डम्मर बुढा मगर, बागलुङ
हिउँदमा बेसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परानै हो । जेठ अन्तिम सातादेखि असारसम्म निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका स्थानीयहरु आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व सुरु भयो भने उनीहरु तब मात्रै बेसी झर्न सुरु गर्छन् ।
चार महिनादेखि सुनसान भर्कोबाङमा यति बेला निकै रौनक छाएको छ । वडा नम्बर ६ मा पर्ने भर्कोबाङमा सयौँ बस्तुभाउ र मानिसहरुको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयले आफ्ना पशुचौपायलाई लेकबाट झारेका छन् । असोज ५ भन्दा अगाडि कसैले पनि बेसीमा पशुचौपाया झार्न नपाउने नियम छ । मकै भित्राई सकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशुचौपाया यही हुने छन् ।
लेकबाट झरेका सयौँ पशुचौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् । ति पाटाहरुमा सयौँको संख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् । गोठालाहरुले पाटाहरुको छेउँछाउँ तिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यही गोठमा दिन रात बिताउने छन् । असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । ५ गतेनै अधिकांश गोठलाहरु बेसी झर्ने गर्छन् भने केही बिस्तारै दसैसम्म आउँछन् ।
स्थानीयहरुले लेक जाँदा महिनौलाई पुग्ने खर्चपर्च बोकेर जाँने हुँदा बेसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौँ पशुचौपाया बेसी झरेपछि दसै आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशुचौपाय पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् । करिब ४÷५ महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् ।
यसरीनै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहान्छन् । स्थानीयले लेक वैशाखदेखिनै जान पाउने व्यवस्था गरे पनि बेसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् । “असोज ५ मा बेसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरु एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकै पटक असोज ५ गते बेसी झर्नु पर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्” स्थानीय धनिश्वर बुढाले भन्नुभयो ।
उहाँले असोज ५ भन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउँनुहुन्छ । बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मै बेसी झर्ने र भेडी गोठालेहरु मात्रै अल्ली पछि मात्रै बेसी झर्ने बताउनुभयो । उहाँले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउनुहुन्छ ।
“लेकबेसी गर्ने त हाम्रो परम्परानै भयो, गाउँलेले धेरै पशुचौपाय पाल्छन, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँदमा बेसी झर्छौँ,” उहाँले भन्नुभयो “थोरै चौपाया हुन्थे भने बेसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।”
गाउँका करिब दुई सय गोठालाहरु रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन लगायतका ठाउँमा हुन्छन् । गाई भैसीँ गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाईसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ ।
असोज ५ देखि दसैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरि रहेका हुन्छन् । उनीहरुले गाइबस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपाडा, ठेकी लगायतका सामानहरु बोकेका भेटिन्छन् । महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो ।
महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । ५ गते भन्दा अगाडि पछाडि बेसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् । “असोज ५ त हाम्रा लागि निकै खुसी हुने दिन हो, यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेटभइन्छ, तितोमिठो के छ ? सँगै बसेर खान पाइन्छ, दुखम्, सुखम्का कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि, पुर्खाहरुलेनै बनाउनु भएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेसी झ¥यौँ” स्थानीय देवबहादुर घर्तीले भन्नुभयो ।
उहाँले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशुचौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताउनुभयो । उहाँले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताउनुभयो । “अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रैछ, यहाँ, भेँडागोठालाले अझै भेँडा ल्याएका छैनन्, तिहीहरु आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यही बस्छु” घर्तीले भन्नुभयो “यही बसेर यिनीहरुको रेखदेख गर्न प¥यो, अब केही दिन पछि तलै घर छेउका बारीमा लगेर चराउँनु पर्ला, बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने ।”
घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जंगलमा जानु पर्ने बताउनुभयो । उहाँले हिउँदको समयमा लेकमा हिउँ पर्ने हुँदा बेसीमै पशुचौपायाललाई घाँस काटेर खुवाउनु पर्ने उहाँको भनाई छ । बेसीमा सयौँको संख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाह्रो हुने घर्तीकोे भनाई छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँ बताउनुहुन्छ ।
“बेसीमा पशुपाल्न निकै गाह्रो छ, गाउँभरीका गोठालाहरुको वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्, यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ, एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेँडाबाख्रा पाल्नेको त सयौँ हुन्छन्, तिनीहरुलाई घाँस कसरी पु¥याउने ?” घर्तीले भन्नुभयो “अबको तीन महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ, हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपायालाई लेकमा लगे चिसोले मर्छन् ।”
यस वर्ष भेँडापालक तमबहादुर विकले असोज ५ मै भेँडा बेसी झार्नु भएको छ । उहाँले अघिल्लो वर्षहरुमा दसैँको दुई दिन अगाडि झर्ने गर्नुहुन्थ्यो । विकले यस वर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबल बेसी छिटो झारेको बताउनुभयो । बर्खाको समयमा बेसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उहाँको अनुभव छ । स्थानीयको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेसी गर्नु पर्ने अवस्था भएको उहाँको भनाई छ ।
“यस वर्ष भेँडा पनि बढे, केहीलाई दसैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेँडा यसपाली भेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न” उहाँले भन्नुभयो “बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, वनमा चरण प्रयाप्त हुन्छ, यहाँ त हजारौँ गाईभैसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ ?, यति धेरैलाई गाउँमा राख्ने अवस्थानै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखिनै लेकबेसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यहीनै ग¥यौँ, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन ।”
उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो । विकले पशुचौपायालाई लेकबाट बेसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रसस्त घाँस पाइने बताउनुहुन्छ । “पुर्खाहरुले जुन थिति बसाल्नुभयो त्यो हामीहरुले मान्दै आएका छौँ, उहाँहरुले त्यति बेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको निमय बनाइदिएको भए, यति धेरै पशुपाल्न गाह्रो हुन्थ्यो, अब त हामी बेसी झ¥यौँ लेकमा पनि घाँस पलाउँछ, बर्खा भरी मल पनि भयो, यहाँ पनि बर्खाभरी पशु थिएनन्, घाँस पलाएको छ ।”
विकले अब बैशाखसम्म जसोतसो बेसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङ लगायतका डालेसँघ काटेर खुवाउने बताउनुभयो । निसीखोलामा अधिकांश स्थानीयले पशुपालननै गर्ने गर्छन् । खासगरी निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयहरु यस तर्फ बढी केन्द्रित छन् ।