भेँडा बेच्दै रोल्पादेखि बागलुङ बजारसम्म आएका काकाभतिज

डम्मर बुढा मगर, बागलुङ
अगाडि–अगाडि काला सेता रंगका भेँडाहरु । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पुराना पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरु थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढा मगर र तिर्थबहादुर बुढा मगर । उनीहरु काका भजित हुन् । १४ दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेँडा लिएर आएका उनीहरु मंगलबार दिउसो बागलुङ बजार आइपुगेका थिए ।

दसैँका लागि खर्च जुटाउन भेँडा बेच्न हिँडेका उनीहरु बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्ग मार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरुसँग ६० वटा भेँडा थिए । ६० वटा भेँडा १५ गते भित्र बेचे सकेर गाउँ फर्कने विचारमा छन् उनीहरु । करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरु दसैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् ।

नन्दबहादुर भन्नुहुन्छ–“आज १४ दिन भएछ भेँडी गोठबाट हिँडेको, धेरै जसो भेँडाहरु विक्री भइसके अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दसैँका लागि खर्चपर्च लिएर जाने हो, अब ३÷४ दिनमा सबै बेचि सक्नु पर्छ, १५ गते यहाँबाट हिँडियो भने १७ गते त पुगिएला, जाँदा हिँड्न पर्दैन, गाडीमै गइन्छ, थोरैमोरै सरसामान पनि किन्नुछ, पोखरासम्म पुग्ने भनेर हिँडेको बाटोमै भेँडा सकिएलान् जस्तो छ ।”

नन्दबहादुरले बाह्र सय भेँडापालन गर्दै र अब गोठमा आठ सय भेँडाहरु रहेको बताउनुभयो । ति भेँडाहरुलाई गोठालो खोजेर हेरचार गर्न छोडेर आफूहरु बजार झरेको उहाँको भनाई छ । बुढा मगरले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउनुहुन्छ । “मैले १२ सय भेँडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको, गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठाहरु हुर्की सक्छन्, भेँडापालन दुःख छ, बजार तिर आउँदा कमाई पनि राम्रै हुन्छ” उहाँले भन्नुभयो ।

नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेँडाहरुलाई सहज रुपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताउनुभयो । यसपाली बाटोमा भेँडाहरु खास्सै बिरामी नभएको उहाँको भनाई छ । बाटोमा पानी पर्दा आफूहरुले केही समस्या भने भोग्नु परेको सुनाउनुभयो । “यस वर्ष त बाटोमा भेँडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लो पटक आउँदा तीन वटा भेँडा गर्मीले गर्दा बाटोमै मरेका थिए, केही बिरामी पनि भएका थिए, अहिले बाटो राम्रो बनेको रैछ, कलिकति पानीले समस्या बनायो नत्र सजिलै आइयो बागलुङ बजार” नन्दबहादुरले भन्नुभयो ।

उहाँका भतिज तिर्थबहादुर बुढा मगरले यस वर्ष भेँडाको मूल्य बढेको बताउनुभयो । आफूहरुले ल्याएको बथानमा न्यूनतम २० हजारदेखि अधिकतम ३५ हजारसम्मका भेँडाहरु रहेको उहाँको भनाई छ । तिर्थबहादुरले हालसम्म तीन सय चालिस भेँडाहरु बेच्दा सोचे अनुसारको आम्दानी गर्न सकेको बताउनुभयो । आफूहरुले ल्याएका भेँडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको बुढा मगरको भनाई छ ।

“अघिल्लो वर्षभन्दा यस वर्ष भेँडाको मूल्य केही बढेको छ, हाम्रा भेँडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानहरुको मूल्य बढेको हुँदा भेँडाका मूल्य बढेको हो, हामीहरुले यही भेँडा बेचेर जीविका चलाउने हो,” तिर्थबहादुरले भन्नुभयो “अहिले २० हजारदेखि ३५ हजारसम्मका भेँडाहरु हामीहरुले बेच्दै आएका छौँ, ग्राहकहरुले पनि खास्सै गुनासो गर्नु भएन, व्यापार राम्रै भइराखेको छ ।”
उहाँले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरुले ग्राहकलाई खुसी पारेको बताउनुहुन्छ । दसैंको खर्च व्यवस्थापनका लागि आफूहरु भेँडा भेच्न यति टाढा आएको उहाँको भनाई छ । बुढा मगरले भेँडा बेचि सकेर दसैँ मनाउन गाउँ जाने बताउनुहुन्छ ।

“भेँडा त अरु बेला पनि बेच्न बजार तिर झार्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मिठो मसिनो खुवाउनु प¥यो, एक सारो राम्रो कपडा किनिदिनु प¥यो, भेँडा पनि अब बेचेर सकिनै लागे, सकिए भने यहीबाटै लत्ता कपडा किनेर जाने सोँच बनाएका छौँ,” उहाँले भन्नुभयो “अरु खानेकुराहरु त अहिले गाउँ तिरै पनि पसलहरु खुलेका छन्, उतै किन्नु पर्ला, कपडाहरु यही अल्ली सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।”

बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट बढी च्याङ्ग्राहरु आउने गरेका छन् । मुस्ताङबाट आउने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सीमानादेखि लिएका भेँडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि आएका च्याङ्ग्राको तुलनामा रोल्पादेखि आएका भेँडाको मूल्य कम भएको बताउनुभयो । उहाँले भेँडा व्यापारीहरुले मनपरी रुपमा मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको बताउनुभयो ।

थापाले बजारमा आउने भेँडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नु पर्ने भए पनि यस प्रति खास्सै चासो नदेखाएको गुनासो गर्नुभयो । “मुस्ताङदेखि आएका च्याङ्ग्राभन्दा रोल्पा तिरबाट आएका भेँडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पा तिरबाट भेँडापालक आफैले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारीहरु पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरुले मनपरी रुपमा मूल्य तोक्ने गरेका छन्” थापाले भन्नुभयो “यसरी बजारमा मूल्य मनपरी रुपमा हुँदा हामी जस्ता आम उपभोक्ता ठगिएका छन्, सम्बन्धित निकायहरुले अनुगमन गर्ने तर्फ ध्याननै दिएका छैनन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *