दसैँ आयो, ग्रामीण सडक खुलेनन्

डम्मर बुढा मगर, बागलुङ
गत असार महिनादेखि बन्द भएका बागलुङका ग्रामीण सडकहरु दसैँ आउन लाग्दा पनि खुलेका छैनन् । बर्खाका कारण बाढी पहिरोले बन्द भएका सडकहरु असोज लागि सक्दा पनि खुलेका छैनन् । दसैँ मान्नका लागि पढाई तथा रोजगारका सिलसिलमा गाउँ बाहिर गएकाहरु घर फर्किन थाले तर सडक भने अझै खुलेको छैन । असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि संचालनमा आउन नसकेका हुन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार नहुँदा स्थानीयहरु मर्कामा पर्दै आइरहेका छन् ।

“दसैँ आउन लाग्यो, बर्गाले बिगारेको सडक उस्तै छ, पोहोर साल त यति बेला सडक खुलाई सक्थे अहिले सुरसार छैन, वर्षा भइरहेर होकी, विदेशबाट लाउरे आउन लागे, बजारमा रहेका पनि गाउँ फर्किन थाले,” ढोरपाटन–३ का नरबहादुर कुँवरले भन्नुभयो “ती महिनादेखि बन्द भएको सडक अहिले पन खुलाउँदैन, स्थानीय सरकारले चासोनै दिएन, चाडपर्व आईसक्यो बाटो बन्द छ ।”

ग्रामीण सडकहरु बर्खाका कारण दजनौँ स्थानमा पहिरोले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक संचालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नु परेको निसीखोला गाउँपालिका–१ मा मदन घर्ती मगरले बताउनुभयो । घर्तीले सडकको पहिरोले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुहुन्छ ।

“गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडीहरु निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेहरुले निकै दुःख पाउनु प¥यो, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ,” घर्तीले भन्नुभयो “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् ?, दसैँ आउन लाग्यो, खुलाउने सुरसार छैन ।”

घर्तीले बर्खामा सडक संचालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल झर्नु परेको गुनासो पोख्नु भयो । उहाँले सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुहभयो । “सडक भत्किएर गाडी त चल्दैननै, मान्छे हिड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदल यात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ?, बोकेर भए पनि अस्पताल पु¥याउनु प¥यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख ।”

बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढा मगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम साता तिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नु परेको बताउनुभयो । अब दसैंमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने बताउनुभयो ।

“बाटो बिग्रिएर खतम भएको छ, पहिरोले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताहरुले खनेर खुलाउन सकिने थियो, धेरै ठूलो–ठूलो पहिरोले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो” उहाँले भन्नुभयो “पहिरोले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने ?, पोहोर साल त बजार तिरै थिए, ठिकठिकै कमाई भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नु प¥यो ।”

लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनु भएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलबाट भासिने हुँदा दुर्घटना हुने संभावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडकहरु पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्ने बताउनुभयो ।

“बर्खामा गाउँहरुमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाँप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छेहरु बोक्नै प¥यो, सामानहरु ओसार्न परि हाल्यो, अझ गाउँका सडकहरु निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ,” विकले भन्नुभयो “सम्बन्धित निकायले सडक निर्माण गर्छ छोड्छ, कहाँ नाली बनाउनु पर्छ, कहाँ पर्खाल उठाउँनु पर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नु पर्छ, नाली निर्माण भयो भने धेरै सडकहरु बर्खामा पनि चल्छन् ।”

विकले गाउँपालिका तथा नगरपालिकाहरुले अनावश्यक ठाउँहरुमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडकहरु बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडकहरु पनि अवरुद्ध हुने गरेको उहाँको भनाई छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीहरु समेत उच्च जोखिममा परेको बताउनुहुन्छ ।

“२/४ वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ, सम्बन्धित निकायलाई थाहा छैन, सकड लेकको टुप्पमा त पुगेको छ, तर त्यसको तल तिर कति धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन्,” उहाँले भन्नुभयो “समथर खेतियोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइ दिएको छ, यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ, र पनि बाटो खन्न छोडेका छैनन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *