घरबासको आकर्षक परिकार रातो च्याउ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फष्टाउदो छ । शनिबार र अन्य बिदाको समयमा घुम्ने, रामाईलो गर्ने र पर्यटकीय स्थलको भ्रमण गर्ने परिपाटी बढ्दै आएको छ । जस्कारण आन्तरिक पर्यटकहरु जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् ।

बागलुङको ताराखोला गाउँपाकिाको एक घरबासले भने अन्य घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य आर्कषणको रुपमा जंगली रातो च्याउ रहेको छ ।

दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासले आफ्नो घरबासको मुख्य परिकारको रुपमा रातो जंगली च्याउको परिकार पाहुँनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जंगलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरवासमा पुग्ने गरेका हुन् । वर्षेनी घरबासमा पुग्नेको संख्यामा वृद्धि हुँदै आएको पाइएको छ ।

घरबासमा पुग्ने पाहुनाहरुले त्यहाँको प्राकृतिक मनोरम दृश्य र संगै अर्गानिक उत्पादनहरुले आफूलाई आकर्षित गरेको ठूलोहिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले जानकारी दिनुभयो । “ताराखोला भन्दासाथ रातो च्याउको नाम आउछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रुपमा अगाडी सारेका छौं, त्यस बाहेक सेतो च्याउ र फापरको पिठो दोस्रो आकर्षण हो” श्रीसले भन्नुभयो “डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, यसको प्रचार प्रसारको अभाव छ, हामीले पर्यटकहरुलाई आकर्षीत गर्न घरबास सञ्चालनमा ल्याएका हौं ।” वर्खामा बाटोका कारण पर्यटकहरु घटेको भएपनि च्याउका लागि कोसेली पठाउन फोन आउने समेत गरेको छ ।

घरबासमा रातो च्याउबाहेक जंगली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारवासको मुख्य परीकार हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरु र स्थानीय परिकारका पारखीहरु ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरवास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो ।

तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जंगलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ ।

घरवास नखुल्दैसमेत यहाँ सामान्य पर्यटकहरु घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरवास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । घरवासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालकहरु बताउछन् ।

पाहुँनाले आफ्नो परिवारका सदस्यहरु रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो सहय रहने भएकाले विदेशमा कोसेलीका लागि लैजाने गरेका छन् ।

जंगली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका राख्दै आएका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्दै आएको ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताउनुभयो । “जंगलमा गएर ल्याउनै सकस हुन्छ, च्याउको सिजनमा जंगलमा च्याउ टिप्नेको लार्कोनै लाग्छ,” घर्तीले भन्नुभयो “निकै दुख गरेर ल्याइन्छ यसको महत्व समेत धेरै भएकाले मुल्य राम्रो छ, परिवारले पनी खानै प¥यो, आफनतलाई पठाएर रहेको मात्रै विक्रि गर्ने हो ।”

घर्तीले जंगली रातो र सेतो च्याउको माग धान्नै नसकेको बताउनुभयो । स्थानीयवासीले जंगलमा घाँस दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण भने हुन सेको छैन ।

अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको स्थानीय धन बहादुर बुढाले बताउनुभयो । बुढाका अनुसार समयअगावै च्याउ टिप्दा विहु मासिने समस्या बढेर गएको बतउदै यसलाई व्यवसायीक उत्पादनका रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । उच्च पहाडी भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।

जंगलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ ।

रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोला लगायतको घना जंगलमा समेत पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको पाइएपछि गाउँपालिकाले रातो च्याउ लगायत ताराखोलाको भाङ्गो, सिन्की र आलुलाई ब्राण्ड गर्ने निती तथा कार्यक्रममै समावेश गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विश्वकर्माले स्थानीय अर्गानिक उत्वपादनको ब्राण्डीङ, प्याकेजिङ र बजारीकरण गाउँपालिकाले गर्ने योजना बनाएको बताउनुभयो । उहाँले ताराखोलाको भागो र आलुको माग निकै रहेको बताउनुभयो ।

ताराखोलामा ठूलो हिले सहित किकल्टा घरबासमा समेत रातो च्याउ संगै सिस्नोको परिकार खान पाइने गरेको छ । किकल्टा घरबास ताराखोलाको केन्दभागमा रहेकाले जिल्लाकै चर्चिक घरबासमा पर्ने गरेको छ । रातो च्याउको व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको स्थानीयहरुको भनाई छ ।

सिताके च्याउको व्यावसायिक उत्पादन थाले जस्तै वैज्ञानिक तरिकाले रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदयिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *