बडिगाड गाउँपालिका नागरिकलाई गाउँमै पुगेर स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकाले नागरिकको स्वास्थ्य प्रति चासो दिन थालेको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएदेखिनै स्वास्थ्य क्षेत्रमा नयाँ कामको सुरुवात गरेको हो । गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर संचालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि सहयोग सहयोगसमेत गर्दै आएको छ ।

नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यस वर्ष मात्रै दुई हजार पाँच सय जनाको निशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । अध्यक्ष अधिकारीले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरि सकेको र केही समयमै काम सुरु गर्ने बताउनुभयो ।

“हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर संचालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” अध्यक्ष अधिकारीले भन्नुभयो “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाहरुको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महशुस गर्नु भएको हामीले पाएका छौँ ।”

अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ग वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वएंसेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरि दिने बताउनुहुन्छ ।

“निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्ड भित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्ड भित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ग वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उहाँले भन्नुभयो “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।”

गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले नागरिकको स्वास्थ्य ठूलो भएको भन्दै नागरिक स्वस्थ भए मात्रै विकास हुन सक्ने बताउनुभयो । उहाँले अहिले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरु पनि सुधार हुँदै गएको जानकारी गराउनुभयो ।

१० वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी ७ वटा, आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ वटा र सामुदायिक स्वास्थ्य इकाई ६ वटा रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा फार्मेसी समेत संचालन गरेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । नागरिकलाई सहज र सुपथ मुल्यमा औषधी उपलब्ध गराउनका निम्ति फार्मेसी संभालन भएको उहाँको भनाई छ । पालिकाका तीन स्थानमा ल्याव सेवा, भिडियो एक्सेरे, कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्र समेत संचालनमा रहेको जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *