विदेश जानेलाई परामर्श दिन बागलुङमा नयाँ परियोजना शुरु

आदर्श अनलाइन,बागलुङ

जिल्लाका चार स्थानीय तहमा सुरक्षित बैदेशिक रोजगार (सामी) परियोजना शुरु भएको छ ।

बिवाईसी बागलुङको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा संचालित परियोजना बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा संचालन भएको हो ।

परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय बागलुङमा रहने सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासन स्रोत केन्द्रको कार्यालय बिहिबार उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटसँगै रहेको स्रोत केन्द्रबाट सुरक्षित वैदेशिक रोजगरको लागि आवश्यक सूचना, सीपको लागि तालिम सिफारिस लगायतका विषयमा जानकारी लिन सक्ने परियोजना संयोजक मिनप्रसाद उपाध्यायले बताउनुभयो ।

कार्यालयको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन परियोजनाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो प्राथमिकता स्वरोजगार हो’ नगर प्रमुख पौडेलले भन्नुभयो–‘विदेश गए पनि सुरक्षित भएर जानु उपयुक्त हुन्छ ।’ सानो सूचनाको अभावले वैदेशिक रोजगारमा जाने श्रमिकले ठूलो दुःख पाएको हुँदा परियोजना उपलब्धी मुलक हुने नगर प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले सुचनामा, न्याय र आर्थिक परिचालनमा परियोजनाले उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले परियोजना कार्यान्वयन पश्चात वैदेशिक रोगजार सम्बन्धी सूचनाको अभाव नरहने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रम बिवाईसीका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, संस्थापक अध्यक्ष टिकाराम सापकोटाको स्वागत मन्तव्य र उपाध्यक्ष तोयानाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।

सामी परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका नगरपालिका र गाउँपालिका मार्फत कार्यान्वयन गरिने छ । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, अक्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गर्ने विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माको भनाई छ ।

परियोजना अन्तर्गत मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कक्षा बागलुङ नगरपालिका–६, ७, ८, १२ र १३, जैमिनी नगरपालिकाको वडा नम्बर १, २, ४ र ५, गल्कोट नगरपालिकाको वडा नम्बर– २ नरेठाँटी, ३ हटिया, ११ रिघा, र काठेखोला गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा संचालन हुनेछ ।
परियोजना कार्यान्वयनको लागि १२ जना कर्मचारी छनौट गरिएको छ । अन्य १२ जना स्वयमसेवक रिर्टनिज लगतै पदपूर्ति गर्ने विवाईसीका अध्यक्ष मणीभद्र शर्माको भनाई छ । कार्यक्रमको लागि एक जना परियोजना संयोजक, एक जना लेखा अधिकृत, दुई जना आप्रवासन परामर्शकर्ता, चार वटा गाउँपालिकामा एक जना मनोसामाजिक परामर्शकर्ता र एक जना वित्तीय साक्षरताकर्ता गरी दुई जनाका दरले ८ जना जनशक्ति रहेको उपाध्यक्ष तोयानाथ गौतमको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *