होम–स्टे हाउगुजी नबनोस्

फाइल तस्विर

होम स्टे अर्थात घरवास सेवा । पछिल्लो समय देशभर एउटा लहरको रुपमा विकास भइरहेको छ । यो लहर विकासकै रुपमा या अनुदानको आकर्षणमा भन्ने अध्ययन र बहस फरक हुन सक्छ । तर, अहिले होम स्टेको संख्या सयौ पुगिसकेको छ । ठुला शहरका आसपासदेखि दुरदराजका गाउँहरुमा पनि होम स्टे खुलेका र खुल्न थालेका छन् । होम स्टे सञ्चालन हुनेमा हाम्रो गण्डकी प्रदेश सम्भवतः सबै भन्दा अगाडी छ । होम स्टे खुल्ने मात्र होइन, यस प्रतिको आकर्षण पनि बढ्दो क्रममा देखिन्छ । होम स्टे प्रतिको आकर्षण, कौतुहलता, व्यवस्थापन, स्वागत, आतिथ्यताबारे धेरै अझ इच्छुक देखिन्छन् । आन्तरिक र बाह्य पर्यटकका रुमपा यस बर्ष नेपाल भ्रमण बर्ष समेत घोषणा भएकाले होम स्टेको प्रचार, प्रसार, प्रर्वद्धन र विकासका बारेमा अझ बढी तयारी र बहस अहिले जरुर भएको छ ।

गण्डकी प्रदेशमा अहिले २ सय २३ वटा होम स्टे दर्ता भएका छन् । होमस्टे प्रर्बद्धन गर्न पूँजीगत अनुदान दिने भएपछि गण्डकी प्रदेशमा २ सय २३ वटा होम स्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबै भन्दा धेरै स्याङ्जामा ४३ र सबै भन्दा कम मनाङका २ वटा होम स्टेले पूँजीगत अनुदान पाएका छन् । म्याग्दीमा ९, गोर्खामा १४, तनहुँमा ४०, कास्कीमा २२, लमजुङमा २०, मुस्ताङमा ३, बागलुङमा १९, नवलपुर (पुर्व) मा ९ र पर्वतमा ४२ वटा होम स्टे छन् । अहिलेका होम स्टे मन्त्रालयले १० लाख अनुदान दिने आशामा बढी खोलिएका प्रष्ट देखिन्छ । प्रदेशमा कम्तिमा ३ सय वटा होम स्टेलाई नमुना होम स्टेको रुपमा विकास गर्दै पुंजिगत अनुदान दिनको लागि गण्डकी प्रदेश सरकारले ३० करोड बजेट समेत विनियोजन गरेको थियो । अहिले जुन जिल्लाहरुमा जुन संख्यामा होम स्टे खोलिएका छन्, ति आवश्यकता र सम्भावनाका आधारमा खोलिएका छन् या लहड र अनुदानमा ? निश्चय पनि समयको बदलावमा यो प्रश्नको उत्तर स्वभाविक रुपमा प्रकट हुनेछ । हो, शुरुवातमा सबै कुरा सम्भव हुँदैन । तर, अहिले जे जसरी खुलेको खुलाइएको भए पनि अब क्रमशः व्यवस्थित गर्दै जाने कुरामा सम्बन्धित होम-स्टे सञ्चालक, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले बिशेष पहल कदम चाल्नुपर्दछ ।

होम स्टे पछिल्लो समय गाउँ गाउँमा पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने सम्भावना सहित आएको छ । यो रेमिट्यान्स आकर्षणले युवाहरु रिक्तिदै गइरहेका गाउँ समाजका लागि स्वरोजगारको एउटा राम्रो विकल्प र सम्भावना हुन सक्छ । होम स्टे खुल्नु मात्रले त्यो विकल्प पुरा हुँदैन । होम स्टे अहिले गण्डकी प्रदेशका बिभिन्न जिल्ला सहित बागलुङका गाउँ गाउँमा पनि सञ्चालित छन् । प्रदेशका अधिकांश ठाउँमा पुगेर होम स्टे हेर्दा धेरै ठाउँमा राम्रै प्रयास र शुरुवाति संकेत देखिन्छ । जसको उदाहरण भकुण्डे लगायतका केही होम-स्टे व्यवस्थित र व्यवसायिक बाटोबाट अघि जान थालिसकेका छन् । यद्यपी, होम स्टे सञ्चालन, व्यवस्थापन र भोलीको भविष्यका हिसावले जताजतै एउटा ठुलो संशय अहिले नै देखिन्छ । होम स्टे अहिले खोल्नेका लागि मात्र होइन, त्यहाँ जानेहरुका लागि पनि एउटा हाउगुजी जस्तो भएको छ । के होला ? कस्तो स्वाद, सत्कार पाइएला भनेर जानेहरुको जमात ठुलो छ । तर, जे जस्तो अपेक्षा र कल्पनाका साथ गइन्छ । त्यहाँ जाँदा प्रयाप्त तयारी या पूर्वाधार व्यवस्थापन नभएको ज्यादा देखिन्छ । यदी यो अबका दिनमा पनि कायमै रह्यो भने होम स्टे प्रति मानिसहरुको विकर्षण बढ्दै जाने निश्चित छ । त्यसैले नेपाल भ्रमण बर्ष समेत शुरु भएकाले होम स्टे सञ्चालकहरुले आफ्नो गाउँ ठाउँमा भएका होम स्टेको व्यवस्थापनलाई चुस्त बनाएर एक पटक पुगेका पाहुनालाई पटक पटक पुग्ने बातावरण बनाउन सकेमा मात्र होम स्टे सफल हुनेछ ।
-जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *