवतीबिच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

टोमटा दलित समुदायको व्यक्ति भएको र गैरदलित समुदायकी युवतीसंगको पे्रम सम्बन्धकै कारणले उक्त घटना घटेको हुन सक्ने भन्दै यस विषयमा प्रहरीले गहिरो अनुुसन्धान गर्न समेत विज्ञप्तीमा माग गरिएको छ । प्रहरीले टोमटाको प्रेमीका भनिएकी युवतीलाई सोधपुछ गर्दा उक्त घटनाको भोलिपल्ट युवतीले टोमटासंग फोन म्यासेन्जरमा भएका कुराकानी डिलेट गरेको बताइएको छ भने उनले मोबाईल समेत फुटेको बताएकी छिन्, ती युवतीले यसरी युवतीले प्रमाण नष्ट गर्नुको रहस्य के हो ? यसको प्रहरीले किन अनुसन्धान गर्न सकेन ? अनुसन्धानका लागि आवश्यक अन्य व्यक्तिहरुलाई सोधपुछ गर्न समेत प्रहरीले किन चासो दिदैन ? भन्दै प्रहरी प्रशासनमाथि प्रश्न समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्र हस्तान्तरण पश्चात बोल्दै निसीखोला दलित सञ्जालका अध्यक्ष रिम बहादुर बि.कले घटनालाई प्रहरी प्रशासनले प्रभावकारी रुपमा अनुसन्धान गर्न नसकेको र उक्त घटनालाई वेवास्ता गरेमा आन्दोलनका थप कार्यक्रमहरु चरणबद्ध रुपमा अगाडि बढाउने बताउनु भएको छ । सोमबार ज्ञापनपत्र बुझ्दै ईलाका प्रहरी कार्यलय बुर्तिबाङका निमित्त प्रमुख एवं प्रहरी नायव निरीक्षक ईश्वर दुलालले घटनाको बारेमा अनुसन्धान चलिरहेको र अहिलेसम्मको सबै रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा जानाकारी गराएको बताउनु भयो । साथै ज्ञापन पत्रलाई जिल्लामा पु¥याउने बताउनु भएको थियो ।

संजालले आज ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवरलाई ज्ञापनपत्र बुझाएपछि कुँवरले उक्त ज्ञापनपत्र बुझ्दै उक्त घटना दुखद् भएको भन्दै सत्य तथ्य अनुसन्धानको लागि ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाउने बताउनु भएको छ । त्यसैगरी निसीखोला गाउँपालिकाको कार्यालयमा समेत संजालले आजै ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापनपत्र बुझ्दै निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ती मगरले घटना अत्यन्दै दुखद् भएको र उक्त घटनाप्रति निसीखोला गाउँपालिकाको गम्भीर रुपमा ध्यानाकर्षण भएको बताउँनु भएको छ । साथै उहाँले घटनाको सत्य तथ्य अनुसन्धानको लागि प्रहरी प्रशासन र माथिल्ला निकायहरुमा समेत ध्यानाकर्षण गराएको बताउनु भएको छ ।

घटनाको छिटोभन्दा छिटो सत्य तथ्य अनुसन्धान नगरिए आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाइने निसीखोला दलित सञ्जालका अध्यक्ष रिम बहादु बि.कले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *