ढोरपाटनका बाढी पीडितलाई न दसैँ, न तिहार

डम्मर बुढा मगर, बागलुङ
दसैं सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्कि रहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनिक निकै बढेको छ । तर, बागलुङको ढोरपाटनका बाढी पीडितहरुलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताई रहेको छ । वि.सं. २०७७ भदौँ १७ गते राती भूजीखोलाका आएको भिषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो ।

बाढीमा परि ३८ बढीले ज्यान गुमाउनु परेको थियो । त्यो कहाली लाग्दो घटनाले बाढी पीडिहरुलाई अहिले पनि झस्काइ रहन्छ । बाढीले घरविहीन भएका पीडितहरुले जसोतसो घर त बनाए तर ऋण भने तिर्न सकेका छैनन् । उनीहरुलाई दैनिक के खाउँ केलाउँ भन्ने पिरले सताई रहेको बेला दैलै अगाडि आएका चाडपर्वहरुले थप पीडा दिएको छ ।

“दसैँ आयो, सबैका घरमा मिठा मसिना पाक्न थाले, हाम्रो घरमा त विहान बेलुकीको छाक टार्न पनि निकै सकस छ, बाढीले हामीहरुलाई बिचल्ली बनायो, काखको नानी बगायो, गरि खाने थातथलो बगायो,” बाढी पीडित कुलबहादुर विकले भन्नुभयो “पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले त मनले चाहेर मात्रै नहुने, मिठोमसिनो पकाउने त टाढाको कुरा हो, विहान बेलुकीको छाक टार्न पनि गाह्रो छ ।”

विकले विभिन्न संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाएर घर बनाएको सुनाउँदै चार लाख रुपैयाँ आफूमाथि ऋण थुप्रिको बताउनुभयो । विकले घर नबनाएको भए ऋण नराख्ने भन्दै अहिले तिर्न नसकेर समस्या भई रहेको बताउनुहुन्छ । “संघ संस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाईयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, राहत पाइएला भनेर घर बनाइयो, घर बनाउँदा छ लाख ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ, अहिले ऋणको ब्याज पनि तिर्न सकेको छैन, दिनदिनै ब्याज बढि रहेको छ” विकले भन्नुभयो ।

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरि चार जना बगाएको थियो । आफन्त र भएभरको सम्पति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा चाडपर्वमा परिवारका सदस्य सम्झिएर भिज्ने गर्छन् । यस बेला घर आँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उहाँको भनाई छ ।

“बाढीले मेरो जेठो छोरो, बुहारी, छोरी र नातिनी बगायो, अहिले पाँच जना छम्, मर्ने त मरि गई हाले, बाँचेकाले चाडबाड मनाउन र रंगरमाइलो गर्न खोज्छन्, साना–साना नानीहरुले मिठो खाने भन्छन्, राम्रो लाउने भन्छन्, मलाई विहान बेलुकाको छाक कसरी टार्ने हो भन्ने पिर छ,” उहाँले भावुक हुँदै भन्नुभयो “पैसा नहुँदा उनीहरुको इच्छालाई मार्नु परेको छ, अरुका छोराछोरीले राम्रो लाएको मिठो खाएको देखेर होला, मैले पु¥याउन सकिन ।”

बाढीमा श्रीमतिसहित भएभरको सम्पत्ति गुमाउनु भएका ढोरपाटन नगरपालिका–९ का होमबहादुर विकलाई दसैँको रौनकले छुनै सकेको छैन । आफन्तलाई जग्गा मागेर घर बनाउनु भएका विकलाई दिनरात ऋणले सताएको छ । श्रीमति बाढीमा परेपछि दुई छोरा हुर्काउने पढाउने जिम्मेवारी विकको काँधमा छ । साहुको दिनदिनैको कचकचले उहाँ निकै तनावमा हुनुहुन्छ ।

“सबैले दसैँ आयो भन्छन्, मलाई त दशा आएको छ, दुई भाई छोरा छन्, उनीहरुले मिठो मसिनो खान खोज्छन्, त्यही खुवाउन सक्ने मेरो अवस्था छैन, बाढीले घरसहित मेरो अंशमा पर्ने सबै सम्पत्ति बगाएको थियो, आफन्तले जग्गा दिएर ऋण धन गरेर घर बनाए,” विकले भन्नुभयो “अहिले किन बनाएछु भन्ने भयो, साहुँले दिनदिनै आएर छानो निकाल्छु भन्छन्, लाखौँ ऋण छ, कमाई केही छैन कसरी तिर्ने हो, निकै समस्यामा छु म ।”

बाढीमा जीवन संगीनीसहित तीन सन्तान गुमाउनु भएका निमप्रकाश विकको पीडा पनि उस्तै छ । ज्याला मजदुरी गरे विहान बेलुकीको छाक टार्दै आउनु भएका विकलाई पनि दसैँको चहलपहलले छोएको छैन । २५ वर्षीया श्रीमति चनी विक, नौँ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरासहित भए भरको जायजेथा सबै बगाएपछि विक अहिले घरबार र आफन्तविहीन हुनुहुन्छ । विकलाई अहिले एक्लो ज्यानसमेत पाल्न धौधौ भइरहेको बेला चाडपर्वले थप पीडा दिएको छ ।

“गरि खाउँ भने ठाउँ छैन, बस्ने घर छैन, यही बेला दसै आयो, दसैँले मलाई थप पीडा दिएको छ, सबै तिर रंग रमाईलो छ, मलाई विहान के खाउँ ?, बेलुकी के खाउँ भएको छ,” विकले भन्नुभयो “परिवार हुँदा सबैलाई पाल्न सक्थे, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ, चाडपर्व आएको होकी नआएको मलाई त केही पत्तो छैन, मन पिरै पिरले भरिएको छ, के को दसैँ के को तिहार, पहिलेको जस्तो रमझम छैन मलाई ।”

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का ३८ जनाको ज्यान लिएको थियो । २३ जनाको शव फेला परे पनि १५ जना अहिलेसम्म वेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाले उनीहरुका लागि पहिले राहतको व्यवस्था गरे पनि चाडपर्वका लागि कुनै सहयोग नगरेको बताउनुभयो । उहाँले राहत नपाएका पीडितलाई प्रदेश सरकारबाट आएको रकम वितरण गर्नका लागि पहिल गरि रहेको बताउनुभयो ।

“बाढी पीडितहरु अहिले पनि निकै समस्यामा हुनुहुन्छ, धेरैले राहत पाएका छन्, अझै केहीले पाएका छैनौँ भन्ने गुनासो गरेका छन्, प्रदेश सरकारबाट आएको राहत वितरणका लागि पहल थालेका छौँ” उपप्रमुख कायतले भन्नुभयो “चाडपर्वका लागि भनेर उनीहरुका लागि केही खर्च भने दिएका छैनौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *