बागलुङको निसीखोलामा पहिरोले बगायो बाल विकास केन्द्र र घर

आदर्श अनलाइन, निसीखोला
निरन्तर वर्षाको कारण बागलुङको निसीखोलामा एक बाल विकास केन्द्र र घर भत्किएको छ । निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीन कोठे पक्की भवन र शौचालय पहिरोले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा स्थानीय लालबहादुर बुढा मगरको घर गोठ पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।

पहिरोले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिकाहरु समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडा अध्यक्ष हेमबहादुर बुढा मगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीहरुसमेत पहिरोको जोखिममा परेको बताउनुभयो ।

“पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ,” अध्यक्ष बुढा मगरले भन्नुभयो “अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौँ ।”

उहाँका अनुसार पहिराले लालबहादुरको घर गोठ पुरिँदा १५ लाख बढीको क्षति भएको छ । पहिरोले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैसी, एउटा राँगो र ६ वटा बाख्रा समेत पुरिएको उहाँको भनाई छ ।

पहिरो पीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो । पहिरो आउने बेला आफूहरु बाहिर काम गरि रहेको हुँदा ज्यान बचाउन सफल भएको उहाँको भनाई छ । “पहिरोले मेरो सबै धन सम्पत्ति बगायो, लत्ता कपडा, पशुचौपाय केही छैनन् सबै पु¥यो, अहिले त आफन्तकोमा बसेका छौँ” उहाँले भन्नुभयो “हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला ।”

वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनाएको छ । यी सडकहरु खुलाउन अझै केही दिन लाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *