हराउन थाल्यो रातोमाटो र कमिरोले घर पोत्ने प्रचलन

डम्मर बुढा मगर
बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमिरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याई हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पु¥याई दिए बापत दसैँ खर्च पाउनु हुन्थ्यो । तर, दुई वर्ष यता उहाँलाई दसैँ खर्च जोहो गर्न मुस्किल भईरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके ।

घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आउनु भएकी विकले अहिले पेसा परिवर्तन गर्ने सोंचमा हुनुहुन्छ । “मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुँनै छोड्यो, १५/२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छोडी सके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरुनै पेसा गर्नु पर्ने भयो ।”

विकले दसैँ तिहार बाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पु¥याउने गरेकोमा अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको बताउनुभयो । उहाँले आफूले दसैँका बेलामा मात्रै पाँच सयदेखि आठ समय बोरा बाटो गाउँलेका घरमा पु¥याउने गरेको स्मरण गर्दै अहिले एक सय बोरा पनि बिक्री हुन छोडेको बताउनुहुन्छ ।

“मैले दसैँमा मात्रै माटो बेचेर १५ देखि २० हजार आम्दानी गर्थेँ, अहिले वर्षभरीमा पनि १५ हजार कमाई हुँदैन, गाउँभरी टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरुले मेरो माटो के को किन्थे,” विकले भन्नुभयो “पहिले–पहिले रातोमाटो र सेतो कमिरोले घर पोत्दा गाउँनै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमिरो र रातो माटो प्रयोग हुनै छोड्यो ।”

गाउँमा परम्परागत ढुङ्गा, काठ र माटोले बनेका घरहरु विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फुलमाया कुँवरले बताउनुभयो । “गाउँलले घर, आँगन लिपपोत गर्न थाले भने दसैँ आएको आभाष हुन्थ्यो, घर लिपेर चोख्याएपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रंग किनेर ल्याएर लगाउँछन्, माटो कमेरोको प्रयोग हुनै छोड्यो” कुँवरले भन्नुभयो ।

उहाँले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै अहिले दसैँको रौनक पनि हराउँदै जान थालेको बताउनुभयो । माटो र कमिरो गाउँले जनजीवनसँग जोडिएको भन्दै देखासिकी र प्रबिधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ–“माटो र कमिरो त हामी गाउँलेहरुको जनजीवन र पहिचानसँग जोडिएको छ, पहिले–पहिले गाउँका सबै घर रातोमाटो र सेतो कमिरोले पोतिएका हुन्थे, टाढाबाट देख्दा पनि गाउँले परिवेश झल्किन्थ्यो, आधुनिकताले सबै मेटाउन थाल्यो, पछिल्लो पुस्ताले त झन् देख्नै पाउने छैनन् ।”

केही वर्ष अगाडिसम्म निसीखोला गाउँपालिका–४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको निकै भिड लाग्ने गथ्र्यो तर पछिल्लो दुई वर्षदेखि निकै कम भएको स्थानीय बलबहादुर खत्रीले बताउनुभयो । पछिल्लो समय गाउँमा ढुङ्गे घरमासमेत कृतिम रंग लगाउन थालेपछि माटो र कमिरोको प्रयोग कम हुँदै गएको खत्री बताउनुहुन्छ ।

“यो ठाउँमा माटो ल्याउन आउनेको ठूलो भिड लाग्थ्यो, दसैंको बेलामा त झनु पालो गरेर माटो लैजानु पर्ने अवस्था थियो, तर अहिले मान्छेहरु आउनै छोडे” खत्रीले पुरानो माटो निकालिएको ठाउँ सिकाउँदै भन्नुभयो “यहाँबाट सयौँ बोरा माटो निकालेर टाढा–टाढा पु¥याउँथे, यो गाउँका मात्रै होइन, धेरै गाउँबाट मान्छेहरु माटो ल्याउन यहाँ आउने गर्थे ।”

अहिले गाउँमा खर र ढुङ्गाका घरहरु विस्तारै हराउँदै गएको भन्दै सिमेन्ट र जस्तापाताले बनेका घरहरु बढि रहेको उहाँको भनाई छ । पहिले विद्यालयका भवनहरु पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोले लिप्ने गरेको खत्रीले स्मरण गर्नुभयो ।

“यो गाउँमा आधा दशक अगाडिसम्म पुरै घर ढुङ्गा, काठ र माटोले बनेका थिए, कति घर खरले पनि छाएका थिए, अहिले खरको घर त देख्नसमेत पाइँदैन, विद्यालयहरु पनि ढुङ्गा माटोले बनेका थिए, दसैँका बेला विद्यार्थीहरुले रातोमाटो र कमेरोले लिप्ने गर्थे, अहिले विद्यालयहरु पनि सिमेन्टले बने, सिमेटले बनेका घरमा रातो माटोले लिप्ने कुरा भएन” उहाँले भन्नुभयो “अहिलेसम्म त केहीले माटोले घर पोत्दै आएका छन्, अबको २/४ वर्षमा गाउँमा कोहीले पनि माटो र कमेरोको प्रयोग गर्ने छैनन् ।”

बागलुङका १० वटै स्थानीय तहहरुले खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन् । सो अभियान अनुसार गाउँमा भएका पुराना खरका छानहरु हटाएर जस्तापाताले छाउन थालेका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका लगायतका पालिकाहरुमा अहिले खरका घर पूर्ण रुपमा विस्थापित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *