भ्रमणको निम्तो दिँदै लोकमार्ग घुम्न पाँचथरका युवा बागलुङमा

आदर्श अनलाइन, बागलुङ

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न मध्यपहाडी पुष्पलाल लोकमार्ग परिक्रमा गर्ने गरी पाँचथरका युवाको टोली मोटरसाइकल मार्फत बागलुङ आइपुगेको छ ।

पुर्वमा पाँचथरको चिवाभञ्याङ देखि पश्चिममा बैतडी जिल्लाको झुलाघाट सम्म पुगेर यात्रा सक्ने उनीहरुको योजना छ ।

करिब १८ सय किलोमिटरको लोकमार्गको स्थलगत अध्ययन अवलोकन, प्रदेश १ र पाँचथर जिल्लाको प्रचार प्रसार सहित भ्रमण बर्ष सफल बनाउन पाँचथरका बिभिन्न दल सम्वद्ध युवा संगठनका नेता, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको टोलीले मोटरसाइकल यात्रा थालेको हो । विभिन्न क्षेत्रमा आवद्ध ११ जना युवाहरुले यही पौष १६ गते पाँचथरबाट सुरु गरेको मोटरसाइकल यात्रा बिहिबार बागलुङ आइपुगेको छ ।

बागलुङ आइपुगेको टोलीलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्वागत गरेको छ । महासंघका अध्यक्ष दिल शिरीषले बागलुङ जिल्लामा रहेका पर्यटकिय गन्तव्य तथा धार्मिक क्षेत्रहरुका बारेमा जानकारी गराउदै शालिग्राम संग्राहलय, पञ्चकोट, ढोरपाटन, कालिका मन्दिर लगायतको अवलोकन गर्न आग्रह गर्नुभयो । सरकारले ल्याएको नयाँ बर्षमा पर्यटकहरु भित्राउने लक्ष्यमा नेता तथा पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेकाले भिजिट नेपाल २०२० सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।

बागलुङ आएको पत्रकार लगायतका पाँचथरको टोलीलाई स्वागतका क्रममा । तस्विरः डम्बर बुढा

कार्यक्रममा टोलीका अगुवा तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर १ का सदस्य हर्क नेम्वाङ मिक्सोले अहिले सम्म मध्यपहाडी लोकमार्गलाई छिचोलेर जाने १५ वटा जिल्लाको अवलोकन गर्दै आएको बताउनुभयो । लोकमार्गले छुने २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्तीका सामाजिक, आर्थिक, पर्यटकिय तथा भौगोलिक अवस्थाको अध्ययन गरी बृत्तचित्र निर्माण गर्ने पनि बताउनुभयो । मध्यपहाडी लोकमार्गको हालसम्मको निर्माण अवस्था र सडकले ल्याएको सामाजिक परिवर्तनको अध्ययन गर्ने एवं मध्यपहाडी लोकमार्गलाई छुने जिल्लाहरुमा रहेको पर्यटकिय स्थलहरुको पहिचान गरी प्रचार प्रसार गर्ने उद्देश्य लिएको पनि बताउनुभयो । जाडो मौसम भएकाले पनि विभिन्न समस्या र चुनौतीको सामना गर्दै आएको मोटरसाइकल यात्रीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *