आधुनिक बागलुङ बसपार्क : सञ्चालनमा नआउदै मर्मत

आदर्श अनलाइन, बागलुङ
आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चुइएर अन्डरग्राउन पार्कीङ स्थलमा ताल परेको छ । बसपार्कको दायाँ बाया चर्किउको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर समेत सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो ।

नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउदै विग्रन थालेको छ । निर्माण व्यवसायीको लापारर्वाहीका कारण सञ्चालनमा नआउदै बसपार्क मर्मत गर्नुपर्ने अवस्थामा आइपुगेको छ । आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै वित्यो । तर बसपार्क सञ्चालनमा नआउदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ ।

निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरेपनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने विग्रिएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्कीङ स्थलमा पानी जमेको छ भने केही भाग प्लाष्टर समेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौं” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ तर निर्माण भइसकेको संरचना कसरी विग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकहरुले अध्ययन गरिरहेका छन्, पुरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौं ।”

बागलुङ नगरपालिका–४ स्थित दाबगरामा स्थानीयले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भएपनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा भएपनि बसपार्क सञ्चालनमा नआउदै विग्रन थालेको हो । बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उपएपछि बसपार्क टिकाउन नहुँने स्थानीयको आशंका छ ।

बसपार्क निर्माण भएपनि बसपार्कमा आउने मुख्य सडकको अभाव र जग्गा व्यवस्थापन समयमै नहुँदा बसपार्क सञ्चालनमा कठिनाई भएको छ । अहिले बसपार्कको विग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षती पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छौं, बसपार्क पुरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ” गिरीले भन्नुभयो “हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले विग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।”

निर्माण व्यवसायीले अन्तिम किस्ता रु. ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बागलुङ बजारका स्थानीयले बागलुङ नगरपालिकालाई दिएको जग्गामा नगरपालिकाले करोडौ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माणको काम अहिले सम्पन्न भएको एक वर्ष नवित्दै बसपार्कमा समस्या देखिएको छ ।

बसपार्क पुग्ने सडक तथा जग्गा दाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा कठिनाई भइरहेको सन्र्दभमा बसपार्कको गुणस्तरमा समेत प्रश्न उठेको हो । स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क बनाइएको छ भने अन्य जग्गामा व्यवस्थित बसोबासका लागि एक सय २७ वटा घडेरी निर्माण गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने काम अझै भएको छैन । नगरपालिकाले बसपार्क सञ्चालन तथा घडेरी व्यवस्थापनका लागि बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

बसपार्क सञ्चालनमा नआउदा सम्म र घडेरी व्यवस्थापन गरी स्थानीयलाई फिर्ता नगर्दा सम्म आफूले समन्वयकारी भुमिका खेल्ने बताउदै बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष क्षेत्रीले बसपार्क चर्केको र पानी चहिएको देखेपछि निर्माण व्यवसायीले मर्मत थालेको जानकारीमा आएको बताउनुभयो ।

“बसपार्क विग्रेको विषयमा प्राविधिकले हेर्लान, टिनको छानो उप्किएको र केही भाग भासिएको देखिएको छ” वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो “बसपार्क सञ्चालनका लागि र घडेरी व्यवस्थापनमा मेरो ध्यान छ बसपार्कको गुणस्तरको सवालमा निर्माण कम्पनीलाई नगरपालिकाले एक्सन लिनेछ, नगरपालिकाले बसपार्क छिट्टै सञ्चालनका लागि पहल कदमी गरिरहेको छ ।”

बसपार्क रु.८ करोड ७० लाखमा आषिस फेवा जेभीले निर्माण गरेको हो । निर्माण व्यवसायीले नगरपालिकाले देखाएको कमजोरी अनुसार आफूहरुले काम गरिरहेको नगरपालिकालाई बताएको छ । व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *