सरोजराज पन्त
नेपाल एक बहुभाषी, बहुधार्मिक र बहुजातीय देश हो । यहाँ मनाउने विभिन्न चाडपर्व, मेला, महोत्सवको कारण नेपाललाई महोत्सवहरूको देश पनि भनिन्छ । प्रत्येक दिन एक वा अर्को समुदायको लागि उत्सवको दिन हुन्छ । सबैको राम्रो पक्ष भनेको एकको आफ्नो संस्कृतिमा गर्व हो र अर्कोको लागि सम्मान हो । यही कारणले गर्दा यी असंख्य संस्कृति र चाडपर्वहरु मिलेर मनाउने गरिन्छ । चाडवाड भनेको साधारणतया कुनै समुदायले मनाउने धर्म वा संस्कृतिमा केन्द्रित हुने विषय हो ।
हामी अहिले विभिन्न चाडपर्वको समयमा छौं । चाडपर्व मनाउनको लागि यात्रामा पनि छौं । यस क्रममा सधैँजसो बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै ‘जड्ढफुड’ को प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मारमा परिरहेका छौं । यसको लागि मिडियाहरुमा आउने आकर्षक विज्ञापनहरुको भूमिका अहम रहेको छ । हाम्रा चाडपर्वहरुका बेला खाद्यवस्तुको मूल्यवृद्धिदेखि कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति पटक पटक दोहोरिरहन्छ । यस पटक पनि हामी मूल्यवृद्धिको मारमा परेका छौं ।यसैबखतगुणस्तरहीन अखाध्य पदार्थ मिसिएका सामानहरु तीव्र गतिमा बिक्रि हुने गर्दछन् । बजारमा वनाउने, ल्याउने र बिक्रि गर्ने सामानहरुमा यस्तो समस्या सधैं रहि रहेका छन ।
वर्तमान समयमा अभावमा घेरिएको जीवनभन्दा सुखले रमाएको जीवन अस्वच्छ देखिएको छ । स्वस्थ्य परिकार, शुद्ध फलफूल, सागसब्जी नखाई रेडीमेड जड्ढफुड खानाले एपेन्डिसको समस्या पनि बढ्दै गएको छ । खुशी सुखी जीवन बिताउन खोज्ने पुगीसरी आएका मानिसहरु दिनहुँ रोगी बन्दै गएको छन । गाउँघरमा उत्पादन हुने मकै, भटट्मास, खट्टे, बदाम, गुन्द«ुक, ज्वानो, आलस, तिल, मेथी, हरियासागसब्जी, चना, केराउ, गहँु आदिका विज्ञापन यदाकदा बाहेक बन्दैनन्, बज्दैनन् र टेलिभिजनमा देखाइदैनन् । यसकारण स्थानीय उत्पादनमा ह्रास मात्रै होइन् गरिबी बढ्दै गएको छ । घरमा बनाइने यी खानेकुरा छाडेर चाउचाउ, मम, चाउमीन, छोइला, कचिला, थुप्पा, पिजा आदि खाने चलनले स्वास्थ्य बिग्रने, व्यवहार बिग्रने, गरिबिले युवा पलाएन बढ्ने, प्राप्त रेमिटान्स पनि उत्पादन मुलुक काम र क्षेत्रमा भन्दा खान र लगाउन विलासिताका सामग्री किन्नमा सकिने गरेको विभिन्न अध्ययनले स्पष्ट पारेका छन् ।
हामीले घरमै बनाएर खाएमा स्वच्छ भइन्छ भनिन्छ तापनि घिउ, पनिर, तेल आदिमा हुने गरेको मिसावटले यो सम्भव देखिदैन । मासुमा पनि कपुर लगायतका रासायनिक पदार्थ मिसाएर नसड्ने र तौल धेरै बनाउने गरेको पाइन्छ । चाडपर्वको समयमा घिउ र तेलमा मिसावट हुने गरेको छ भने मिति सकिएका खाघ सामग्री स्वास्थ्यका लागि थप चुनौति बन्दै आएका छन् । हिजोआज बजारमा पाइने पाउरोटी, केक, बिस्कुट, कुकिज, दालमोठ आदिमा विभिन्न अखाध्य वस्तु मिसावट भएको, गुणस्तर हिन र मिति गुर्जेका सामानहरु पाइने गरेका छन् जसले गर्दा जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । यसैगरी होटेल रेष्टुरेण्ट, मिठाई, चाउचाउ आदि उद्योगहरुमा प्रयोग हुने गुणस्तरहीन तेल त्यसैमा पनि एकपटक प्रयोग गरेर पटकपटक प्रयोग गर्नु, दाल्दा, अखाद्यय वस्तु, जनावरको बोसो पनि लुकिछिपी प्रयोग गर्नुले व्यापारी मोटाउने तर जनस्वास्थ्यमा खेलवाड हुने गरेको छ । राजमार्गहरुमा यात्रुहरुलाई विकल्प नहुने ठाउँमा लगी गाडी रोकेर दोब्बर मूल्य तिराई गुणस्तरहीन खानाखाजा खान विवश पारिन्छ । सवारीसाधन चालक र होटल रेष्टुरेण्ट व्यवसायीको मिलेमतोमा यात्रुहरुलाई अन्य ठाउँमा जाने विकल्प नदिई गुणस्तर हिन खाघ वस्तु खान बाध्य पारिरहदा समेत सम्बन्धित निकाय मौन रहेको छ ।
सस्तोको नाउँमा गुणस्तर हिन, सिलप्याक, आकर्षक तरिकाले प्याकिङ गरिएका तर मिसावट युक्त सामग्रीहरु बिक्रि गरिन्छन् । तापनि सम्बिन्धत बिक्रेता, उत्पादक, वितरकलाई उपभोक्ताको स्वास्थ्य कर सम्पत्तिका दृष्टिकोणले दण्ड सजाय, कारवाही हुदैँन । यदि जनगुनासोमा भई अनुगमन भइहाले पनि आलेटाले गरी छाडिन्छ । यसरी सहजरुपमा पाइने सस्ता सामग्रीहरुमा जनआँखा पुग्ने गर्दछन् तिनै सामग्रीहरुबाट जनस्वास्थ्यमा बढी खेलबाट हुने गरेको छ। उपभोक्ता हितविपरीत अखाद्य सामग्री, मिति गुज्रिएको सामान बिक्री गर्ने, एमआरपीभन्दा बढी मूल्य असुल्ने, लेबल मेटाएर अर्को मनपरी लेबल राखेर सामान बिक्री गर्ने, साना पसल देखि मध्यम र ठूला फर्मको उजुरीलाई सम्बोधन गर्न अनुगमन गर्नु पर्ने माग पटक पटक भएपछि अनुगमन टोलीले अनुगमनका क्रममा धेरै व्यवसायीको कैफियत फेला पा¥यो । पशुसेवा विभाग, औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आयल निगमसँगको समन्वयमा अनुगमन अघि बढाउनु पर्ने देखिन्छ ।
अहिले हामी र हाम्रा कलिला बालबालिकाहरुले प्रयोग गर्ने जङ्फुडलाई तत्काल भुलाउन फाइदा गरेपनि जड्ढफुडमा पाइने विभिन्न मसलाहरु, तिनमा प्रयोग गर्ने तेल, रसायन बनाउने विधि, प्रक्रिया आदिले गर्दा स्वास्थ्यमा प्रत्यक्ष एंव अप्रत्यक्ष प्रभाव पार्दै आएको छ । जङ्फुडबाट आमासय, आन्द«ामा समस्या पैदा भएको छ र अपच, ग्याष्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्मको समस्या बढ्दै गएको छ । जड्ढफुड अन्तगर्त माडा, चटपट, पानीपुरी, दहीपुरी आदि लगायतका सामग्रीमा रङ्गको प्रयोग हुने रासायनिक पर्दाथको कारण रक्तक्यान्सरको समस्या देखिएको छ । यसैगरी अरुचि, ग्याष्ट्रिक बढ्न गएको पाइन्छ । बजारमा पाइने मिठाइहरुमा प्रयोग हुने रङ्ग र (क्यामिकल) रसायनले दाँतको इनामेल हटाउने भएकोले कलिला बालबालिकाहरुमा दाँतको समस्या दिनहँु बढ्दै गएको छ । यसैगरी अहिले चाउचाउको बढी प्रयोग गर्ने तर पानी कम पिउनाले आमासय, आन्द्राहरुको समस्यासँगै टाउको दुख्ने, ग्याष्ट्रिक बढ्ने, अपच हुने समस्याहरु थपिदै गएकाले बालबालिकाहरु बढी बिरामी हुने, पढाइलाई नियमिता दिन नसक्ने समस्या बढ्दै गएको छन । मसलादार वस्तुहरुको प्रयोगले गर्दा प्रेसर, सुगर, ग्याष्ट्रिक, अल्सर, पेट तथा आमाशयको क्यान्सर एंव अपच, झाडापखाला, कलेजो सम्बन्धी रोग, पाइल्स रक्त अल्पता आदि रोगहरुले सताइ रहेको अबस्था छ । जड्ढफुडमा प्रयोग हुने रासायनिक तत्वका कारण बालबालिकाको दिमाग बोधो बनाएको तथ्यपनि विभिन्न अध्ययनले स्पष्ट पारेका छन् ।
गाउँलेघरमा मौसमी फलफूल, खाद्यसामग्री, तरकारी, जडीबुटी आदिमा भिटामिन, मिनरल, कार्बोहाइडेट, क्यालसियम, प्रोटिन सरल र सहज प्राप्त गर्न सकिन्छ तर यी सामग्रीहरु खानका लागि राज्य र जनस्तरबाट प्रेरित गरिदैन् । तर अखाध्य बस्तुहरु मिसाइएका चाउचाउ, बिस्कुट, माडा, कुरकुुुरे, लेज, जेरी, रसबरी, समोसा आदिको आकर्षक ढङ्गले विज्ञापन गरिन्छ र उपभोक्तालाई आकर्षित गरिन्छ । यस्तै बजारमा सजाएर आकर्षक ढङ्गले राखिएका रङ्गीचङ्गी मिठाइहरु, ललिपपहरु, ससेज आदि सबैले किनेर प्रयोग गर्ने गर्दछन् । तर ती सामग्रीहरु कहाँ बन्छन् ? कसरी बन्छन् ? कसले बनाउँछन् ? निर्माण स्थलको वातावरण कस्तो छ ? आदिमा कसैले ध्यान दिइदैन त्यसैले गर्दा आज जनस्वास्थ्यमा तीव्र नकरात्मक प्रभाव पर्दै गइरहेको छ ।
हाम्रा पूर्वजहरुले प्रयोग गर्ने खाद्य सामग्रीहरु स्वस्थ्य, रासायनिक पदार्थरहित हुने गरेकाले उनीहरु लामो समय बाँच्न सफल भएको पाइन्छ । यस्तै सुत्केरी हुँदा सुत्केरी महिलालाई ज्वानो खुवाउने गरेको पाइन्छ जुन क्यालसियमको प्रमुख जसबाट राम्रोसँग दुध आउने आमा र बच्चा दुवै स्वस्थ हुने गर्दथे । तर अहिले ज्वानो खुवाउन भन्दा क्यालसियमको कमि हुँदा हर्लिस खुँवाइन्छ । घरगाउँमा पाइने भट्टमास, मुुसुरो, आलस, तील आदिलाई खोजिदैन तुरुन्तै क्यालसियम चक्की, बट्टाको प्रोटिन, भिटामिन डीको चक्की किनेर खुवाइन्छ । अझ अनौठो कुरा सिधा घामबाट प्राप्त गर्न सकिने भिटामिन डी पनि चक्कीबाट प्राप्त गर्नु पर्ने अवस्था हुनुले हामीमा स्वास्थ्य सम्बन्धि सचेतना कति छ भन्ने स्पष्ट हुनु जरुरी छ । भिटामीन डी घामबाट पाइने हुँदा नेपालमा यसलाई किनेर खानु भनेको गरिवी झनै बढाउनु हो । डाँडापाखा घरवरिपरी काम गर्दा अर्थात घरको छत, आँगनमा दैनिक आधा घण्टा घाममा बसेमा निःशुल्क भिटामिन डी पाइन्छ । अहिले कोभिड–१९ संक्रमण रोक्ने कुनै क्रिम नलगाई कम्तीमा १० देखि १५ मिनेटसम्म घामको प्रकाश लिन सुझाव दिनुले पनि यसको महत्व स्पष्ट हुन्छ ।
‘बोल्नेको पिठो विक्छ नवोल्नेको चामल पनि विक्दैन’ भन्ने नेपाली उखान अहिले सार्थक भएको छ । यसैले अहिलेको बजार प्रचार प्रसार र विज्ञापनका कारण प्रभावित छ । हाम्रा गाँउघरमा पाइने स्थानीय उत्पादन जस्तै तरकारी, फलफूल, खाद्य सामग्री जडीबुटी लगायतको विज्ञापन हुँदैनन् । जुन स्वास्थ्य, खर्च र वातावरणको दृष्टिले हितकार छन् तर हामी आयातित रसायन युक्त वस्तु तथा साम्रगी किन्न लालायीत हुन्छौँ । हामीलाई बोध हुन जरुरी छ कि राम्रा सामाग्रीहरुलाई विज्ञापन गर्न पर्दछ वा पर्दैन ? विज्ञापन गरिएका वस्तु तथा साम्रगी तुलनात्मक रुपमा महँगा किन हुने गर्दछन । यदि गुणस्तरीय साम्रगी भए उपभोक्तहरुले नै खोजी खोजी प्रयोग गर्न हुँदा गुणस्तरीय ब्राण्डका सामानहरु बनाउन र निर्माण गर्न सकेको खण्डमा विज्ञापन अवस्य जरुरी हुनेछैन । जीवन अमूल्य छ । हामीले अहिले गरेको सानो गल्तीले गर्दा जीवनभर पश्चतापमा पर्नु पर्दछ । समयमा स्वास्थ्य सुरक्षा सम्बन्धमा ध्यान नदिदा अनेकौँ समस्याहरु हुने गरेका छन् । सचेत नागरिकको बसोबास र उनीहरुको बोलवाला सम्पन्नशाली क्षेत्रमा विज्ञापन र जड्ढफुडको बढी प्रयोग हुने गरेका छन् । यसबाट शारीरिक र वातावरणीय समस्याहरु पनि दिन प्रतिदिन थपिदै गएका छन् ।
यसैले मन्त्रालय र प्रशासनबाट पनि अब सांकेतिक अनुगमन मात्र अनुगमन नगरी नियमित प्रभावकारी बजार अनुगमनसँगै आपूर्ति व्यवस्था सहज बनाउन, पर्याप्त भण्डारण राख्न र सहज तथा सुलभ मूल्यमा वस्तु उपलब्ध गराउन, उपभोक्ता हितविपरीत काम गर्ने, कसुर गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएर जरिवाना गरिनु पर्दछ । अनुगमन एक वर्षमा आउँछ, त्यसैले जरिवाना तिरेको रकमको साँवा र व्याजसमेत उठाउने गरी व्यापार गर्नुपर्छ भन्ने सोचको अबिलम्ब अन्त्य हुनु पर्दछ ।
प्रकृतिले दिएका हजारौं किसिमका जडिबुटी र औषधीजन्य बोटबिरुवाहरु यो संकटमा हामीले समुचित प्रयोग गर्न अत्यन्त आवश्यक छ । जन्मदिन मनाउँदा हजारौ खर्च गर्नुभन्दा उक्त अवसरमा स्वास्थ्य परिक्षण गर्ने बानीको विकास गर्न सके हामी निरोगी रहन सक्दछौ । त्यसको लागि सरकारी, गैरसरकारी संघसंस्था, सरोकारवालाबाट स्थानीय उत्पादनलाई बढ्वा दिने गरी स्थानीय वस्तुको प्रचारप्रसार गर्न सकेमा जड्ढफुडले पारेका प्रभाव क्रमश कम हुँदै जाने छन् । यसको लागि अहिले अभिभावक र विद्यालय सचेत भएर यसतर्फ जड्ढफुड मुक्त क्षेत्रको रुपमा घर र विद्यालयलाई उभ्याउन सकेमा जड्ढफुडबाट हुने शारीरिक र वातावरणीय हानीलाई कम गर्न सकिने देखिन्छ । यसका लागि उद्योगी, व्यापारी, राज्य संयन्त्र बिचको आपसी सहयोग, एकता सहमति पनि अपरिहार्य छ । बजार अनुगमन, उपभोक्ता सचेतना कार्यक्रम, नापतौल गुणस्तर मापन विभाग एंव सम्बन्धित निकायहरुले अब ढिला नगरी प्रभावकारी योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।
चाडवाडमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन पनि आएको छ । चाडबाडमा अनावश्यक खर्च गर्नु राम्रो होइन । हामीले सामान्य ढङ्गबाट चाडबाड मनाएर पनि संस्कृति जोगाउन सजिलै सकिन्छ । चाडपर्वका नाममा फजुल खर्च गर्दैमा हाम्रो संस्कृति जोगिदैन् । अरु घोडा चढे भनेर आफू धुरी चढ्नु मुर्खता हो । चाडपर्व हाम्रो संस्कृति हो र यसमा हामीले आफ्नो हैसियत हेरेर खर्च गर्नुपर्छ । मानिसहरु नयाँ लुगा लाउने र मीठो खाने गर्छन् । त्यो गरेर मात्र मानिस ठुलो भइँदैन् । शुद्ध मनले चाडपर्वहरु मनाउनु पर्दछ र घाँटी हेरी हाड निल्ने काम गर्नुपर्छ ।
चाडपर्व मनाउनुपर्छ, त्यो चलिआएको संस्कृति हो तर कतिपय मानिस जुवा, तास र जाँड रक्सीमा अनावश्यक खर्च गर्छन् । त्यो चाहिँ विकृति नै हो । कुनै पनि धर्मले आफ्नो चाडवाडमा धेरै खर्च गर्नु भनेको हुदैन । आफ्नो आर्थिक स्थितिले भ्याएसम्म मात्र हामीले खर्च गर्नुपर्छ । दुई दिन मनोरञ्जन गरेर धेरै क्रृण गर्नुभन्दा जेजस्तो छ, त्यहीँ खानु पर्छ । यदि आफुसँग धेरै पैसा छ,, भने हामीले समाजका रोगी, असहाय, गरिब, बाल–वृद्धालाई सहयोग गरेमा पुण्य कमाउनु पर्छ । चाडपर्व महँगा गहना लगाउने चलन छ र गहनाको निहुँ चोरी, डकैति, अपहरण जस्ता गतिविधि बढेका छन् । यसले गर्दा समाजमा असमानता सिर्जना भएको छ । अहिले भने मानिसहरुको ध्यान चाडपर्व मिलेर मनाउनु, ठुलाबडाको आर्शिवाद लिने भन्दा पनि कसरी तडकभडक देखाउने,अरुको भन्दा राम्रो गहना, महङगा लत्ता कपडा, लुगा लगाउने भन्ने होडबाजी हुने गरेको देखिन्छ ।
सरकारले अहिले तत्काल अनलाइन व्यापारमा नियमनको खाँचो रहेको छ । यस व्यवसायलाई अबिलम्ब कानुनी दायरामा ल्याउन जरुरी छ । अहिले पनि अत्यावश्यक वस्तुको सूची तयार गर्ने र बजारको तह तथा मूल्य निर्धारण बनाउने काम प्रभावकारी ढंगले भइरहेको छैन । दुध, दही, मही, घिउको प्रयोग भन्दा तत्काल प्रतिक्रिया दिने चिसो पेय पदार्थ र रक्सीका आइटमले गर्दा मानिसहरु थप रोगी बन्दै गएका छन् । खानपान र शानले जीवनलाई जटिल बनाउदै लगेको छ । कतिपय मानिसलाई स्वच्छ हुँदासम्म गरिवीले खाने चिजको अभाव र खान समस्या हुने तर सबै चिज खान पुग्ने आर्थिक सम्पन्नता भएको वखत रोगको कारण रोजेर खानु पर्ने विवशता सृजना भएको छ । नियमित स्वास्थ्य परिक्षण, प्रशस्त पानी पिउने, नियमित व्यायाम गर्ने, स्वास्थ्य र वातावरणीय सरसफाई, सन्तुलित खाना खाने गरेमा हामी स्वच्छ रहन सकिन्छ । त्यसैले आकर्षक विज्ञापनका पछाडि लागेर जङ्फुड खानुको सट्टा घरायसी खानामा जोड दिनु पर्दछ । यी सबै दृष्टान्त आत्मसाथ गरी शारीरिक, मानसिक, बौद्धिक र मनोवैज्ञानिक रुपमा स्वच्छ बन्न सक्नु पर्दछ।
चाडपर्वमा सहभागिताले सामुहिक कार्य आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभाव ल्याउँदछ । जबकि केही समाजका घटनाबाट आर्थिक स्रोतहरू प्राप्त गर्न खोजिरहेका छन्, केही अन्यले आफ्नो बाँकी समाजबाट राजनीतिक र सांस्कृतिक मान्यता खोजिरहेका छन् । समाजजे संस्कृति पक्षलाई मान्यता दिन्छ तर मानिसहरु अरुलाई देखाँउन फजुल खर्च गर्छन् । आफ्नो हैसियत वा क्षमता अनुसार चाडपर्व मनाई, संस्कृति जोगाउने तर्फ हामी सबै लाग्न आवश्यक छ ।