सम्पादकीय/ यतिबेला सिंगो देश निर्वाचनमय छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावी चटारोमा छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय संसद निर्वाचनका लागि उम्मेदवारी मनोनयन समेत भइसकेको छ । प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु सुनिश्चित भइसके पछि अब निर्वाचन प्रचार प्रसारमा जुटिसकेका छन् । चुनावी नतिजामा आफू र आफ्नो दललाई अब्बल सावित गर्न राजनीतिक दलहरु आन्तरिक रणनीति र रस्साकस्सीमा छन् । यसका लागि एकातिर नेपाली कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन बनेको छ भने अर्को तर्फ प्रमुख प्रतिपक्ष नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन बनेको छ । सत्ता बागडोर चलाइरहेका कांग्रेससँग माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राजमो छन् भने एमाले नेतृत्वको गठबन्धनमा जनता समाजवादी पार्टी, राप्रपा नेपाल लगायत छन् ।
चुनावको टिकट वितरणका क्रममा नेपाली राजनीति कति कुरुप र बेथितिग्रस्त अवस्थामा पुगेको छ भन्ने दर्जनौ दृष्टान्तका घटना देखिएका छन् । जसले नेपालमा पात्र बदलिए पनि प्रवृत्ति नबदलिएको, व्यवस्था फेरिए पनि अवस्था नफेरिएको विषय प्रष्ट देखिन्छ । टिकट वितरणमा पार्टी अध्यक्ष, सभापति र शीर्ष नेताको जुन स्वेच्छाचारी प्रवृत्ति देखियो । यसका विरुद्ध आफुले वर्षौदेखि त्याग, समर्पण र योगदान दिएको पार्टी छोड्नेहरुको पनि लहड लागेको छ । यो क्रममा टिकट वितरणको दिनदेखि अब निर्वाचन मतदान सम्मकै अवधि सम्म जारी रहनेछ । नेकपा एमालेको वैचारिक लाइन बोक्ने गरेका पुराना नेता घनाश्याम भुसालले टिकट नपाए पछि पार्टी छोडे । नेपाली कांग्रेसमा उस्तै प्रवृत्ति देखिन्छ । कांग्रेसबाट समानुपातिक सूचिमा पछिल्लो नम्बरमा परे पछि प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमाले प्रवेश मात्र गरेनन् । उनी सूचिको पहिलो नम्बरमा परेर संसदीय यात्राको सुनिश्चित गरेका छन् । उता माओवादी केन्द्रबाट ताराखोला गाउँपालिका अध्यक्ष भइसकेका प्रकाश घर्ति पार्टीले टिकट नदिने तय भए पछि एमालेकै समर्थनमा प्रदेश संसदमा निर्वाचन मैदानमा उत्रिएका छन् ।
यी त केबल प्रतिनिधि घटना र उदाहरण भए । अहिले राजनीतिक दलहरुका बिचमा सिद्धान्त, विचार, कार्यनीति, कार्यशैलीमा तात्विक हिसाबमा खास भिन्नता केही देखिएको छैन । सबै उस्तै कार्यशैली, बिसंगतिबाट ग्रस्त बनिरहेका छन् । आफ्नै निकट, गुट, नातागोता, चाकडी गर्नेहरुलाई नै काखी च्याप्ने प्रवृत्तिले असल, इमान्दार, निष्ठावाना नेता, कार्यकर्ता किनारा पर्ने अवस्था डरलाग्दो रुपमा देखिएको छ । यो प्रवृत्ति रोक्न तर्फ भन्दा पनि राजनीतिक दल र यीनका नेता, कार्यकर्ता यही फोहोरी खेलमा सरिक भएर जे जसरी भए पनि नेता भन्ने होडमा उभिनु अर्को दुर्भाग्यपूर्ण कुरा हो । राजनीतिक दलहरु दल जस्ता भएनन्, पार्टी नेतृत्व क्याडर होइन, ठेकेदार, दलाल जस्ता भए । पावर र पैसाले उम्मेदवारी टिकट र निर्णयहरु हुन थाले पछि यसले देशको राजनीति, विकास र गतिलाई सही दिशा दिनेमा तिब्र आशंका बढेको छ । अतः अहिले व्यापक रुपमा बढेको दल अदल बदलको विकृति मात्र होइन, योग्य, असल र इमान्दारहरुले जित्ने र देशले निकास र विकास पाउने राजनीतिले जित्ने नतिजा तर्फ जनताले आफ्नो विवेक अबको निर्वाचनमा पुर्याउनु जरुरी छ ।